
काँकरभिट्टा । मुलुकले गणतन्त्रमा कोल्टे फेरेसँगै धेरैको जनजिब्रोमा ‘समाजवाद’ शब्द झुण्डिइरहेको छ । देशमा गणतान्त्रिक व्यवस्थाको अभ्यास सँगसँगै समाजवाद शब्दको चर्चा जताततै छ ।
समाजवाद शब्द सिद्धान्तमै सीमित भइरहँदा झापाको स्थापितमध्येको एक सहकारीले भने समाजवादलाई व्यावहारिक रुपमै कार्यान्वयनमा ल्याएको छ ।

वि.सं.२०५० सालमा स्थापना भएको मेचीनगर–६ स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी) उत्पादनमूलक क्षेत्रमा छलाङ मार्दै समाजवाद अभ्यासको ज्वलन्त उदाहरण बन्दै अघि बढिरहेको छ ।
तत्कालीन काँकरभिट्टा गाविस वडा नम्बर ८ मा २६ जना शेयर सदस्यले २ लाख ५३ हजार रुपैयाँ शेयर पूँजी जुटाएर सुरु गरिएको संस्था केहीवर्ष यता उत्पादनमूलक क्षेत्रमा लगानी थप्दै समाजवादको आवश्यकता र औचित्य पुष्टि गर्न लम्किरहेको छ ।
उक्त संस्था पछिल्ला वर्षहरुमा बचत तथा ऋणको कारोबारमा मात्र नअल्झि विभिन्न व्यवसायमा फड्को मारिरहँदा समाजवादको अर्थ बुझाउने गतिलो उदाहरण बनेको छ ।
संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले लक्ष्य हासिल गर्न निरन्तर प्रयास भइरहेको बताउँदै एक दिन कृषिकर्मबाटै आत्मनिर्भर बन्न सकिनेमा ढुक्क छन् ।
सोच अनुसारको प्रतिफल तत्काल प्राप्त नभए पनि सबैले लगनशील बनेर प्रयासलाई निरन्तरता दिए कृषिक्षेत्रबाट मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने सहकारी अभियन्ता उप्रेती बताउँछन् ।
“बोलीमा कृषिप्रधान देश भनेर मात्रै हुँदैन, व्यवहारबाटै कृषि क्रान्तिका लागि राज्य र नागरिकबीच समन्वय हुन जरुरी छ”, उप्रेतीले भने, “उत्पादनमूलक क्षेत्रबाटै स्वरोजगार बन्नतर्फ लाग्नुको विकल्प छैन ।”
संस्थाले बैंकिङ कारोबारसँगै यसको क्षेत्र विस्तार गरेर डेरी उद्योग, एकीकृत नमूना कृषि फर्म, सहकारी पसल र चिया प्रशोधन कारखाना सञ्चालन गर्दै आएको छ ।
हाल १ लाख ६१ हजार ३९ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी १ अर्ब ४२ करोड ३० लाख ७० हजार ८ सय, हालसम्मको कूल सम्पत्ति १३ अर्ब ६८ करोड ९७ लाख ४७ हजार ३ सय ९, कूल बचत ९ अर्ब ८७ करोड ७२ लाख ७ हजार ५ सय ५२ रुपैयाँ र कूल लगानी १० अर्ब ६१ करोड १४ लाख २८ हजार १ सय ४६ रुपैयाँ पुगेको छ ।
संस्थाले मेचीनगर–१४, दुहागढीमा सुरु गरेको कृषि फर्म अन्तर्गत गाईपालन, माछापालन, बेर्ना बैंक, मौरीपालन, बेल्स साइलेस, हांसपालन, तरकारी खेती, च्याउखेती, चिस्यान केन्द्र, मिल्किङ पार्लर, कस्टम हायरिङलगायत छन् ।
१६ बिघा जग्गामा कूल २४ करोड लगानी गरी २०७५ साल माघ १९ गतेबाट सुरु भएको कृषि फर्मतर्फ कूल ४६ जना कर्मचारीहरुले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अवसर पाएका छन् । २०७७ सालबाट फर्ममा पालिएका होलस्टेन प्रजातिका ४५ वटा गाईले दैनिक १ हजार लिटर दूध दिँदै आएका छन् ।
फर्मका लागि पहिलो चरणमा ४ वर्षअघि भारतको पञ्जाब राज्यबाट ५० वटा गाई खरिद गरी ल्याइएको थियो । तीमध्ये ७ वटा गाई हावापानीको सन्तुलन नमिल्दा मरेका छन् । अहिले ४५ वटाले नियमित रुपमा दूध दिँदै आएका छन् ।
दाना, हरियो घाँस, साइलेस घाँस र पानी खुवाउने गरिएको गाईको स्वास्थ्य अवस्था राम्रो रहेको त्यहाँ कार्यरत पशु प्राविधिक सुरेश लकान्द्रीले बताए । उनका अनुसार दूध उत्पादन क्षमताका आधारमा दुहुना गाईलाई ४ भागमा वर्गीकरण गरिएको छ ।
३० लिटरमाथि दूध दिनेलाई सुपर हाई, २० देखि ३० लिटरसम्म दिनेलाई हाई, १५ देखि २० लिटरसम्म दिनेलाई मिडियम र १५ लिटरसम्म दूध दिनेलाई लो समूहमा छुट्याइएको छ । बिहान ५ र दिउँसो ३ बजे दुहुने गरिएका ती गाईका दूध एनएमसी डेरीमा खपत हुँदै आएको र सबै गाईको एआई गरिएको छ ।
अर्का पशु प्राविधिक जीवन दाहालका अनुसार दुहुनुअघि सबै गाईलाई नुहाएर सफा सुग्घर पारी मिल्किङ पार्लरमा लगेर मेशिनबाट दुहुने गरिएको छ ।