२०८१ बैशाख २२ शनिबार

रवीन्द्र मिश्रले राप्रपा नै बुझ्नु भएको छैन : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्रप्रति लक्षित गर्दै राप्रपा नै नबुझेको टिप्पणी गरेका छन्।

प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष मिश्रसहित रहेको निर्देशन समितिले कोशी सभामुखबाट राप्रपा फिर्ता हुनुपर्ने निर्देशन जारी गरेपछि यो विषयमा राप्रपाभित्र मतभेद देखिँदै आएको छ। यही विषयमा सोधिएको प्रश्नमा अध्यक्ष लिङ्देनले मिश्रले राप्रपा नै नबुझेको प्रतिक्रिया दिएका छन्।

‘रवीन्द्र मिश्रजीले राप्रपा नै के बुझेको छ भनेको? उहाँ हिजोअस्ती आउनुभएको। उहाँले राप्रपा के बुझ्नु भएको छ?,’ एक अन्तर्वार्तामा लिङ्देनले भने, ‘उहाँले राप्रपा बुझ्नै बाँकी छ। भर्खर आउनुभएको छ। एक, डेढ वर्ष हुँदैछ। उहाँले सरकारमा जानु ठिक थियो कि थिएन, प्रदेश सभामा सभामुखमा जानु ठिक थियो कि थिएन, उहाँलाई लागेको कुरा भन्नुभयो।’

कोशीमा गत पुस २४ गते राप्रपाका तत्कालीन सांसद अम्बरबहादुर विष्ट सभामुख निर्वाचित भएका थिए। सभामुख निर्वाचन प्रक्रिया चलिरहँदा लोहनी नेतृत्वको राप्रपा निर्देशन समितिले उम्मेदवारी फिर्ता लिन निर्देशन जारी गरेको थियो।

तर लोहनी नेतृत्वको निर्देशन समितिले दिएको निर्देशनबारे राप्रपाले पार्टीमा अहिलेसम्म औपचारिक छलफल गरेको छैन। नेताहरूले सञ्चार माध्यममार्फत् यो विषयमा छलफल हुनुपर्ने र हुन नसक्ने धारणा सार्वजनिक गरिरहेका छन्। निर्देशन समितिको निर्देशनका विषयमा पार्टीमा छलफल नहुने अध्यक्ष लिङ्देन बताउँछन्।

‘निर्देशन समिति अध्यक्ष त मैले चिठी दिएर बनाएको। निर्देशन समितिको अध्यक्ष महाधिवेशनले बनाएको अध्यक्षभन्दा माथि हुन्छ? निर्देशन दिने?,’ उनले प्रश्न गरे, ‘मैले अर्को अन्तर्वार्तामा पनि भनिसकेको छु, प्रष्ट विधानले लेखेको छ निर्देशन समिति सल्लाहकारका रूपमा रहने हो। सरकारमा जाने र राजनीतिक नियुक्तिहरूमा सुझाव दिने निकाय हो त्यो।’

सरकारमा जाने कि नजाने भनेर केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा निर्देशन समितिसँग सुझाव लिन सक्ने उनी बताउँछन्। ‘केन्द्रीय कार्यसमितिले निर्देशन समितिसँग सुझाव माग्यो भने बैठक बसेर सुझाव दिने निकाय हो त्यो निर्देशन दिने निकाय होइन,’ उनले भने, ‘नाम निर्देशन समिति भने पनि त्यो सुझाव दिने निकाय हो, विधानमा प्रष्ट छ।’

राप्रपाले लिने नीतिबारे जहिले पनि सुझाव दिन सकिने उनी बताउँछन्।

‘प्रदेश सभाको सभामुखमा बस्नु उपयुक्त हुन्छ कि फिर्ता हुनु उपयुक्त हुन्छ छलफलको विषय हो। यसमा कुनै आपत्ति छैन,’ उनले भने, ‘तर जुन हिसावले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिका नाममा निर्देशन जारी गरिएको छ, फेसबुक र पत्रिकाबाट। त्यो कुरा राप्रपा अध्यक्षले मान्दैन। राजेन्द्र लिङ्देन व्यक्तिले डा. लोहनीलाई मान्न सक्छ तर राप्रपाको अध्यक्षले मान्दैन म आज पनि दोहोर्‍याएर भन्छु।’

