२०८१ बैशाख २२ शनिबार

कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौंः वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।

गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण कार्यक्रममा पुनले कांग्रेसले माओवादीबाट विश्वास गुमाएको टिप्पणी गरे। हरेक पटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारीतापूवर्क मत दिने तर, कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ थियो।

‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ। कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं’, पुनले भने, ‘कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा इमान्दारीपूर्वक कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ?’

राष्ट्रिय सभा निर्वाचनअघिका चुनावहरूमा पनि यस्तै हुँदा कांग्रेसले गुटबन्दीलाई कारण देखाउँदै आएको पुनले बताए। नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए।

‘दुई वर्षअघि पनि जसपाको राष्ट्रियसभामा उम्मेदवारलाई हराउने काम कांग्रेसबाट कोशीमै भयो। केदार कार्कीलाई  मुख्यमन्त्री बनाउँदा पनि त्यही प्रवृत्ति देखियो’, पुनले भने, ‘कांग्रेसले एकपछि अर्को गर्दै घात गर्ने र हामीभित्र समस्या छ भनेर माफी पाउने अवस्था रहँदैन।’

पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न कांग्रेस नेतृत्वसँग माग पनि गरे। यस्तै काँग्रसबाट कोशीमा भएको धोकाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुने पनि उनले बताए।

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो। सिटौला विजयी भएपनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्। सेतोपाटी

२०८० माघ १३, शनिबार प्रकाशित 0 Minutes 64 Views

ताजा समाचार