२०८१ मंसिर २६ बुधबार

मान्छे किन दु:खी हुन्छ ?

सामान्यतया खुसी, रोदन, निराशा, उत्साह मानवीय स्वभाव हो । मान्छेको जीवनमा केही उतारचढाव आउनु पनि स्वभाविक हो तर आवश्यकभन्दा बढी खुसी वा निराश भइरहने चाहिं रोग पनि हुनसक्छ । अत्यधिक वा अप्रत्यासित निराशापन एक प्रकारको मानसिक रोग हुनसक्छ ।

जैविक (बायोलोजिकल), मनोवैज्ञानिक (साइकोलोजिकल) वा पारिवारिक सामाजिक कारणले मानिसमा डिप्रेसन जस्तो रोग हुनसक्छ । तर यो खालको निराशापनको समयमै उपचार नगरेमा भने यसले ठूलो दुर्घटनासमेत निम्त्याउन सक्छ ।

विश्व स्वास्थ्य संगठनले शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ व्यक्ति मात्र स्वस्थ हुन्छ भनेको छ ।

दु:खी हुने कारण

दु:खी हुने धेरै कारण हुन सक्छन् । एउटा प्रमुख कारण मान्छेको समस्या, जीवन र परिस्थितिलाई हेर्ने तरिकाले निर्धारण गर्छ ।

धेरै महत्त्वाकांक्षा राख्ने तर आफूसँग भएको कुरामा सन्तोष लिन नसक्ने व्यक्तिहरू पनि दु:खी, निराश हुन्छन् । त्यस्ता व्यक्तिलाई आफूसँग भएको कुराले सुख दिंदैन र उनीहरू सुखको पछाडि दौडिरहेका हुन्छन् । कतिपय अवस्थामा मानिसमा आफ्नो लक्ष्यमा पुग्न नसक्दा निराश हुने तथा दुःख लाग्ने हुन्छ । यो सामान्य पनि हो तर यो लामो समयसम्म रहन हुँदैन । असफलतालाई आत्मसात गर्न नसक्दा जीवन दु:खी हुन जान्छ ।

हामी दु:खी हुने अर्को कारण अपेक्षा हो । हामी आफ्ना परिवार, सन्तान, साथीसँग अपेक्षा गर्छौं, ताकि आफूले भनेजस्तो सबै कुरा ठीकठाक होस् । यो पनि जहिले हुनुपर्छ भन्ने छैन । कुनै व्यक्ति सबै कुरा पुगे पनि असन्तुष्ट हुने, दु:खी हुने हुन्छ । वंशाणुगत कारणले उसका यो समस्या देखिएको हुनसक्छ । मान्छेको आधारभूत आवश्यकता पूरा नहुँदा पनि मान्छे दु:खी हुन्छ । तर चाहिने भन्दा बढी धनसम्पत्ति भएका मानिसहरू पनि दु:खी भइरहेका हुन्छन् ।

यो त जीवनशैली र सोचका कारण भयो । मान्छेलाई दु:खी बनाउने अर्को कारण मानसिक रोग पनि हो । एन्जाइटी, डिप्रेसन जस्ता मानसिक रोग लागेको खण्डमा मान्छे बिना कारण वा सानो कारणमा अत्यधिक निराश र दु:खी  हुन पुग्छ । सानो-सानो कुरामा चिन्ता गर्ने हुन्छ ।

कसैको स्वभाव नै सानो कुरामा चिन्ता लिने, दु:खी हुने हुन्छ । यो स्वभाव बाल्यकालदेखि नै उसमा देखिन्छ । तर कुनै व्यक्ति भने कुनै घटनाक्रमले गर्दा त्यो घटनापछि उसको स्वभावमा परिवर्तन आउनसक्छ र ऊ दु:खी र निराश हुनसक्छ । यसले मानसिक रोगको संकेत गर्छ ।

मानिसमा हार्मोनल कारण पनि दु:खी, निराश हुने समस्या देखा पर्छ । जस्तै थाइराइड हार्मोनको गडबडी । महिलाहरूमा महिनावारी चक्र, गर्भधारण, रजोनिवृत्ति (महिनावारी बन्द हुने)को समयमा पनि उदासीले सताउँछ ।

दूधग्रन्थीहरूको विकास जस्ता अनेक कुराले महिलाको शरीरमा मात्र होइन, भावनात्मक अवस्थामा पनि गडबडी ल्याइरहेको हुन्छ । महिनावारीको बेलामा तथा गर्भावस्थामा महिलाको शरीरमा सेरोटोनिन हार्मोनको मात्रा घटबढ हुन्छ, जसले भावनात्मक र शारीरिक परिवर्तन हुन्छ ।

निराशा रोग हो कि होइन भनेर कसरी छुट्टाउने ?

