२०८१ जेष्ठ ६ आईतवार

कोशीमा भागवण्डा मिल्यो, सरकार विस्तार गर्दै मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् ।

मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीको नाम फाइनल भइसकेका कारण मंगलवार विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले बतायो । सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

कांग्रेसबाट दबाव बढेका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ । कांग्रेसबाट प्रदिपकुमार सुनुवारको नाम फाइनल भएको छ । उनी संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला समूहबाट रामकुमार खत्री मन्त्री बन्ने लगभग पक्का जस्तै छ । कोइराला समूहकै इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी छ ।

सिटौला समूह र सरकार गठनका लागि पार्टीभित्र विद्रोह गर्दा साथ दिएका अन्य सांसदलाई पनि चित्त बुझाउनुपर्ने भएका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ । नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्ने भएका छन् । उदयपुरका नारायण बुर्जामगरको नाम फाइनल भएको छ ।

उनी दोस्रो पटक निर्वाचित प्रदेश सांसद हुन् । माओवादी केन्द्रले संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्कीलाई पनि सरकारमा पठाउने निर्णय गरेको एक नेताले बताए । माओवादीबाट गणेश उप्रेती पर्यटन मन्त्री छन् । कार्की र बुर्जामगर सहभागी भए तीन मन्त्री हुनेछन् ।

मुख्यमन्त्री केदार कार्कीले यसअघि एक जना मात्रै मन्त्री नियुक्त गर्ने बताएका थिए । तर, राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि माओवादीलाई चित्त बुझाउन कार्की दुई वटा मन्त्रालय दिन तयार भएका हुन् ।

सत्तारुढ गठबन्धनको निर्णय विरुद्ध विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री बनेका केदार कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सार्दा कार्कीले डाक्टर शेखर कोइराला पक्षका ८ सांसदसँग मिलेर विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री बने लगत्तै उनले एमालेका रामबहादुर राना मगर र शमशेर राईलाई पहिलो चरणमा मन्त्री बनाएका थिए । कार्की गठबन्धनमा फर्किएपछि एमाले सरकारबाट बाहिरियो ।

मुख्यमन्त्री कार्कीले १७ कात्तिकमा माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगुलाई मन्त्री बनाएका थिए । १८ कात्तिकमा एमालेले सरकार छाडेको थियो ।

सहमतिय सरकार बनाउने प्रयास सफल नभएपछि उनले पार्टी भित्रको दबाव छल्नका लागि निरन्तर सरकार विस्तारको भाका सारे । सरकार विस्तारमा अलमल गरेपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई सरकार विस्तारका लागि दबाव दिइरहेको छ ।

‘हामीले आजै सरकार विस्तार गर्नुहोस् भनेका छौं, गर्नुहुन्छ होला,’ माओवादी केन्द्रका एक नेताले भने,‘ खै किन ढिलो गरिरहनु भएको छ, धेरै लम्बाएर राख्न आवश्यक छैन ।’ मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेले मंगलवारसम्म सरकार विस्तारको तयारी भइरहेको बताए ।

‘सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ,’ उनले भने,‘ भोली गर्ने कुरा छ ।’

कुन मन्त्रालयमा को ?

सरकार विस्तार गर्ने तयारी गरेका मुख्यमन्त्री कार्कीले खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय माओवादी र सामाजिक विकास मन्त्रालय माओवादीलाई दिनेछन् ।

कांग्रेसले उद्योग, कृषि तथा सहकारी, आर्थिक मामिला तथा योजना मन्त्रालय लिनेछ । स्वास्थ्य मन्त्रालय जसपालाई दिने तयारी छ । जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएका कारण सो मन्त्रालय पनि कांग्रेसले नै लिने तयारी छ ।

कोशी सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

राई, उप्रेती र जबेगूले १७ मंसिरमा मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसअघि उनीहरु विनाविभागीय थिए । कोशी अनलाइन

२०८० माघ २३, मंगलवार प्रकाशित 0 Minutes 118 Views

ताजा समाचार