२०८१ मंसिर २६ बुधबार

आँखैअघि धेरैको ज्यान लिएको निन्दा खोलामा पुल बने सास्ती हट्थ्यो : विशेश्वर बनियाँ

ज्यामिरगढी । निन्दा खोला तर्दै गरेका ३ जनालाई आँखैअगाडि बर्खे भेलले बगाएको सम्झना अझै ताजै छ, मेचीनगर–१५ का विशेश्वर बनियाँ (वर्ष ५३) लाई ।

सोही वडामा पर्ने हेल्दुबारी गाउँ र बिचार्नी बजारलाई छुट्याएर बगिरहेको निन्दा खोलाको पूर्वपट्टि भेटिएका उनी त्यो कहालीलाग्दो क्षण सम्झिँदै भन्छन्, ‘हेर्दा हेर्दै सल्गी बेस्रा, शोभा बुढाथोकी र राई बाजे बग्दै गए ।’

आफू सानै छँदा अरु पनि थुप्रैजनालाई खोलाले बगाएको थियो भन्ने गाईंगुईं सुनेका उनी भन्छन्, ‘त्यसपछि त मान्छे डराए, बर्खामा खोला जानै छोडे ।’

घुंगी बटुलीसकेर खोला किनारमा आगो सल्काउँदै गफिँदै गरेका बनियाँले बन्दै गरेको पुलतिर नजर डुलाउँदै भने, ‘अब चैं बन्ला जस्तो छ, बने त दुःखका दिन टर्ने थिए ।’

सोही वडाको भिण्डीबारीमा जन्मिएर बनिबुतो गरी गुजारा चलाउँदै आएका उनले पुल नहुँदा नजिकैको वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय, बजार पनि टाढा भएको बताए ।

‘पुल बनाउने हल्ला त उहिल्यैदेखि चलेकै हो, हामीले पुल पर्खेको वर्षौं भो’, सँगै भेटिएकी बनियाँकी श्रीमती पबि भन्छिन्, ‘आश मारेका थियौं, जग ठडिँदा चैं आशा पलायो ।’

‘खोलो उर्लेर आउँछ, तर्नै सकिँदैन, बर्खामा त वारिका यतै र पारिका उतै थन्किनुपर्छ ।’, बनियाँ दम्पत्तिले भने । बनियाँ दम्पत्ति त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्तै उहिल्यैदेखि पीडा खपेर बसिरहेकी बिचार्नीकी इन्द्रकला दर्जी सधैं चुनावकाबेला मात्र बनाउँछौं भन्ने गरिएको पुल बन्नै लाग्दा खुशी लागेको बताउँछिन् ।

“पुल नहुँदा वडाको काम, नानीहरुलाई स्कूल पठाउन, उपचार गर्न, किनमेल गर्न धेरै समस्या छ”, स्थानीय शर्मिला चौधरीले भनिन्, “अब हाम्रा दुःखका दिन जाने भए ।” पिछडिएको वर्ग, सीमान्तकृत, आदिवासी र जनजाति समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा पुल नहुँदा हजारौं नागरिक सास्ती खेप्न बाध्य छन् ।

बर्खायाममा भौगोलिकरुपमा विकट सो क्षेत्रका विद्यार्थी विद्यालय नगई घरमै बस्न विवश छन् भने सौदापातको जोहो बर्खाअघि नै गर्नुको विकल्पै छैन यहाँ बस्नेहरुलाई ।

हैरानी व्यहोर्दै वर्षौंदेखि पर्खिनुपरेको झोलुङ्गे पुल बन्न सुरु भई निर्माणकार्य रोकिँदा झस्किएका स्थानीय चाँडै पुल बनाउन सम्बन्धित पक्षलाई घच्घच्याइरहेका छन् ।

उक्त वडाका अध्यक्ष गुणराज भट्टराई(राजन) वडावासीलाई विश्वस्त पार्दै भन्छन्, ‘प्राविधिक कारणले रोकिएको हो, बनिसक्न ४० प्रतिशत मात्रै बाँकी छ, थप काम फागुनबाट सुरु हुन्छ ।’

संघीय सांसद विश्वप्रकाश शर्मा र प्रदेश सांसद गोपाल तामाङले निर्वाचित भएलगत्तै पहिलो कार्यक्रमका रुपमा उक्त पुलको शिलान्यास गरेका थिए ।

संघीय सरकारको कूल ४ करोड ३८ लाख रुपैयाँ बजेटमा निर्माणाधीन ३ सय ५० मिटर लम्बाई र १.५ मिटर चौडाईको उक्त पुलको ठेक्का मेचीनगर नगरपालिकाले थानी निर्माण सेवा प्रालि काठमाडौंलाई दिएको थियो ।

पुल बनेसँगै निन्दा खोलापूर्वका मेचीपारिको बस्ती भनिने ग्वाल बस्ती, सिसुबारी बस्ती र झारु बस्ती, बिचकामत, हेल्दुबारी, फँडानी, भिन्डीबारी, गोमनसरी, सतिघट्टा र गौचरनका जनताले वर्षौंदेखि भोग्दै आएको समस्याबाट मुक्ति पाउने छन् ।

देशकै सुगम मानिने झापा जिल्ला राजनीतिक, सामाजिक र आर्थिकरुपमा सफल मानिएपनि विकास निर्माणबाट पिछडिएका धेरै स्थानहरु छन् । हेल्दुबारी, बिचार्नीजस्ता गाउँबस्तीहरु त प्रतिनिधि उदाहरण मात्र हुन् । जिल्लाका धेरै स्थानका जनताले सास्ती व्यहोरिरहनुपरेको छ ।

२०८० माघ १८, बिहीबार प्रकाशित 0 Minutes 799 Views

ताजा समाचार