२०८१ जेष्ठ ५ शनिबार

‘गाली गरेर मात्र देश बन्दैन, समन्वय गरेर देश बन्छ’ : महामन्त्री शर्मा

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउने चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।
नेपाली काँग्रेस जिल्ला संगठन शाखा भक्तपुरले आज आयोजना गरेको ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले आउने चुनावको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न आग्रह गरे । उनले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताए।

चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनी विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र चारपटकसम्म मात्र सांसद बन्न पाउने व्यवस्था जरुरी रहेको बताए।
प्रकृति र संस्कृतिको सुन्दर देश नेपाल कहिल्यै बन्न सक्दैन भन्ने मानसिकताबाट मुक्त हुन जरुरी रहेको बताउँदै देश बनाउन राजनीतिक दल र नागरिक जाग्नुपर्ने उल्लेख गरे ।

संविधान सहमतिको साझा दस्ताबेज भएको बताउँदै दलहरुबीचको सहकार्यले शान्ति प्रकृयाका बाँकी काम पूरा गरी संविधान प्रति अपनत्वको दायरा बढाउँदै सम्मुन्नतिको यात्रामा लम्कनुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले ठुलो जनसंख्याका कारण नेपाली बिदेश जाने अबस्थालाई रोक्ने र बिदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अवस्था नरहेको बताउँदै बरु वैदेशिक राजगारीको मर्यादा अभिवृद्धि गर्नुपर्ने उनको भनाई थियो ।

पार्टीका संस्थापक नेता बीपी कोइरालालाई एमाले,माओवादी केन्द्रले मात्र होइन स्वयं नेपाली कांग्रेसले समेत चिन्न र बुझ्न ढिलाइ गरेको बताए ।
बीपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उनले बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अहिले पनि उत्तिकै अपरिहार्य रहेको उल्लेख गरे ।

महामन्त्री शर्माले देशमा केही नभएको हल्ला गरे पनि विकास भइरहेको बताउँदै देश विकासका लागि अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने बताए ।उनले भने ,‘गाली गरेर मात्र देश बन्दैन, समन्वय गरेर देश बन्छ ’ ।

२०८० पुष १६, सोमबार प्रकाशित 0 Minutes 97 Views

ताजा समाचार