२०८१ बैशाख २४ सोमबार

टिकटकको ५ बुँदे प्रतिबद्धता पत्रपछि शर्त मान्न सरकार तयार

काठमाडौं । टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानूनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो ।

टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि टिकटकले ३० कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरण र २० मंसिरमा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।

आइतवार फेरि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले पत्र लेखेको छ ।

पत्रमा के–के उल्लेख ?
पत्रमा टिकटकले नेपालले उठाउँदै आएका सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । ‘टिकटक नेपालमा व्यापार निरन्तरताका लागि ५ प्रमुख क्षेत्रहरूमा थप काम गर्ने प्रतिबद्धता जनाउन चाहान्छ,’ पत्रमा भनिएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउनुभन्दा केही दिन अगाडि सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याएको थियो, जसमा यस्ता प्लेटफर्म नेपालमा दर्ता गर्नुपर्ने, सम्पर्क कार्यालय खोल्नुपर्ने जस्ता प्रावधान छ । टिकटकले आइतवार पठाएको पत्रमा नेपालको यो व्यवस्था पूरा गर्न तयार रहेको बताएको छ ।

पाँचबुँदे पत्रको पहिलो बुँदामा नै टिकटकले नेपालको कानूनी प्रक्रिया पूरा गर्न तयार रहेको बताएको छ । प्रतिबन्ध लगाउँदा नेपाल सरकारले देखाएको कारणलाई पनि सम्बोधन गर्ने प्रयास पनि टिकटकले गरेको छ ।

सरकारले सामाजिक तथा पारिवारिक सद्भावमा खलल पुर्याउने खालका कन्टेन्ट टिकटकमा आएको तर्क गरेको थियो । नयाँ पत्रमा टिकटकले आफ्नो प्लेटफर्ममा भएका कुनै पनि कन्टेन्टबारे नेपालको चासो वा सरोकार प्रत्यक्ष राख्न दिने र त्यसलाई सम्बोधन गर्न फोकल प्वाइन्ट (सम्पर्क बिन्दु) तोक्ने समेत बताएको छ ।

साथै, नेपाली भाषाका सामाग्रीहरुको फिल्टर गर्न आवश्यक प्रबन्ध गर्ने समेत प्रतिबद्धता जनाएको छ । टिकटकमा नेपाली भाषा प्रयोग भएका कतिपय अश्लिल सामाग्रीहरु प्रणालीले नचिन्दा फिल्टर नहुने समस्या छ ।

त्यसैलाई ध्यानमा राखेर टिकटकले सामग्री फिल्टरिङ र मध्यस्थता बढाउन नेपाली भाषाको सोर्स पनि अनबोर्ड गर्ने टिकटकको प्रतिबद्धता छ । टिकटकले राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्न पनि प्रतिबद्धता जनाएको छ ।

शैक्षिक नतिजा सुधार्न विद्यालय र कलेज विद्यार्थीहरूका लागि शैक्षिक सामग्री डिजिटलाइज्ड गर्न सहयोग गर्ने प्रतिबद्धता पनि टिकटकले जनाएको छ ।

‘हामी एउटा यस्तो पक्षमा काम गर्न तपाईंको हार्दिक सहयोग खोज्छौं र नेपालमा टिकटक प्रतिबन्ध खोल्न अनुरोध गर्न चाहन्छौं,’ मन्त्री शर्मालाई टिकटकले लेखेको पत्रमा उल्लेख छ । पत्रमा शान्तिप्रेमी, विनम्र र सांस्कृतिक विविधतायुक्त नेपाली समुदायले टिकटकलाई आफ्नो प्लेटफर्म ठान्ने गरेको उल्लेख छ ।

‘विश्वव्यापी डिजिटल प्लेटफर्मको रूपमा प्रयोगकर्ता र प्लेटफर्मको सुरक्षा सुनिश्चित गर्नु हाम्रो मुख्य चासो हो,’ पत्रमा भनिएको छ, ‘४० हजारभन्दा बढी सुरक्षाविज्ञहरूले विश्वव्यापी रूपमा टिकटकका बलियो सोसियल गाइडलाइन्स कायम राख्न र लागू गर्न नवीन प्रविधिको साथ काम गर्छन् ।’

टिकटकले पत्रमा सामग्रीमा देखिने स्थानीय सांस्कृतिक र कानूनी सन्दर्भहरु पनि हेर्ने गरेको उल्लेख गरेको छ । अनलाइन खबर

 

२०८० माघ २९, सोमबार प्रकाशित 1 Minute 131 Views

ताजा समाचार