२०८१ असार १ शुक्रबार

राष्ट्रियसभा निर्वाचनपछि कुन पद रोज्लान् कृष्णप्रसाद सिटौला ?

नेपालीका कांग्रेसका नेता तथा राष्ट्रियसभामा कोशी प्रदेशका उमेदवार कृष्णप्रसाद सिटौला यतिबेला चुनावी अभियानमा छन् । उनी कोशी प्रदेशका १४ वटै जिल्लामा पुग्ने प्रयासमा छन् ।

सिटौला अहिले मतदाता र शुभेच्छुकलाई भेटघाट गरिरहेका छन् । राष्ट्रिय सभा अध्यक्षका रूपमा हेरिएका सिटौलाले भेटघाटका क्रममा आफ्नो आकांक्षा भने खुलाएका छैनन् । पहिले राष्ट्रियसभा सदस्यका रूपमा संसद छिर्ने उनको ध्यान केन्द्रित छ ।

त्यसैले सिटौलाले सत्तारुढ गठबन्धन उपयोगी र आवश्यक भएको प्रतिक्रिया दिइरहेका छन् । गठबन्धनको सबै मत आफ्नो पक्षमा पार्न उनी केन्द्रित छन् । मत माग्न ओखलढुंगा पुगेका बेला पनि नेता सिटौलाले गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अर्को चुनावसम्म गठबन्धन कायम रहने प्रतिक्रिया दिए । उनी गठबन्धनप्रति इमानदार भएर प्रस्तुत भइरहेका छन् ।

गठबन्धन पार्टी र नेताका लागि भन्दा पनि जनताका लागि बनेको उनको भनाइ छ । संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको सिटौलाको तर्क छ ।

गठबन्धनप्रति बफादार बनेका सिटौला मत क्रस हुन नदिन अधिकतम मिहिनेत गरिरहेका छन् । उनी कांग्रेसभित्रका नेताको व्यवस्थापनदेखि गठबन्धनका मतदाता फकाउनमा केन्द्रित छन् । उम्मेदवार छनोटमा असन्तुष्टि जनाएका नेता डा. शेखर कोइराला सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्छ भन्नेमा छन् । कोइराला सिटौलालाई संघीय संसद् प्रवेश गराउने मात्र नभइ उनको इतिहासलाई सम्मान गर्दै अध्यक्ष नै बनाउनुपर्छ भनेर अभिव्यक्ति पनि दिइरहेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रिय सभाको नेतृत्व गर्ने दाबी गरिरहेका छन् ।

अढाइ दशकयता राष्ट्रिय र दलीय राजनीतिको केन्द्रविन्दुमा रहेका सिटौलालाई संकट मोचकका रूपमा पनि लिने गरिन्छ । कतिपय विश्लेषकले सिटौलालाई देशका लागि ‘क्राइसिस म्यानेजमेन्ट म्यान’का रूपमा पनि बुझ्ने गरेका छन् । समन्वयकारी र सन्तुलित भूमिकाका कारण उनी प्रतिस्पर्धी दलका नेताका पनि प्रिय मानिन्छन् ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउँदै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सिटौलाको भूमिकाका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि प्रभावित देखिन्छन् । त्यसैले राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा १९ उम्मेदवारमध्ये सिटौला केन्द्रविन्दुमा छन् । उम्मेदवारी दर्ता गर्न विराटनगर ओर्लिनुअघि उनलाई पार्टी सभापति शेरबहादुर देउवा र प्रचण्डले ग्रीन सिग्नल दिएको अनुमान गरिन्छ ।

‘तपाईँलाई राष्ट्रपति बनाउन सकिएन, त्यहाँ रामचन्द्र पौडेललाई नल्याइ भएन,’ प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले सिटौलासँग भनेको भनाइ उदृत गर्दै कांग्रेस उच्च स्रोतले भन्यो, ‘अब तपाईं राष्ट्रिय सभाको अध्यक्ष हुनुहोस्, त्यो पनि संवैधानिक पद नै हो ।’

यता, प्रचण्डले शान्ति प्रक्रियादेखि संविधान घोषणा गर्दासम्म निरन्तर सहयोग गरेकाले पनि सिटौलालाई राष्ट्रिय सभाको नेतृत्वमा पुर्याउन वचनबद्ध रहेको निकटस्थसँग बताएका छन् । राष्ट्रियसभा अध्यक्षका रूपमा हेरिएका सिटौला आफ्नो इच्छाका बारेमा कसैलाई सुनाएका छैनन् । यद्यपि, उनी अध्यक्ष नभइ मन्त्रिमण्डलमा सरिक हुनसक्ने अनुमान पनि गरिएको छ ।

उपप्रधानमन्त्रीको हैसियतसहित गृह मन्त्रालयको जिम्मेवारी दिनेगरी कसरत भइरहेको चर्चा सुरु भएको छ । ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनपछि राजनीतिक समीकरण र मन्त्रीहरूको हेरफेर हुनसक्ने भएकाले सिटौला राष्ट्रियसभा अध्यक्ष नै बन्लान् भनेर अनुमान गरिहाल्न सकिँदैन ।

गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र हाल देउवासँग निकट रहेर राजनीतिक पावरमा रहेका सिटौलाले ११ माघको चुनावमा विजयी भएमा उपप्रधानसहित गृह वा राष्ट्रिय सभा अध्यक्ष बन्ने लगभग पक्कापक्की छ । तर, सिटौलाले कुन पद रोज्छन् त्यसले पनि अर्थ राख्नेछ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुनमा सकिँदैछ । ५९ सदस्यीय राष्ट्रियसभामा माओवादीका १५ सांसद छन् । ११ माघको निर्वाचन पछि थप ६ सांसद राष्ट्रियसभामा प्रवेश गर्दैछन् । एमालेका ९ संसदको कार्यकाल सकिएपछि माओवादी पहिलो दल बन्ने भएकाले माओवादी आफैंले अध्यक्ष लिनसक्ने अनुमान पनि गरिन्छ । फरकधार

२०८० माघ ६, शनिबार प्रकाशित 0 Minutes 150 Views

ताजा समाचार