२०८१ बैशाख २२ शनिबार

कोशीबाट एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेकपा एमालेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

माघ ११ गते हुने निर्वाचनका लागि एमालेबाट ‘अन्य कोटा’ मा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् । अधिकारीको प्रस्तावकका प्रदेशसभा सदस्य सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन् । कोइरालाको प्रस्तावकमा रामप्रसाद मेहता र समर्थकमा शिला दीक्षित कार्की छन् ।

यसअघि सत्तारुढ गठबन्धनबाट कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महिलामा माओवादीका केन्द्रीय सदस्य ओखलढुंगाकी चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गरिसकेका छन् । फागुन २१ गते रिक्त हुने कांग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकोले सो पदमा निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ । प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ छ । एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

२०८० पुष २३, सोमबार प्रकाशित 0 Minutes 115 Views

ताजा समाचार