२०८१ बैशाख २२ शनिबार

राष्ट्रिय सभा निर्वाचन : अहिलेसम्म ६० प्रतिशत मतदान, मतपरिणाम आजै आउने

काठमाडौं । बिहीबार बिहान ९ बजेदेखि राष्ट्रिय सभा निर्वाचनका लागि मतदान भइरहेको छ।

सातै प्रदेशमा मतदान स्थलहरू तोकिएका छन्। ती मतदान स्थलमा रहेका केन्द्रमा पुगेर प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गरिरहेका छन्। निर्वाचन आयोगका अनुसार सवा ११ बजेसम्म ६० प्रतिशत मतदान सकिएको छ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६० प्रतिशत मतदान सकिएको जानकारी दिए। सातै प्रदेशका मतदान केन्द्रमा मतदान जारी रहेको उनले बताए। आयोगले मतदानको समय बिहीबार अपराह्न ३ बजेसम्मको लागि तोकेको छ।

यद्यपि उक्त समय अगावै सबै मतदान सकिने आकलन छ। ‘शान्तिपूर्ण तरिकाले सबै ठाउँमा निर्वाचन भइरहेको छ। अहिलेसम्म ६० प्रतिशत मतदान भइसकेको छ,’ उनले भने, ‘सम्भवत दिउँसो १-२ बजेसम्म मतदान सकिन्छ।’

समय अगावै मतदान सकिए  पनि अपराह्न ३ बजेसम्मका लागि कुर्ने उनले बताए। राष्ट्रिय सभाको निर्वाचनको लागि १९ पदका आज मतदान भइरहेको हो। मतदान सकिएपछि मुचुल्काको काम गरिने र त्यसपछि मतगणना गर्ने स्थलमा सुरक्षित साथ पुर्‍याइने प्रवक्ता पौडेलले बताए।

त्यसपछि मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेपछि मात्रै मतगणना सुरू हुनेछ।  यसबीच कुनै विवाद नभएमा आजै मतगणना सुरू भई निर्वाचन परिणाम आउनेछ।

‘मतदान सकिएपछि पनि प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ। मुचुल्का गरी बाकसहरु मतगणनास्थलमा राख्नुपर्छ,’ पौडेलले भने, ‘त्यसपछि सर्वदलीय बैठक राखेर कुनै विवाद नभए आज साँझ ६-७ बजेसम्म निर्वाचन परिणाम निस्किन्छ।’

राष्ट्रिय सभा निर्वाचनका लागि आठ वटा दलका ५१ जनाले उम्मेदवारी दिएका छन्। १९ जना राष्ट्रिय सभा सदस्यको फागुन २० गते पदावधि सकिँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ।

त्यस अनुसार आयोगले बिहीबार निर्वाचन गराएको हो।  यसपालि मतदाताको मतभार समेत फेरिएको छ। राष्ट्रिय जनगणना अनुसार कूल जनसंख्यालाई आधार मानेर आयोगले नयाँ मतभार कायम गरेको हो।

प्रदेश सभा सदस्यहरूको मतभार ५३ र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र नगरपालिका प्रमुख-उपप्रमुखको मतभार १९ छ। यसअघि प्रदेशको मतभार ४८ र पालिकाको १८ थियो।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाले मतदान गर्दैछन्। निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुन्छ। सेतोपाटी

२०८० माघ ११, बिहीबार प्रकाशित 1 Minute 60 Views

ताजा समाचार