२०८१ मंसिर २५ मंगलवार

उत्तम विचार नै समाज निर्माणको आधारस्तम्भ

जस्तो विचार उस्तै फल अर्थात् कुनै पनि कुराको बीजारोपण विचारबाट हुन्छ र त्यही विचारले उसले आफ्नो गन्तव्य तय गर्ने गर्दछ ।

दिपकराज जोशी,

जीवनमा उन्नति, प्रगति, नाम, दाम, सुख, शान्ति, समृृद्धि, ऐश्वर्य प्राप्त गर्ने र सफलता हासिल गर्ने हरेक मानिसको सपना हुन्छ तर सपनालाई विपनामा परिणत गर्नेको संख्या न्यून रहन्छ ।

बहुसंख्यक मानिस आफ्नो भाग्यलाई, देशलाई, अरूलाई दोषारोपण गरेर आफ्नो सपना पूरा गर्न नसकेको कुरामा आत्मसन्तुष्टि लिएको देखिन्छ ।

ऐश्वर्यको कुरा गर्ने हो भने विश्वको ९० प्रतिशत धनसम्पत्ति करीब २ हजार धनाढ्यको पकडमा छ जबकि विश्वको जनसंख्या ८ अर्बको हाराहारीमा छ । ती धनाढ्यको जीवनी केलाउने हो भने पनि अधिकांशको पैतृक, समाज र राज्य भन्दा आफ्नै प्रयासबाट धन आर्जन गरेको देखिन्छ ।

अर्कोतिर विश्वका शक्तिशाली राजनीतिज्ञ, प्रख्यात कलाकार, खेलाडी लगायत अधिकांशको सुरुवाती जीवन कालखण्ड अभाव, तनावबाट नै गुजि्रएको देखिन्छ ।

हामी प्रेरक व्यक्तित्वको भाषण, विभिन्न किसिमका शिक्षा-दीक्षा, सेमिनार वर्कशप, तालिम, भ्रमण आदि गर्दै अनुभव सँगाल्दै आफूलाई सफलताको उच्चतम विन्दुमा पुर्‍याउने प्रयास गर्दछौं तर सफलता प्राप्त भइरहेको हुँदैन ।

अनि हामीभित्र डिप्रेसन, प|mस्टेसन, तनाव लगायत विभिन्न किसिमका आन्तरिक समस्याले गाँज्ने गर्दछ । मानवीय स्वभाव नै भन्नुपर्दछ हामीहरू आन्तरिक भन्दा बाहृय तत्वबाट बढी प्रभावित हुने गर्दछौं र अन्ततोगत्वा आन्तरिक तत्वबाट हामीहरू समस्याको जालोमा फस्ने गर्दछौं । तसर्थ खप्तडबाबाले विचार विज्ञानमा भने झैं जस्तो विचार उस्तै फल अर्थात् कुनै पनि कुराको बीजारोपण विचारबाट हुन्छ र त्यही विचारले उसले आफ्नो गन्तव्य तय गर्ने गर्दछ ।

गौतम बुद्ध राजपरिवारमै बसेका भए शान्तिको मार्ग पहिल्याई विश्व चर्चित र आजको लागि सबैभन्दा उत्तम वैज्ञानिक विचार निर्माण गर्न सफल हुने थिएनन्

तसर्थ मानिसलाई उसको सपनाको उच्चतम विन्दुमा पुर्‍याउने उसले आफूभित्र रोपेको विचार नै हो । जस्तो बीउ रोपिएको छ, उस्तै फल लाग्छ । मानिस रोगी, निरोगी, कमजोर, बलवान, सफल, असफल, विख्यात, नामी, बेनामी, धनी, गरिब, जे-जस्तो हुन्छ उसको विचारबाट निर्माण भएको हो न कि परिवार, समाज, राष्ट्र आदिका कारण । तर आत्मसन्तुष्टिका लागि अधिकांश मान्छे अरूलाई अथवा आफ्नो भाग्यलाई दोषारोपण गरी जीवन व्यतीत गर्नेलाई कसैले पनि केही गर्न सक्दैन ।

विचारबाट व्यवहार र त्यसबाट क्रियाकलापको निर्माण हुने गर्दछ । हाम्रा सम्पूर्ण आनी-बानी व्यवहारको जननी विचार हो र जसले प्रत्यक्ष रूपमा दैनिक क्रियाकलापलाई निर्धारण गरिसकेको हुन्छ । मूलतः विचार निर्माणको लागि चाहिने तत्वहरू :

कठिन परिस्थितिको सामना : सामान्य र सहज परिस्थितिबाट उत्कृष्ट र परिपक्व विचारको निर्माण हुँदैन तसर्थ हामीहरू आफैंले आफूलाई नियालेर एकपटक हेरौं हामी कुन विन्दुबाट किन र कसरी परिवर्तन हुन थाल्यौं । सहज अवस्थामा हामीहरू विभिन्न दृष्टिकोणबाट सोच्न बाध्य हुँदैनौ र सोचको निर्माणका लागि आवश्यक ब्रेन स्ट्रोमिङ भएको हुँदैन ।

यस्तो परिस्थितिमा आफूलाई सम्हालेर परिस्थितिको सामना गरी दृढ रूपमा सकारात्मक सोचको निर्माणका गरी त्यही अनुसार अगाडि बढ्ने व्यक्तित्वले सफलता प्राप्त गर्दछ भने कठिन परिस्थितिको सामना नगर्ने र त्यही परिस्थितिमा रही भाग्य, अरू कसैलाई दोषारोपण गर्ने व्यक्तिको जीवन यथास्थितिबाट अगाडि बढ्न सक्दैन । उदाहरणका लागि युएई (युनाइटेड अरब इमिरेट्स) सातवटा राज्यहरू मिलेर बनेको एउटा मरुभूमि राष्ट्र आज विश्वको धनी, विकसित, पर्यटकीय र कल्पनाशील राष्ट्र बनेको छ ।

