२०८१ बैशाख २४ सोमबार

उमाको पक्राउले सिक्किममा तरङ्ग

काठमाडौँ । नेपाली भ्लगर उमा चाम्लिङ राईलाई सिक्किम प्रहरीले पक्राउ गरेर नेपाल फिर्ता पठाएपछि सिक्किममा ठुलो तरङ्ग निम्ताएको छ । यस घटनाले सिक्किममा हुन गइरहेको निर्वाचनअघि सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र विपक्षी सिक्किम डेमोक्राटिक फ्रन्ट (एसडीएफ) बिचको द्वन्द्व पनि छताछुल्ल भएको छ ।

फेसबुकमा १.१ लाख फलोअर्स भएकी उमालाई गत डिसेम्बर ३० मा पक्राउ गरिएको थियो । उनलाई साम्प्रदायिक द्वन्द्व बढाएको आरोपमा इन्डियन पेनल कोडको धारा १५३ए, १५३बी, ५०५(१) र ५०५(२) अन्तरगत मुद्दा दर्ता गरिएको थियो । ३० डिसेम्बरमा पश्चिम सिक्किमको लेगसिपमा आयोजना हुन गइरहेको राई समुदायको उँधौली सकेवा पर्वमा भाग लिन समुदायका मानिसहरूलाई आह्वान गरेको भिडियो पोस्ट गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

द टेलिग्राफ इन्डियाका अनुसार एसकेएममा प्रवक्ता ज्याकब खालिङले उक्त कार्यक्रमलाई एसडीएफको आयोजना भएको दाबी गरेका छन् । लेगसिप फेस्टिभलका आयोजकले यो आरोपलाई खण्डन गरेका छन् । एसकेएमका अध्यक्ष तथा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) डिसेम्बर २६ मा नाम्चीमा आयोजित अर्को उँधौली सकेवा कार्यक्रममा सहभागी भएका थिए ।

सोमबार आफ्नो फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै उमाले आफूलाई नेपाल फिर्ता पठाएको बारे जानकारी दिएकी छन् । उनले आफूलाई अनाहकमै पक्राउ गरिएको प्रति आक्रोश पनि पोखेकी छन् ।

उनले भनेकी छन्, ‘धन्यवाद सिक्किमको सरकारलाई मलाई नयाँ वर्षमा यति राम्रो उपहार दिनुभयो । हाम्रो नयाँ वर्ष आउन बाँकी छ । तैपनि हामी तपाईंको नयाँ वर्ष मान्छौँ । तपाईंहरु नेपाल आउँदा तपाईंहरुलाई सम्मान गर्छौँ । तर, तपाईंहरुले मलाई जीवनभर नबिर्सिने उपहार दिनुभयो । त्यसको लागि धेरै धन्यवाद । आफ्नो संस्कार संस्कृतिको बारेमा बोल्दा तपाईंहरुले मलाई जेलसम्म लग्नुभयो । त्यतिमात्र होइन, अन्धाधुन्धमा जेलमा राखेर कसैसँग बोल्नु दिनुभएन, यति धेरै टर्चर दिनुभयो । मर्डर गरेर आएका, चोरेर आएकाहरूलाई दिइने टर्चर मलाई दिइयो । घरसँग कुरा गर्छु, खबर गर्छुभन्दा पनि दिनुभएन । ठिकै छ ।’

उता सिक्किम प्रहरीले भने उमाविरुद्ध उजुरी परेपछि र उनको ‘व्यक्तिगत सुरक्षामाथि खतरा’ रहेको सूचना पाएपछि हिरासतमा राखेको बताएको छ । अदालतले उमालाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिए पनि उनलाई आइतबार नेपाल फिर्ता पठाइएको थियो । ‘हामी अदालतसामु उनलाई पक्राउ गरिएको र फिर्ता पठाएको बारेको रिपोर्ट प्रस्तुत गर्ने छौँ,’ एक प्रहरी अधिकारीले भने ।

यता पवन चाम्लिङ नेतृत्वको एसडीएफले उमालाई पक्राउ गरिएकोमा सिक्किम सरकारको आलोचना गरेको छ । ‘उमाको पक्राउले वर्तमान सरकारको निराशा देखाउँछ । उनीहरूको यस कार्यले प्रशासन नै अलमलमा रहेको प्रमाणित गर्दछ,’ एसडीएफका शीर्ष उपाध्यक्ष छिरिङ वाङ्दी लेप्चाले भने ।

यता एसकेएमले एसडीएफले नै उमालाई साम्प्रदायिक द्वन्द्व सिर्जना गर्ने अनलाइन कन्टेन्ट तयार गर्न उक्साएको आरोप लगाएको छ । ‘एसडीएफले कालिम्पोङमा जुन ९–११ सम्म र मे ५–७ सम्म बताबरी दुआर्समा तीन दिवसीय बन्द सेमिनार आयोजना गरेको थियो । उमालाई निर्देशित गर्ने व्यक्तिहरू त्यही सेमिनारमा सहभागी भएका थिए,’ एसकेएमको दाबी छ ।

विश्लेषकहरूले उमा पक्राउ प्रकरणमा देखिएको विवादले आगामी निर्वाचनमा दुई पक्षबिचको कडा प्रतिस्पर्धालाई सङ्केत गर्ने बताएका छन् । सन् २०१९ को निर्वाचनमा गोलेले चाम्लिङको २५ वर्षे शासनको अन्त्य गरेका थिए । उनको पार्टीले ३२ मध्ये १७ सिट जितेको थियो । चाम्लिङ यो वर्ष कम्ब्याकको प्रयासमा रहेका छन् । रातोपाटीबाट

२०८० पुष १७, मंगलवार प्रकाशित 0 Minutes 168 Views

ताजा समाचार