२०८१ बैशाख ११ मंगलवार

आज विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले शुक्रबार (आज) विश्वास मत लिने भएकोले त्यस बारेको जानकारी दुई दिन अघि नै प्रदेश सभालाई गराई सकेका छन् ।

बिहीबार प्रदेश १ सभामा सभामुख छनौटसँगै विश्वासको मत लिन लागेका हुन् । बिहीबारको प्रदेश सभाको बैठकबाट प्रदेश १ को सभामुखका बाबुराम गौतम निर्वाचित भएका छन् । नेकपा एमालेका ४० जना, नेकपा माओवादी केन्द्रको १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ जना र जनता समाजवादीको एकजना गरी ६० जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

९३ जना सदस्य रहेको प्रदेश १ सभामा विश्वासको मत प्राप्त गर्नका लागि ४७ जना भए पुग्नेछ । अहिलेसम्म नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएलगत्तै नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने जनाइएको छ ।

नेपालको संविधान २०७२ को धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । उनी संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सभामुखमा नेकपा माओवादीलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादीले सरकारलाई भने समर्थन गरिसकेको छैन । प्रदेश १ सभामा अहिलेसम्म नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी प्रतिपक्षमा देखिएका छन् ।

२०७९ पुष २९, शुक्रबार प्रकाशित 0 Minutes 423 Views

ताजा समाचार