सामान्यतया संघीय राष्ट्रमा प्रदेशलाई मिलाएर अगाडि बढ्न गाह्रो छ तर सातवटाको एउटा राष्ट्रको रूपमा एउटा राष्ट्रपति अनि उनीहरू बीचको समझदारी र आजको विकासको अवस्था आउनुमा चरम कठिन परिस्थितिले निर्माण गरेको विचारले उनीहरूलाई निर्देशित गरेकोले वर्तमानको परिस्थिति निर्माण भएको भन्न सकिन्छ ।

नेपालको विकासको अवस्था र आपसी मेलमिलापको अवस्था हेर्ने हो भने आज पनि नाजुक छ । नेपालको अवस्था राम्रो किन बन्न सकेन भनी केलाउँदा प्रकृतिले हामीलाई सामान्य अवस्थामा पनि जीवनयापन गर्न सक्ने वरदान नै दिएको छ । राजनीतिक रूपमा इतिहासको कालखण्डमा सबैलाई एउटै ठाउँमा बसेर एउटै सकारात्मक विचारको बीजारोपण गर्ने बाध्यात्मक परिस्थितिको सिर्जना कहिल्यै पनि भएन जसको परिणाम हामी नेपालीको आजको परिस्थिति हो ।

गौतम बुद्ध राजपरिवारमै बसेका भए शान्तिको मार्ग पहिल्याई विश्व चर्चित हुनसक्ने थिएनन्, आजको लागि सबैभन्दा उत्तम वैज्ञानिक विचार निर्माण गर्न सफल हुने थिएनन् । जसको लागि कठिन परिस्थितिको सामना र उत्कृष्ट विचार निर्माण गर्न सफल भए ।

सामान्यतया समाजका बहुसंख्यक मानिस सकारात्मक विचार निर्माण गर्न तयार हुँदैनौं । घर निर्माणकै कुरा गरौं महानगर, नगरपालिकाका मापदण्ड हामीहरूलाई स्वीकार्न असहज हुने गर्दछ तर २०७२ सालको भूकम्पपश्चात् धेरैको विचारमा परिवर्तन आएको छ किनकि भूकम्पको असहज, कठिन परिस्थितिले बाध्य बनाएको हुनाले ।

मभित्रको चाहना  : व्यक्तिविशेष आफैंमा सबैथोक पूर्ण अथवा अपूर्ण जे चाहृयो त्यही बनाउन सक्ने सामथ्र्य बोकेको म पात्र हो । तसर्थ म पात्रले आफ्नो सकारात्मक, रचनात्मक, सिर्जनशील नयाँ विचार निर्माण गर्नका लागि गर्ने प्रयास महत्वपूर्ण पहलकदमी हो । व्यक्तिले कस्तो किताब पढ्ने, कोसँग संगत गर्ने, कस्तो ठाउँको भ्रमण गर्ने, आहार-विहार कसरी गर्ने, के चाहने, कस्तो परिस्थिति चाहने वा सामना गर्ने इच्छा व्यक्त गर्ने निरपेक्ष रूपमा व्यक्तिविशेषको आ-आफ्नो चाहना हो ।

हो यही चाहना नै उसको विचार निर्माणको लागि बीउ बन्ने गर्दछ । जस्तो बीउको बीजारोपण गर्न उसले प्रयास गर्दछ त्यस्तै फल फल्ने गर्दछ । अर्थात् स्याउ रोपे स्याउ, नासपाती रोपे नासपाती फल्ने कुरामा कुनै सन्देह हुँदैन । तर विडम्बना हामी सबैको चाहना र शब्दमा सकारात्मकता पाइएतापनि अन्तरनिहितमा अर्कै अर्थात् दूषित सोच भएका कारण उसको सफलताको बाधक नै उसको विचार हो । अधिकांश मानिस व्यक्तिविशेषको कुरा गर्ने गर्दछन् । यदि सही निर्माण गर्ने हो भने उसको विचार अनि दर्शन विज्ञानको कुराले मात्र उपयुक्त विचार निर्माण हुने गर्दछ ।

एउटा चलचित्र राम्रो हुनुमा चलचित्रको कथा हो जसमा विचार छ बाँकी निर्देशन र कलाकारिता त्यही कथामा आधारित भएर निर्माण हुने हो । राजनीतिक पार्टीका नेताहरूको शब्द र घोषणापत्रमा राम्रा विचार नै पाइन्छन् तर व्यवहारमा पाइँदैन जसका कारण समस्या पैदा भइराखेको छ हाम्रो देशमा ।

यदि राजनीतिक व्यक्ति आफैंले अन्तस्करणबाट उत्तम विचारको निर्माण गर्न सकेको भए बोली र व्यवहारमा फरक पाइने थिएन । तसर्थ विचार स्वयं आफैंले आफ्ना लागि अन्तस्करणबाट निर्माण गरे मात्र यथार्थ र व्यावहारिक हुन्छ । राजनीति सबै नीतिको माउ नीति भएकाले उत्कृष्ट विचारको अपेक्षा समाजका सबै वर्गको हुने गर्दछ तर समाजका हरेक तह र तप्काको उत्तम विचार नै समाज निर्माणको आधारस्तम्भ हो । अनलाइन खबरबाट

२०८० माघ १६, मंगलवार प्रकाशित 1 Minute 151 Views

ताजा समाचार