२०८२ बैशाख १२ शुक्रबार

रामायण सर्किटले जोड्दैछ नेपाल-भारतको पर्यटन

झापा । सदियौंदेखिको नेपाल-भारत सम्बन्ध बहुआयामिक छ । देश फरक भए पनि धर्म, संस्कृति, रहनसहन, भेषभूषा, खानपान, भाषा, मनोरञ्जन, राजनीतिमा एकरुपता छ । दुई देशका जनताबीच पारिवारिक सम्बन्ध छ । जसलाई रोटीबेटीको नामले पुकारिन्छ । यी सम्बन्धहरुमा पछिल्लो समय नयाँ आयामहरु देखिएको छ । नेपाल-भारत सम्बन्धमा खासगरी धार्मिक र आर्थिक कुटनीतिकले महत्व पाएको देखिन्छ ।

राम-सीताको त्रेतायुगको वैवाहिक सम्बन्धले नै नेपाल-भारतबीच सांस्कृतिक सम्बन्धको प्रगाढता दर्शाउँछ । यी दुई देश अस्तित्वमा आउनुअघि नै दुई देशका जनताबीच सांस्कृतिक र सामाजिक सम्बन्ध रहीआएको छ । सनातन धर्म र संस्कृतिका नयाँ आयामहरु राजनीतिक सम्बन्धमा पनि देखिएको छ ।
पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणले धार्मिक-सांस्कृतिक पर्यटनलाई बढावा दिने र भारतबाट धेरैभन्दा धेरै पर्यटकहरुलाई नेपाल घुम्न तथा नेपालबाट धेरैभन्दा धेरै पर्यटकलाई भारत घुम्नका लागि प्रेरित गर्ने प्रयास भएको छ ।

विशेषगरी, रामायण सर्किट र बुद्ध सर्किट नेपाल र भारतबीचको प्राचीन सम्बन्धलाई आधुनिक कालमा जोड्ने सेतू हो । यी परियोजनाहरुले दुई देशबीचको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने र आर्थिक समृद्धिको ठूलो आधार तयार गर्ने अपेक्षा गरिएको छ । रामायण सर्किटमा भारतका अयोध्या, सीतामढी, चित्रकुट, जगदलपुर, नन्दीग्रामलगायत नेपालको जनकपुर (जहाँ सीताको जन्म भयो) पनि समावेश छ ।

अयोध्या नरेश भगवान् श्रीराम र मिथिलाकी राजकुमारी माता जानकीको जन्मस्थल क्रमशः भारतको अयोध्या र नेपालको जनकपुरधामसहित रामायण सर्किटको पर्यटन विकासका लागि दिल्लीबाट ‘भारत गौरव पर्यटक रेल’ करिब ६ सय भारतीय पर्यटक बोकेर आएको थियो । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरको उद्घाटन यही जनवरी २२ मा हुँदैछ ।

जनकपुरदेखि अयोध्यासम्मको बस सेवा सन् २०१८ देखि नै सुरु भएको थियो । त्यतिबेला नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा सीता माताको पूजा पनि गरेका थिए । ‘पूरै दुनियाँको पर्यटन तेज गतिमा बढिरहेको छ । हामी दुई देश मिलेर रामायण सर्किटको योजना अघि बढाइरहेका छौँ,’ मोदीले उक्त कार्यक्रममा भनेका थिए ।

भगवान् राम, जहाँ-जहाँ गएका थिए, त्यहाँसम्म यातायात सञ्जाल बिस्तार गर्ने भारतको योजना छ । जसअनुसार श्रीलंकामा पनि रामायण सर्किटलाई बिस्तार गर्ने योजना बनेको छ । यस्तो हुन सकेमा यो सर्किटले त्रिदेशीय पर्यटनको आधार तय गर्नेछ ।

रामायण सर्किटको विषयलाई प्रोत्साहन दिनुको अर्थ अरू धर्म/संस्कृतिलाई वेवास्ता गर्ने भन्ने नसम्झीकन बरु यो सर्किटको समयानुकूल उन्नति र प्रगतिको प्रेरणाले अरू धार्मिक/साँस्कृतिक पहिचानहरूलाई उत्प्रेरित गरोस् भन्ने पनि हो । नेपाल-भारतबीचको सम्बन्धलाई राजनीति एवम् कूटनीतिको आँखाले मात्र नहेरी यसलाई अरू व्यापक तुल्याएर समग्र देशको विकास एवम् उन्नतिमा जोडेर स्वीकार्य हुने गरी अघि बढ्ने मार्गदर्शनको रूपमा पनि हेर्न जरुरी छ ।

यसैगरी, बुद्ध सर्किट नेपाल र भारतबीचको पर्यटनलाई जोड्ने अर्को महत्वपूणर् योजना हो । यस सर्किटमा बौद्धमार्गीको आस्था जोडिएका विभिन्न ठाउँलाई जोड्ने लक्ष्य लिइएको छ । जसअन्तर्गत नेपालतर्फ लुम्बिनी, तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लीहवा, नमोबुद्ध, हलेसी, बौद्धनाथ, स्वयम्भू आदी क्षेत्र समेटिएको छ । त्यस्तै, लुम्बिनी र भारतका विभिन्न सहरबीच हवाई सम्पर्क बिस्तार गर्ने योजना पनि अघि बढिरहेको छ । यो सर्किट निर्माण हुन सकेमा भारतबाट ठूलो संख्यामा पर्यटकहरु नेपाल आउनसक्ने अनुमान गरिएको छ ।

१ अर्ब ३८ लाखभन्दा धेरै अर्थात् विश्वको दोस्रो ठूलो जनसंख्याको देश भारतसँगको कनेक्टिभिटी जति धेरै बिस्तार हुनेछ, त्यति नै भारतमा नेपालको प्रचार-प्रसार हुनेछ । र, भारतीय पर्यटकहरुको आगमन नेपालमा बढ्नेछ । त्यसैले यी परियोजनाहरुको निर्माण चाँडैभन्दा चाँडै सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ ।

२०८० पुष २६, बिहीबार प्रकाशित 1 Minute 645 Views

ताजा समाचार