२०८० फाल्गुन २१ सोमबार

राजनीतिको राजमार्गमा सिटौलाको ‘पुनरागमन’

नेपालको राजनीतिमा कृष्णप्रसाद सिटौलाको पृथक् पहिचान छ । थोरै तर जोखेर बोल्ने, अरूको कुरा धेरै सुन्ने आफू कम बोल्ने उनको आदत हो । मिडियामा उतिसारो रुचि नराख्ने तर नेपाली राजनीति वा सत्ता सञ्चालनको सवालमा सिटौलाको भूमिका कहीँकतै प्रत्यक्ष–अप्रत्यक्ष देखिने नै गर्छ । आक्रोश, क्रोध, अपमान र आशंकालाई किनारामा राखेर संकटमा सतिसालझैँ उभिन सक्ने सिटौलाको विचित्रको खुबी छ ।

सिटौलामा सम्भावित दुर्घटना वा परिस्थितिलाई सहजै अनुमान लगाउन सक्ने खुबी समेत छ । उनको जस्तो क्षमता नेपाली समकालीन राजनीतिकर्मीमा बिरलै भेटिन्छ, तर राजनीतिमा अवसर अंक गणितले निर्धारण गर्ने भएकाले जनताबाट अनुमोदित हुन उनले निकै गर्नुप¥यो । जीवनमा करिब आठ पटक चुनाव लड्दा मुस्किलले तीन पटक उनी जनताबाट अनुमोदित भए, तर पनि नेपाली राजनीतिमा जब संकटको अवस्था देखापर्छ तब उनको योगदानको चर्चा हुने गर्छ । त्यति मात्र होइन, आफ्नै पार्टी नेपाली कांग्रेसमा पनि उनको आवश्यकता जुन बेला पर्छ त्यसबेला कांग्रेस चरम कलहमा रुमलिन्छ । यतिखेर राष्ट्रियसभामा उनको इन्ट्रीलाई लिएर त्यस्तै सकारात्मक वा नकारात्मक किसिमका टीका–टिप्पणी भइरहेका छन् ।

नेपाली राजनीतिमा करिब दुई दशक शक्तिको केन्द्रमा रहेका सिटौला पछिल्ला केही समय राजनीतिमा मौनजस्तै भए । यद्यपि, उनको एउटा इच्छा देखिन्थ्यो– देश दौडाहा गर्ने, आफू नबोल्ने तर बोल्नेहरूका कुरा अन्तिम सिटमा बसेर सुन्ने । त्यो क्रम उनले केही महिनायता सुरु गरेका थिए । मञ्चमा अरूले बोल्ने, उनले तल बसेर सुन्ने तर नबोल्ने । यो क्रम पूर्व कोशीदेखि काठमाडौँ हुँदै पोखरासम्म पुग्यो । लाग्छ, उनको यस्तो अभियानले नेपाली कांग्रेसका नेता चकित मात्र होइन, रनभुल्लमा थिए ।

नेपाली कांग्रेसको १२औँ महाधिवेशनपछि कांग्रेस महामन्त्री बनेका उनी १३औँ महाधिवेशनमा आफ्नो छुट्टै समूह खडा गरेर सभापतिको उम्मेदवार बने । त्यसबखत उनी महाधिवेशनको परिणाममा पहिलो चरणमा तेस्रो भए र दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्दै तेस्रो धार स्थापित गरे । कांग्रेसको १४औँ महाधिवेशनमा सिटौलाले पहिलो चरणमै सभापतिमा देउवालाई सघाए र आफू मैदान बाहिर रहेको सन्देश दिए ।

२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनी झापाबाट पराजित बने, २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सिटौला झापाबाटै प्रतिनिधि सभामा उम्मेदवार बने पनि विजयको माला लगाउने अवसर मिलेन । प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेपछि उनी कहीँकतै त्यति धेरै खुलेनन् । उनको भूमिका नेपाली कांग्रेस पार्टीभित्र अदृश्य रूपमा सल्लाहकारको जस्तो मात्रै रह्यो । केही समयअघि एकाएक सिटौलाको नाम राष्ट्रपति निर्वाचनका बखत चर्चामा आयो, तर उनलाई कांग्रेसबाट राष्ट्रपतिमा अगाडि सारिएन । उनी बोलेनन्, मौन नै रहिरहे ।

