काठमाडौं । विदेश पठाइदिन्छु भनेर ६ सय जना भन्दा बढी मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले एकजना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ घर भई इमाडोल बस्ने ३२ वर्षीय विकास वाइबा भनिने सुजन तामाङ छन्। उनले बालाजुमा युरो विङ्ग्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका थिए।
त्यहाँबाट मानिसहरूलाई युरोपियन मुलुकहरू माल्टा, पोल्याण्ड, क्रोएशिया र क्यानडालगायतका देशहरू पठाइदिन्छु भनेर लाखौं ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
सयौं मानिसहरूले उजुरी दिएपछि उनीविरूद्ध तामाङविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि फरार रहेकोमा बुधबार ललितपुरको पुल्चोकबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।
उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको एसपी रेग्मीले जानकारी दिए। सेतोपाटी