२०८१ बैशाख २२ शनिबार

राष्ट्रिय सभामा आफ्नै उम्मेदवार उठाएको जनमत गएन सत्ता गठबन्धन बैठकमा

काठमाडौं । सत्ता गठबन्धन घटक जनमत पार्टी रूष्ट बन्न पुगेको छ। आइतबारको गठबन्धन बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी भएनन्।

राष्ट्रिय सभाको सिट बाँडफाँटमा असन्तुष्ट भएर बैठक चल्दाचल्दै बाहिरिएको जनमतले मधेस र लुम्बिनी प्रदेशमा आफ्नो उम्मेदवार उठाएको छ। ‘राष्ट्रिय पार्टीलाई सिट नदिएर आफैंआफैं बाँडेपछि हामी असन्तुष्ट भएका हौं,’ पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानले भने।

उनले लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा बालगोविन्द चौधरी र मधेश प्रदेशको अन्य क्लस्टरमा राशंकर  महासेठलाई उम्मेदवार बनाएको बताए। ‘हामीले उम्मेदवार उठाइसकेका छौं, निर्वाचनको तयारी पनि सुरू गरिसकेका छौं,’ उनले भने।

राष्ट्रिय सभामा भाग नदिएपछि असन्तुष्टि चुलिएको उनले बताए। ‘अरू नीतिगत कुरामा असन्तुष्टि छैन, राष्ट्रिय सभामा हामीलाई पनि सिट दिइनुपर्छ भनेका थियौं, सुनुवाइ भएन। त्यसैले उम्मेदवार उठायौं,’ उनले भने।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनले आफ्ना तर्फबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएकाहरूलाई मतदान गर्न अपिल गरेको छ। गठबन्धन दलको बैठकले गठबन्धनलाई संगठित र बलियो बनाउन साझा उम्मेदवारलाई जिताउनु आवश्यक रहेको निष्कर्ष निकालेको छ।

‘राष्ट्रिय सभा निर्वाचनका क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्छन्,’ अपिलमार्फत् भनेको थियो, ‘यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक  स्थायित्व थप  सुनिश्चित गर्ने अवसर पनि हो। तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ।’

गठबन्धनले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि आफूहरूले राजनीतिक गठबन्धन निर्माण गरेको जिकिर पनि गरेको छ। बैठकमा जनमत पार्टी सहभागी नभएकाले उसको हस्ताक्षर छैन।

जनमत पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ। पार्टीकी सांसद अतिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन्। सरकारमै सामेल जनमत सत्ता गठबन्धन बैठकमा भने नगएको हो।

सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी) ले २, जनता समाजवादी पार्टीले १ सिट भागबन्डा गरेर उम्मेदवार उठाएका छन्। आफूहरू राष्ट्रिय पार्टी भए पनि एक सिट पनि नदिइएको भन्दै जनमत सत्ता गठबन्धनका अन्य दलसँग असन्तुष्ट छ। सेतोपाटी

२०८० पुष २९, आईतवार प्रकाशित 1 Minute 70 Views

ताजा समाचार