२०८१ बैशाख १३ बिहीबार

आजकै दिन : नासामा पहिलो महिला अन्तरिक्ष यात्री

काठमाडौँ । सन् १९७८ मा आजकै दिन (जनवरी १३) अमेरिकी अन्तरिक्ष संस्था नासाले स्याली क्रिस्टेन राइडलाई पहिलो महिला अन्तरिक्ष यात्रीका रूपमा चयन गरेको थियो । एक विज्ञापनमार्फत आवेदन दिएका ८ हजार ७९ महिलामध्येबाट नासाले राइडलाई छनोट गरेको थियो । उनले सन् १९८३ को जुन १८ मा अन्तरिक्षको यात्रा गरेकी थिइन् ।

अन्तरिक्ष यात्रा गर्ने उनी पहिलो अमेरिकी महिला हुन्  भने विश्वकै तेस्रो। उनीभन्दा अघि दुई महिला भेलेन्टिना तेरोस्कोभा (रुस) १९६३ मा र श्वेतलाना सवित्सकाया १९८२ मा अन्तरिक्षमा पुगेका थिए ।

सन् १९५१ को मे २६ मा अमेरिकाको लस एन्जलसमा जन्मेकी राइडले स्टेनफोर्ड विश्वविद्यालयबाट भौतिक विज्ञानमा विद्यावारिधि गरेकी थिइन् । सन् १९७९ बाट तालिम लिन सुरु गरेकी उनी चार वर्षपछि अन्तरिक्षमा पुग्न सफल भएकी हुन् । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको ‘एसटीएस–७’ को मिसन स्पेसलिस्टका रूपमा उनी अन्तरिक्षमा गएकी हुन् । त्यतिबेला उनी ३२ वर्षकी मात्र थिइन् ।

क्यालिफोर्नियास्थित एडवार्ड एयरफोर्सको आधार क्षेत्रमा अवतरण गर्नुअघि एसटीएस–७ ले अन्तरिक्षमा १ सय ४७ घण्टा बिताएको थियो । राइडले सन् १९८४ मा प्रक्षेपण गरिएको ‘एसटीएस–४१–जी’ को पनि मिसन स्पेसलिस्ट थिइन् । उनको तेस्रो यात्रा भने ‘एसटीएस–६१–एम’ थियो । दुई पटकको यात्रापछि उनले सन् १९८७ मा नासा छाडिन् । त्यसपछि उनी स्टेनफोर्ड, सान डियागो लगायतका उत्कृष्ट अमेरिकी विश्वविद्यालयमा भौतिक विज्ञानको अध्यापन गरिन् ।

उनले आफ्नो अन्तरिक्ष यात्रा अनुभव समेटेर ‘टु स्पेस एन्ड ब्याक’ पुस्तक लेखेकी छन् । जेफर्सन अवार्ड र तीन पटक नेसनल स्पेस फ्लाइट मेडल विजेता राइड अमेरिकाको क्यालिफोर्नियास्थित सान डियागो विश्वविद्यालयमा भौतिक विज्ञानकी प्राध्यापक तथा क्यालिफोर्निया स्पेस इन्स्टिच्युटकी निर्देशक थिइन् । उनले सन् २०१२ को जुलाई २३ मा क्यान्सरका कारण ज्यान गुमाएकी थिइन् । कान्तिपुरबाट

२०७९ पुष २९, शुक्रबार प्रकाशित 0 Minutes 396 Views

ताजा समाचार