२०८३ असार १७ बुधबार

उम्मेदवारी दर्तापछि सिटौलालाई प्रश्न- राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्ने हो?

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

माघ ११ गते हुने चुनावका लागि सिटौलाले सोमबार विराटनगरमा पुगेर निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन्।

सिटौला सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन्।

उम्मेदवारी दर्तापछि पत्रकारहरूले सिटौलालाई राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्ने हो भन्ने प्रश्न गरेका थिए।

‘संसदमा पुगेपछि राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्ने र जनताको हितमा काम गर्ने र साझा दृष्टिकोण लिएर संसद अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो। मलाई पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर मलाई उम्मेदवार बनाएको छ,’ उनले भने।

उनले आफू पार्टीबाट सर्वसम्मत रूपमा उम्मेदवार भएको बताए।

सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्ष बनाउन बचन दिएको हो भन्ने प्रश्नमा सिटौलाले यसबारे अहिले चर्चा गर्न उचित नहुने बताए।

‘निर्वाचन परिणाम आएर राष्ट्रिय सभामा पुगेपछि यी प्रश्नको स्वभाविक रूपमा जवाफ आउँछ,’ सिटौलाले भने। उम्मेदवार चयनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेकोबारे सोधिएको प्रश्नमा आफू सबैसँग बिदा मागेर आइतबार साँझ नै विराटनगर हिँडेको र सबै कुरा बुझ्न नपाएको प्रतिक्रिया दिए।

‘जहाज नउडेर म गाडीमै आएको हुँ, बिहान विराटनगर आइपुगेको हुँ,’ उनले भने, ‘पार्टीभित्र के के भयो बुझ्न पाएको छैन।’ उनले सत्ता गठबन्धन र पार्टी एक भएर चुनावमा होमिने पनि बताए। सेतोपाटी

२०८० पुष २३, सोमबार प्रकाशित 0 Minutes 365 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।