माघ ११ को साँझबाट भने सिटौलाले राजनीतिमा नयाँ प्रारूपमा देखा परेका छन् । १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा उनी कोशी प्रदेशबाट निर्वाचित बने । उनी निर्वाचित नभएको भए सायद राजनीतिमा उनको बाटो अवकाशतर्फ अग्रसर थियो ।

राष्ट्रिय सभा सदस्यबाट सक्रिय राजनीतिमा पाइला राखेका सिटौलालाई फेरि शक्तिको केन्द्रमा आउने बाटो खुलेको छ । निर्वाचित हुनु अघिदेखि नै राष्ट्रिय सभा अध्यक्षका रूपमा उनको चर्चा सुरु भइसकेको थियो, उनको भित्री इच्छा भने अझै प्रकट भएको छैन । कांग्रेसको आगामी महासमिति बैठकबाट विधान संशोधन गर्ने र वरिष्ठ उपसभापतिको पद सिर्जना गरेर उक्त पदमा उनी स्थापित हुन सक्ने आकलन पनि गरिएको छ । त्यस्तै, कांग्रेसको नेतृत्व गर्दै सरकारमा सामेल हुन सक्ने पनि अनुमान सुरु भइसकेको छ ।

राष्ट्रिय राजनीतिमा होस् या दलगत राजनीतिमा सिटौलाको यो दुई दशकको यात्रा शक्तिकै वरिपरि घुम्यो । हुन त सिटौलाका केही अवगुण पनि छन् । उनी जोकोही मान्छेलाई तौलिन चाहन्छन्, धेरै बोल्दैनन्, जोखेर बोल्छन् । जसका कारण उनको भूमिका कस्तो रहला भन्नेमा सधैँ ‘सरप्राइज’ हुन्छ । सिटौलामा एउटा त्यस्तो शक्ति छ, उनी विरोधीलाई चाँडै ‘ट्रिट’ गर्न सक्छन् र सहमतिमा ल्याउन सक्छन् । उनी व्यक्ति अनुसारको व्यवहार गर्न इच्छा देखाउँछन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टीभित्र र बाहिरी राजनीतिमा उनको समन्वयकारी भूमिका त्यस्तै देखियो ।

सिटौलाको बानी

आचरण र व्यवहार कसैलाई मन परोस् वा नपरोस्, उनी देशका लागि ‘क्राइसिस म्यानेजमेन्ट म्यान’ हुन भनेर राजनीतिभित्रको कूटनीति बुझ्नेहरूले भन्दै आएका छन् । राष्ट्रिय राजनीतिमा आएका अनेक सङ्कटको समाधानमा उनले नेतृत्व गरेका छन् । शालीन र कूटनीतिक रूपमा प्रस्तुत भई सबै पक्षको विश्वास जित्दै राष्ट्रिय राजनीतिलाई सही दिशामा हिँडाउने नेताका रूपमा उनलाई चिनिन्छ ।

कुनै समय गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र रहेका सिटौलाले तत्कालीन सभापति सुशील कोइराला र हालका सभापति शेरबहादुर देउवालाई समेत राजनीतिक बाटोमा सुझबुझपूर्ण निर्णय गराउन महत्त्वपूर्ण राय दिएको पाइन्छ । उनीमा पार्टीका शीर्ष नेताहरूमा देखिएको खटपटलाई चाँडै हल गर्न सक्ने र विपक्षी पार्टीहरूको रणनीति पहिचान गरेर गोटी चाल्ने सक्ने क्षमता छ । माओवादी जनयुद्धलाई अन्त्य गर्दै शान्तिपूर्ण राजनीतिको बाटोमा ल्याउन तथा संविधान निर्माणदेखि तत्कालीन राजा ज्ञानेन्द्रसँग वार्ता गरेर राजदरबारबाट नागार्जुन पु¥याउनसम्म उनको भूमिका महत्त्वपूर्ण छ ।

देशमा माओवादी सशस्त्र जनयुद्ध सुरु हुँदै गर्दा तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग निकट रहनु नै सिटौलाका लागि नेपाली राजनीतिको क्षेत्रमा सबैले विश्वास गर्ने बाटो बन्यो । त्यसबेला माओवादीसँगको बाह्रबुँदे सम्झौतामा मध्यस्थकर्ता उनै थिए ।