केही समस्याले वा नराम्रो घटनाका कारण दु:खी हुनु वा चिन्ता गर्नु स्वभाविक हो । यदि त्यो दु:ख लामो समयसम्म रहिरह्यो र त्यसले दैनिक जीवनमा प्रभाव पारेर पढाइ, काम र सम्बन्धलाई प्रभाव पारिरहेको छ भने त्यो रोग हो कि भनेर सचेत हुनुपर्छ ।

पैसाले मान्छेलाई सुखी बनाउने होइन

आजको समयमा पैसा मानव जीवनको अभिन्न पाटो बनेको छ । मान्छेको आधारभूत आवश्यकता पूरा नहुँदा पनि मान्छे दु:खी हुन्छन्, यो स्वभाविक पनि हो । तर पैसाले नै खुसी भने पक्कै निर्धारण गर्दैन । आजको समयमा पैसा मानव जीवनको अभिन्न पाटो बनेको छ । टन्न पैसा भएपछि खुसी भइन्छ, दु:ख हुँदैन भन्ने आम मान्यता छ । तर धेरै धनसम्पत्ति हुँदैमा मानिसहरू धेरै खुसी हुँदैन, पैसाले सम्पन्न भएका कतिपय व्यक्ति पनि दु:खी नै छन् ।

एउटा अनुसन्धानले के देखायो भने विश्वमा धेरैजसो बौध्दिक क्षमता (आईक्यू) दिमाग बढी तेज भएका व्यक्ति सबैभन्दा धनी रहेनछन्, उनीहरु आर्थिकरुपमा सम्पन्न भएपछि खुसीका अरु स्रोत खोज्दा रहेछन् । उनीहरूलाई थाहा हुन्छ कति मात्रामा पैसा जीवनमा आवश्यक पर्छ । पैसाको पछि लागेर पैसा भएपछि दु:ख हुँदैन सुख मात्र हुन्छ भन्ने कुरा गलत हो भन्ने कुरा उनीहरूलाई थाहा हुन्छ ।

आधारभूत आवश्यकता पूरा गर्न आवश्यक पर्ने पैसा त कमाउनैपर्‍यो । तर चाहिने भन्दा धेरै पैसा भएर खुसी मिल्ने भने होइन । जो गरिब हुन्छ उसलाई पैसा नभएकोमा दु:ख हुन्छ । जो धनी हुन्छ उसलाई धेरै सम्पत्ति छ, त्यसलाई जोगाउनुपर्छ, बढाउनुपर्छ भनेर दु:ख हुन्छ । त्यसैले पैसाले सम्पन्न हुँदैमा व्यक्ति दु:खी हुँदैन भन्ने हुँदैन ।

खुसी हुने तरिका

माथि गरिएका धेरै कुरा हामीले सुन्दै आएका छौं । तर जीवनमा यस कुराहरु भनेजस्तो पालना गर्न पक्कै सजिलो छैन । तर हामी साँच्चै खुसी र शान्ति चाहन्छौं भने आफूमा सकारात्मक परिवर्तन ल्याउन प्रयत्न गर्नुपर्छ । यदि हामीले खुसी हुन चाहन्छौं भने मनभित्रको विकार त्याग्नुपर्छ । नकारात्मक धारणा त्याग्नुपर्छ । रिस, राग, ईर्ष्या, लोभलाई त्याग्नुपर्छ, वशमा राख्नुपर्छ । यसले आफूलाई खान दिनुहुन्न र सकिन्छ भने त्याग्न प्रयत्न गर्नुपर्छ । जीवनमा कहिले दु:ख हुन्छ, कहिले सुख, यो अपरिहार्य हो । न सधैं सुख हामीसँग रहन्छ, न दु:खका चरणले नै जीवन बनेको हुन्छ । जहिले जीवन एउटै चरणमा रहँदैन, एउटापछि अर्को आउँछ आउँछ । जसले यो कुरा आत्मसात गर्छ ऊ यस दुवै चरणमा विचलित नभई अगाडि बढ्न सक्छ । त्यसैले जीवनमा आइपर्ने दु:खलाई कसरी सामना गर्ने भन्ने कुरा सिक्नुपर्छ ।

खासमा सुख भन्ने कुरा भौतिक कुराबाट प्राप्त हुने होइन । यद्यपि त्यो खुसीको माध्यम भने बन्न सक्छ । जब मानसिक विकार हटाएर सकारात्मक सोच, धारणाको विकास हुन्छ, खुसी आफैं प्राप्त हुन्छ । खुसी बाँड्नाले खुसी प्राप्त हुन्छ । त्यसैले सुखी जीवनको लागि आफ्नो जीवनशैली पनि परिवर्तन गर्नुपर्छ । स्वस्थ र सन्तुलित जीवनशैलीले हामीलाई दु:खी हुने अवस्थाबाट बचाउन मद्दत गर्छ । स्वस्थ जीवन र स्वस्थ मन नै खुसीको आधार हो । योग, व्यायाम, प्राणायाम ध्यान जस्ता कुराबाट पनि मनलाई शान्त र खुसी तुल्याउन सकिन्छ ।

नशा लाग्ने चीजहरुले तत्कालको सुखको अनुभूति दिए पनि दीर्घकालमा त्यसले हानि पुर्‍याउँछ । त्यसकारण यस्ता चीजबाट टाढा बस्नु नै राम्रो हुन्छ । यदि मानसिक रोगसम्बन्धी समस्या छ भने तत्काल विषेशज्ञको सल्लाह लिएमा समस्याको सुरुमै पहिचान भएर उपचार गर्न सकिन्छ ।अनलाइन खबरबाट

२०८० माघ २, मंगलवार प्रकाशित 1 Minute 177 Views

ताजा समाचार