२०८१ बैशाख १२ बुधबार

भाक्का खाँदै मनोरंजन गर्दै

झापा, पुष ३० । भाक्का दिवसको अवसर पारेर शनिवार झापाको कचनकवल १ घेरावारीको कुट्टीमा बृहत सांगीतिक एवं भाक्का कार्यक्रम सम्पन्न भएको छ ।

राजवंशी समाज विकास समिति कचनकवल १ घेरावारीको आयोजना तथा राजवंशी युवा तथा महिला समिति कचनकवल १ घेरावारीको सहआयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सहभागीहरुले भाक्का खाँदै सांगीतिक प्रस्तुतीको मज्जा लिएका थिए ।

कार्यक्रममा यमलाल राजवंशी ,मनोरथ राजवंशी , लोकप्रसाद राजवंशीलगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै स्थानीय कलाकारहरुले नृत्य देखाएका थिए । आयोजक समितिका अध्यक्ष रावानन्द राजवंशीको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजवंशी , उपाध्यक्ष नवराज भट्टराई , राजवंशी समाज विकास समितिका पूर्व केन्द्रीय सदस्य नारायण राजवंशी , कचनकवल गाउँ समितिका अध्यक्ष उपेन्द्र राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव , वडा अध्यक्ष नूर आलम , उमाशंकर गणेश, शिक्षक मोती राजवंशी, स्थानीय समाजसेवी सत्यनारायण यादव , हरिशचन्द्र राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

दिलकुमारी राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन दिलिप राजवंशीले गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई निःशुल्क भाक्का खुवाइएको थियो । भाक्का बनाएर दिनका लागि ७ जना महिलाहरुको व्यवस्था गरिएको थियो ।पूर्वी नेपालमा रहेका राजवंशीलगायतका जातिले जातीय परिकार भाक्काको संरक्षण र प्रवद्र्धनका लागि केही वर्षदेखि पुष २९ लाई भाक्का दिवस मनाउन थालेका छन् ।

२०७९ पुष ३०, शनिबार प्रकाशित 0 Minutes 337 Views

ताजा समाचार