२०८१ बैशाख २२ शनिबार

संघीय सरकारले कानुन नबनाउँदा प्रदेशको कामकारबाही फितलो: सिटौला

मोरङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आवश्यक पर्ने संरचनाका लागि संघीय सरकारले कानून नबनाइदिदाँ प्रदेश सरकारको कामकार्वाही फितलो भएको बताएका छन् ।

बुधबार विराटनगरमा आयोजित गठबन्धन उम्मेदवार भेटघाट तथा परिचयात्मक कार्यक्रममा राष्ट्रिय सभाका उम्मेद्वार सिटौलाले आवश्यक कानुनको अभावमा प्रदेश सरकार अल्मलमा परेको महसुस हुँदै आएको बताएका हुन्।

नेता सिटौलाका अनुसार संविधानले शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिए पनि हालसम्म संघीय सरकारलाई आवश्यक पर्ने संरचनाका लागि कानुन बनाएर नदिएकै कारण समस्या निम्तिदै गएको छ ।

उनले भने, ‘प्रदेश सरकार अहिले अलमलमा छ । संविधानले त संघीय, प्रदेश र स्थानीय सरकारको आ–आफ्नो जिम्मेवारी र कर्तत्व तोकेको छ । हालसम्म संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक पर्ने कानुन बनाएर दिन सकेको छैन । त्यही भएर हालसम्म प्रहरी समायोजन हुन सकेको छैन।’

मुलुकको लागि शान्ति प्रक्रियादेखि संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बताँउदै नेता सिटौलाले राष्ट्रियसभामा उपस्थित भएर कार्यान्वयनमा पनि भूमिका खेल्ने बताए। त्यसैगरि, कार्यक्रममा गठबन्धनकी साझा उम्मेदवारसमेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ चम्पादेवी कार्कीले लोकतन्त्र र गणतन्त्रका लागि ज्यानको प्रवाह नगरी आन्दोलनमा होमिएको बताइन् । नेतृ कार्कीले राष्ट्रिय सभा जस्तो गरिमामय स्थानमा उपस्थित हुने अवसर हासिल हुदाँ संविधान कार्यान्वयनमा इमान्दारिताका साथ लाग्ने उल्लेख गरिन् ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, भीम पराजुली, प्रदेश सभापति उद्धव थापा, मुख्यमन्त्री केदार कार्की, नेकपा एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य महेश रेग्मी, नेकपा माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, उपसभापति नागेश कोइरालालगायतको उपस्थिती रहेको थियो । त्यसैगरि, कार्यक्रममा प्रदेशसभा सदस्य, गठबन्धनका तर्फबाट प्रतिनिधित्व गर्ने मोरङका विराटनगर महानगरपालिकासहित विभिन्न पालिकाका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको थियो । देशसञ्चारबाट

२०८० पुष २५, बुधबार प्रकाशित 0 Minutes 64 Views

ताजा समाचार