लोहनीले जारी गरेको निर्देशन राप्रपामा छलफल नै नहुने लिङ्देनले बताए।

‘संस्थाले मान्दैन। त्यो विषय छलफलको विषय नै हुँदैन। त्यो नजिरको कुरा हो। त्यो अध्यक्षले छलफलमै लैजाँदैन। निर्देशन मान्नुपर्ने कुनै व्यवस्था छैन,’ उनले भने, ‘उहाँहरूले गल्ती महसुस गर्नुपर्छ। सच्याउनुपर्छ। मिश्रजीले पनि त्यो कुरा ठिक भनेर भन्नुभएको छ भने सच्याउनुपर्‍यो।’

लोहनीले पार्टीभित्र गुट बनाउने र अलगै शक्तिको अभ्यास गर्न खोजेको भन्दै लिङ्देन पक्ष असन्तुष्ट छ। अधिकार क्षेत्रभन्दा बाहिर गएर लोहनीले निर्देशन दिएको आरोप छ। लिङ्देनले यसअघि पनि एक अन्तर्वार्तामा लोहनीले जारी गरेको निर्देशन पार्टीले मान्न नसक्ने बताएका थिए।

‘जुन ढंगले पार्टीमा अलग शक्ति केन्द्र बनाउने हिसावले निर्देशन दिने कुरा भएको छ, त्यो राप्रपामा स्वीकार्य हुँदैन,’ लिङ्देनले भनेका छन्, ‘त्यो निर्देशन अधिकार क्षेत्रभन्दा बाहिर गएर दिइएको छ। अध्यक्ष स्वदेश फर्कनुअघि दिइएको छ।’

कोशीमा सभामुख चयन भइरहँदा लिङ्देन मलेसियाबाट स्वदेश फर्कंदै थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइसकेको अवस्थामा लोहनीले कोशी सभामुखबाट उम्मेदवारी फिर्ता लिनुपर्ने निर्देशन कोशी समितिमा पठाएका थिए। लोहनीले पठाएको निर्देशनलाई  लिङ्देनले अनधिकृत भनेका छन्।

‘अध्यक्ष स्वदेश फर्कने दिन ‘कू’ गरे जसरी निर्देशन दिइयो, त्यो हावादारी निर्देशन स्वीकार्य छैन,’ उनले भने, ‘राप्रपामा विगतदेखि हुर्केको विकृतिको यो सानो अंश हो, साथीहरूलाई सच्चिन आग्रह गर्दछु।’

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले एक अन्तर्वार्तामा पार्टीभित्रका विवादबारे नेताहरूले सार्वजनिक रूपमा धेरै बोल्न नहुने प्रतिक्रिया दिएका थिए।

‘देशका प्रमुख नेताहरूले देशमा धेरै विवाद भयो, संकट भयो भने सार्वजनिक रूपमा बोल्नुपर्छ। तर देशका प्रमुख नेताहरूले पार्टीभित्र धेरै विवाद र संकट भयो भने सार्वजनिक रूपमा धेरै बोल्नु हुँदैन,’ मिश्रले भने, ‘ओली-प्रचण्ड, कांग्रेसका नेता तथानाम बोल्दा राम्रो भयो, भएन। त्यसो हुनाले पार्टीका वरिष्ठ नेताहरूको काम के हो भने- भएका समस्यालाई पार्टीमा विधिवत र तहगत रूपमा समाधान गर्ने हो। सार्वजनिक रूपमा गएर आरोप प्रत्यारोप गर्ने होइन।’ सेतोपाटी

२०८० माघ १२, शुक्रबार प्रकाशित 1 Minute 60 Views

ताजा समाचार