२०८१ बैशाख १३ बिहीबार

टिकटक लाइभमा तास खेलाउने चार जना पक्राउ

टिकटक लाइभमा जुवा खेलाउने चार जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकबाट जुवा खेलाउने चार जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

दाङ घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर मध्यपुर ठिमी-१० बस्ने २७ वर्षीय कपिल गिरी, २१ वर्षीय प्रेम कठायत र २० वर्षीय डिल्लीराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरू सुरूमा टिकटकमा लाइभ आउँथे। लाइभमा अरूलाई पनि बोलाएर उनीहरूले तास खेलाउने गरेको हो।

उनीहरूले आफ्नो इसेवा लगायत अन्य डिजिटल वालेटमा रकम जम्मा गर्न लगाउने एसपी कोइरालाले बताए। यसरी हारजित हुने गरी तास खेलाइरहेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई उपत्यकाका विभिन्न स्‍थानबाट पक्राउ गरेको हो।

पछिल्लो समय टिकटकमा थुप्रैले यसरी जुवा खेलाइरहेका छन्।

उनीहरूमाथि मुलकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूलाई अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाएको छ।

प्रहरीको अनुसन्धानबाट ऋषि प्रकाश योगीले पब्जी र पब्जी २ नामक दुईवटा टिकटक आइडी बनाएका थिए। उनले यसरी एक महिना १० दिनदेखि जुवा खेलाइरहेको अनुसन्धानबाट खुलेको छ।

यसअवधिमा उनले २८ लाख ७३ हजार ३५४ रुपैयाँ बराबरको कारोबार गरेको पाएको छ।

यस्तै पोकर किङ नामक टिकटक आइडी खोलेर तीन वटा इसेवा वालेट पनि खोलेका थिए। उनले १० दिनमा १० लाख ५२ हजार ९६२ बराबरको रकम कारोबार गरेको देखिएको छ।

प्रेम र डिल्लीराजको आइडीबाट भने एक महिना ६ दिनको अवधिमा ९३ हजार २१४ रुपैयाँको कारोबार भएको छ। सेतोपाटी

२०७९ पुष २८, बिहीबार प्रकाशित 1 Minute 244 Views

ताजा समाचार