आचरण र व्यवहार कसैलाई मन परोस् वा नपरोस्, उनी देशका लागि ‘क्राइसिस म्यानेजमेन्ट म्यान’ हुन भनेर राजनीतिभित्रको कूटनीति बुझ्नेहरूले भन्दै आएका छन् । शालीन र कूटनीतिक रूपमा प्रस्तुत भई सबै पक्षको विश्वास जित्दै राष्ट्रिय राजनीतिलाई सही दिशामा हिँडाउने नेताका रूपमा सिटौलालाई चिनिन्छ ।

कतिपयले सिटौलालाई गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी पनि ठान्ने गर्छन् । जुन शान्ति सम्झौताका बेला उनले खेलेको भूमिकाले स्पष्ट पारेको छ, उनले नै शान्ति प्रक्रियाको डिजाइन गरेका थिए । सिटौलाले गिरिजाप्रसाद र विद्रोही माओवादी दुवैको विश्वास जितेर शान्ति प्रक्रियालाई अघि बढाएका थिए ।

त्यसबखत उनले आफूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले वार्ता नमिले के हुन्छ भनेर सोध्दा ‘तपाईं जहाँ जान चाहनुहुन्छ, म त्यहीँ लगेर छोड्छु’ भन्ने जवाफ दिएका थिए ।

मुलुकमा राजतन्त्रको अन्त्य गरेर देशमा गणतन्त्र ल्याउनमा पनि सिटौलाले खेलेको भूमिकालाई नकार्न सकिँदैन । त्यसकारण पनि सिटौलाको सम्बन्ध हालका प्रधानमन्त्री पुष्पकमल दाहालसँग निकट छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई राजदरबारबाट नागार्जुन दरबार पठाउन सिटौलाले नै संवाद गरेका थिए । त्यसमा पनि उनी सफल भए । त्यसपछि संविधानसभाबाट संविधान बनाउँदा उनले निभाएको नेतृत्वदायी भूमिकाले उनलाई ‘क्राइसिस म्यानेजमेन्ट म्यान’का रूपमा चिनायो ।

पछिल्लोपटक यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गर्दा उनै सिटौलाले संविधानको केस्रा–केस्रा केलाए । संविधानको मस्यौदाकारका रूपमा रहेका उनले संविधानको धारा ७६ (५) को व्यवस्था पूरा नगरी कुनै हालतमा प्रतिनिधिसभा विघटन गर्नै मिल्दैन भनी लिएको अडान त्यसखबत अदालतले सत्य साबित गरिदियो । संविधानसभाले संविधान बनाउँदा सिटौला संविधानको मस्यौदा समितिको सभापति थिए । उनकै नेतृत्वमा देशको संविधानको हरेक धारा उपधाराले पूर्णता पाएको थियो ।

सिटौलाको राजनीतिक जरो झापामा छ । झापा कम्युनिस्ट आन्दोलनको उर्बर भूमि हो । सिटौलाले कांग्रेस मात्र होइन, कम्युनिस्टबाट पनि राजनीतिक खेल सिके । झापाका पुराना नेता स्वर्गीय सीके प्रसाईको सहयोगमा सिटौला जिल्लामा स्थापित भए । केशवकुमार बुढाथोकी र सिटौला स्थानीय राजनीतिमा झापामा सँगै थिए । सर्वप्रथम कांग्रेसको खुला अधिवेशन (२०४८) सिटौलाकै गृह जिल्ला झापाको कलबलगुडीमा भयो । त्यस बखत कांग्रेसको कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई थिए । उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सभापतिमा उठ्न चाहन्थे । गिरिजाप्रसाद त्यस बखत नउठ्दा भट्टराई कांग्रेसको निर्विरोध सभापति बने । भट्टराई पार्टी नेतृत्वमा रहँदा सिटौला झापाको कांग्रेस जिल्ला सभापति थिए ।

कांग्रेसको १२औँ महाधिवेशनबाट भने उनी कांग्रेसको केन्द्रीय महामन्त्री बनेका थिए । अब सिटौला राष्ट्रिय सभाको अध्यक्ष वा उपप्रधानमन्त्रीसहित सरकारमा जालान्, त्यो केही दिनभित्रै देखिनेछ । याने कि अब फेरि सिटौला अवकाशको राजनीतिको बाटोलाई पन्छाएर राजनीतिको मूल राजमार्गमा आइपुगेका छन् । रातोपाटी

२०८० माघ १४, आईतवार प्रकाशित 0 Minutes 65 Views

ताजा समाचार