२०८१ बैशाख १७ सोमबार

तेस्रो देशका पर्यटक पूर्वी नाकाबाट नेपाल आउन पाएनन्, व्यवसायी भन्छन्: भारतले अघोषित नाकाबन्दी गर्यो

काँकरभिट्टा । तेस्रो देशका पर्यटकलाई भारतले पूर्वी सीमा नाकाबाट नेपाल छिर्न नदिँदा कोशी प्रदेशसँगै सिंगो देशभरका पर्यटन व्यवसायीहरु मारमा परेका छन् ।

कोरोना कहरका कारण ४ वर्षअघि बन्द भएको आवागमन भारतले अझै सहजरुपले नखुलाउँदा विशेषगरी पूर्वक्षेत्रको होटल, पर्यटनलगायत व्यापार–व्यवसायले त्यसको प्रत्यक्ष मार खेपिरहेको छ ।

कोरोनाको कारण देखाएर त्यसबेला नाका ठप्प पारेको भारतले अवस्था सामान्यतर्फ धकेलिएपनि तेस्रो देशका पर्यटकलाई पूर्वी नाकाबाट भने आउजाउ गर्न दिएको छैन ।

तेस्रो देशका नागरिकलाई नाकामा रोक्नुको आधिकारीक कारण भारतीय पक्षले नखुलाएपनि शान्ति सुरक्षा र उग्रवादी समूह भित्रिन सक्ने भन्दै निगरानीमा कडाई गर्दै आएको छ । तर, व्यवसायीले भने नाकामा ४ वर्षदेखि कायमै रहेको अवरोध अझै नहट्नुलाई ‘भारतको अघोषित नाकाबन्दी’ भनेर पनि दाबी गरिरहेका छन् ।

नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएशन(नाटा) का कोशी प्रदेश उपाध्यक्ष सजित तामाङ पूर्वी नाकामा भारतले कोरोनाकालदेखि नै लगाएको अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको बताउँछन् ।

‘तेस्रो देशका पर्यटक नआउँदा पर्यटन क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोरिरहेको छ, अधिकांश पर्यटन व्यवसायी पलायनको अवस्थामा पुगेका छन्’, उनले भने, ‘केन्द्र र राज्य सरकारको तालमेल नमिलेर पनि यस्तो भएको हुनसक्छ ।’

काँकरभिट्टामा वर्षौदेखि आसाम टुर्स एण्ड ट्राभल्स प्रालि सञ्चालन गर्दै आएका तामाङले नेपाल घुम्न हिंडेका बंगलादेशीहरु भारतमै रोकिनुपरेको बताए ।

“कोशी प्रदेशभर १ सय ५० बढी ट्राभल्सहरु प्रक्रिया पुर्याएर दर्ता भई सञ्चालनमा छन्, सबैगरी ३ हजारको हाराहारीमा छन्”, उनी भन्छन्, “तर, पर्यटक अभावले सबै सुनसान छन्।”

तेस्रो देशका पर्यटकलाई नाकाबाट सहज आउजाउ गर्ने वातावरण मिलाउन नाटाको टोलीले संघीय सरकार र कोशी प्रदेश सरकारका सम्बन्धित मन्त्रीलाई भेटेर छलफल गरेको तामाङको भनाई छ ।

“पर्यटन व्यवसायीको मर्का बुझिदिन आग्रह गर्यौं, भारतीय पक्षसँग चाँडै वार्ता गर्ने आश्वासन पाएका छौं”, उनले भने, “नाका खुकुलो भइदिए सिंगो देशको अर्थतन्त्रमासमेत सुधार आउँथ्यो।”

त्यस्तै, होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सचिव राजु अधिकारी कोरोनाअघि सहजरुपले चलेको पूर्वको नाका भारतले अघोषित ढंगले बन्द गरिरहँदा देशको होटल र पर्यटन क्षेत्र तहसनहसको अवस्थामा पुगेको बताउँछन् ।

देशभर साना, ठूला र मझौला गरी झण्डै ८० हजारको हाराहारीमा होटल व्यवसाय रहेको बताउँदै उनले नाका चलायमान नभए र तेस्रो देशका पर्यटकले सहज आवतजावत गर्न नपाए धेरैको रोजीरोटी खोसिने जोखिम बढेको बताए ।

“नेपाल र भारत सरकारको संयुक्त पहलमा यो नाका तत्काल सुचारु गर्नुको विकल्प छैन, अवस्था यस्तै रहिरहे व्यवसायी पलायन हुने तरखरमा छन्”, उनले भने, “यसका लागि सरकारले अविलम्ब पहल थाल्नुपर्छ ।”

भारतले भूटानबाहेकका देशका नागरिकलाई पूर्वी नाका काँकरभिट्टा भएर नेपाल आउन रोक लगाइरहेकै छ । भारतले कोरोना महामारी सुरु भएदेखि नै तेस्रो देशका नागरिकलाई नेपाल आउजाउ गर्न नदिएको हो ।

यसैगरी, मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले मेची भन्सारबाट तेस्रो देशका नागरिकले आउजाउ गर्न नपाउँदा यसक्षेत्रको पर्यटन व्यवसाय धरासायी बनेको बताए ।

यस्तै, अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख रेवन्त भट्टराईका अनुसार भारतले नेपाल प्रवेश गर्ने भूटानी नागरिक र भारत आउन भिसा नचाहिने तेस्रो देशका नागरिक (एनआरआई)लाई मात्र नेपाल छिर्न दिइरहेको छ ।

उनीहरुलाई नेपालको भिसा हुँदासमेत काँकरभिट्टा नाकाबाट नेपाल नपठाएको बताउँदै उनले भने, ‘नेपाल प्रवेश गर्न अन्य नाका वा दिल्लीबाट हवाई मार्ग हुँदै काठमाडौं आउनुपर्ने बाध्यता छ ।”

त्यस्तै, भारतको भिसा भएका तेस्रो देशका नागरिकलाई काँकरभिट्टाबाट पठाए पनि भारतले नेपालतर्फ फर्काउने गरेको भट्टराईले बताए । उनीहरुले अन्य नाका वा काठमाडौंबाट हवाई मार्ग हुँदै दिल्ली जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

कोरोनाअघि यही नाका हुँदै वर्षेनी झण्डै नौ हजारको हाराहारीमा तेस्रो देशका पर्यटक भित्रिने गरे पनि अहिले भने भूटान र भारतमा भिसा आवश्यक नपर्ने नागरिक वर्षमा तीन हजारको हाराहारीमा नेपाल आउने गरेका अध्यागमन प्रमुख भट्टराईको भनाइ छ ।

उनले नेपाल आउन खोज्ने तेस्रो मुलुकका नागरिकलाई भारतले पूर्वी सीमा क्षेत्रमा गर्दै आएको अवरोध अन्त्य गर्ने विषयमा पहल भइरहेको बताए ।

पर्यटक नआएपछि होटल तथा पर्यटन क्षेत्रले आर्थिक रुपमा ठूलो क्षति व्यहोरिरहेको विषयबारे सरोकारवालाहरुले ध्यानाकर्षण गराएपछि यस क्षेत्रका संघीय सांसद विश्वप्रकाश शर्मा र कोशी प्रदेशका सांसद गोपाल तामाङले संसदमा विषय उठान गरेता पनि अहिलेसम्म ठोस उपलब्धि हासिल हुन नसक्दा सरोकारवाला पक्ष निराश बनेको छ ।

२०८० माघ २३, मंगलवार प्रकाशित 0 Minutes 421 Views

ताजा समाचार