२०८१ जेष्ठ ६ आईतवार

प्लेन डिले हुँदा गगन आएनन्, शेखरलाई बोलाइएन, सम्मेलनमा विश्वप्रकाशले गरे सिंहदरबार घेर्ने कुरा

शनिबार नेपाली कांग्रेसको वागमती प्रदेश सम्मेलनमा वरीयताको लफडा भएन । वरीयताको लडाइँका कारण मञ्च सेयर गर्न नमानेका उपसभापति पूर्णबहादुर खड्का र शेखर कोइराला वागमती सम्मेलनमा थिएनन् । शेखरलाई सम्मेलनको निम्ता नै थिएन भने खड्का सुर्खेतबाट काठमाडौं फर्किएनन् ।

सम्मेलनमा संस्थापत र इतर समूहबीच घाेचपेच भने भयाे । लडाइँ भाषणबाजीबाट प्रस्ट देखिन्थ्यो । सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप जरुरी रहेको बताए । पार्टीमा पूर्ण रूपमा मेलमिलाप हुन नसकेको सभापति शेरबहादुर देउवाले स्वीकार गरे । ‘हारजित हुन्छ । जित्नेले पनि सधैँ जित्ने होइन । हार्नेले पनि सधैँ हार्ने होइन । पूर्ण रूपमा मेलमिलाप हुन सकेको छैन,’ सभापति देउवाले भने ।

प्लेन नउड्दा गगन थापा आउन पाएनन् 

महामन्त्री गगन थापाको गृहजिल्ला र क्षेत्रमा भएको कार्यक्रममा उनी नै आउन पाएनन् । विराटनगरमा रहेका महामन्त्री थापाको प्लेन डिले भयो । बुद्ध एयरको प्लेनमार्फत उनी काठमाडौं आउने तालिका थियो । मध्याह्नको तालिका भए पनि त्यसअघिको टिकट लिएर आउन तयार थिए । तर फ्लाइट भएन र महामन्त्री काठमाडौं आउन पाएनन् ।

संघीयता कार्यान्यन गर्न अधिकार देउ

प्रदेश सभापतिहरूले प्रदेशलाई अधिकार नदिएका कारण संघीयतामाथि प्रश्नहरू उठिरहेको बताए । ‘प्रदेशका मुख्यमन्त्री कहाँ डेलिगेशन जानुपर्ने अवस्था छ । प्रदेश हतियार बिनाको सेनाजस्तो भएको छ । न प्रहरी न कर्मचारी र शिक्षा क्षेत्रको अधिकार आएको छ,’ वागमती प्रदेश सभापति इन्द्र बानियाँले भने ।

त्यस्तै, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि संविधानले परिकल्पना गरेको जस्तो संघीयता कार्यान्वयनमा नभएको बताए ।

मधेश प्रदेश सभापति कृष्ण यादवले प्रदेशको अधिकार पाउन सिंहदरबार घेर्ने चेतानी दिए । प्रदेशलाई अधिकार दिने कानुन नबन्दा संघीयतामाथि प्रश्न उठेको उनले बताए । ‘८ वर्ष भैसक्यो कानुन छैन । मधेश प्रदेशले आन्दोलनका लागि अल्टिमेटम दिएको छ । अब प्रदेशको अधिकारका लागि आन्दोलन गर्छौं । सिंहदरबार घेर्छाैं । तपाईं हामी एक भएर सिंहदरबार घेर्नुपर्छ र अधिकार ल्याउनुपर्छ,’ प्रदेश मन्त्री समेत रहेको यादवले भने ।

अनि विश्वप्रकाश शर्माले भने सिंहदरवार घेर्न आउँछौं 

कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले सिंहदरबार घेर्ने चेतावनी दिए । ‘आज प्रधानमन्त्रीजीलाई म यहीँबाट, नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदै गर्दा प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमिति बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरूसँगै उपस्थित हुनेछौं’, उनले भने ।

इतर समूहका नेता शेखलाई नबोलाए पनि मञ्चमा असन्तुष्टि नहोस् भनेर सबै केन्द्रीय सदसय, संघीय मन्त्री प्रदेश सदस्य र प्रदेश मन्त्रीहरूलाई बोलाइएको थियो । सभापति शेरबहादुर देउवा प्रमुख अतिथि बनाइँदा विशिष्ट अतथि पूर्व उपसभापति प्रकाशमान श्रेष्ठलाई बनाइएको थियो ।

मञ्चमा संस्थापन इतर समूहका नेता शेखरलाई नबोलाइए पनि इतर समूहका नेताहरूको भाषण गर्ने सूची बढी थियो । इतर समूहका नेता अर्जुननरसिंह केसी र वागमती प्रदेश सभापतिमा पराजित जगदिश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतमलगायतलाई भाषणा गर्ने मौका दिइयो । प्रदेश सभापतिहरू पुन र शर्मा इतर समूहका हुन् । त्यस्तै, नेता प्रदीप पौडेलले नेतृत्वको बारेमा चर्को आलोचना गरे ।

प्रवक्ता डा प्रकाशशरण महत, पूर्व उपसभापति श्रेष्ठ, सदूरपश्चिम सभापति बीरबहादुर बलायर लगायतले भाषणा गरेका थिए । शिलापत्रबाट

२०८० पुष ७, शनिबार प्रकाशित 1 Minute 131 Views

ताजा समाचार