२०८१ जेष्ठ ६ आईतवार

लुम्बिनीमा संस्कृति उजागर

झापा । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको आयोजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनेको छ । सो महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

बौद्ध धर्मलाई केन्द्रमा राखी नेपाल-भारतको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परालाई सो महोत्सवमा देखाइएको छ । महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरूले तयार पारेको ‘स्यान्ड मण्डला’ चित्रकला प्रदर्शनी रहेको थियो । स्यान्ड मण्डला चित्र एक परम्परागत बौद्ध कला हो, जसमा रंगीन बालुवाको प्रयोग गरी जटिल डिजाइनहरू सिर्जना गरिन्छ । प्रदर्शनीमा भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरूको सीप र शिल्पकारिता प्रस्तुत गरिएको थियो ।

महोत्सवमा प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्बिरमा आधारित फोटो प्रदर्शनी, नेपाल-भारतको परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र सांस्कृतिक कार्यक्रम रहेको थियो । महोत्सवमा बौद्ध सम्पदास्थलका आकर्षक तस्बिर समेटिएको फोटो प्रदर्शनीलाई पनि समावेश गरिएको थियो । सो फोटो प्रदर्शनीमा प्राचीन कालदेखि अहिलेसम्मका बौद्ध धर्मसँग सम्बन्धित स्मारक र कला सम्पदाबारे विस्तृत जानकारी दिइएको छ ।

महोत्सवमा भारतको लेहस्थित थिक्से मठका कलाकारहरूको चाम नृत्य, दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरूको भरत नाट्यम, स्थानीय कलाकारहरूको थारु नाच र नेपालको सुकर्म ब्यान्डले प्रस्तुत गरेको सितार वादनसहितको सांस्कृतिक कार्यक्रमले थप रोचकता थपेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा महोत्सवकै एक हिस्साको रूपमा ‘सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव अन्वेषण’ शीर्षकको एक शैक्षिक गोष्ठीको पनि आयोजना गरिएको थियो । अब हरेक वर्ष लुम्बिनीमा यो खालका महोत्सव आयोजना गर्ने विषयमा पनि छलफल भएको छ ।

यस्ता महोत्सवले साझा सम्पदा, परम्परा र संस्कृति मनाउन भारत र नेपालका मानिसहरूलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने विश्वास समेत लिइएको छ । महोत्सवले दुई देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई पनि उजागर गरेको छ ।

भारतीय दुतावसले लुम्बिनीमा गरेको सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाढ र पर्यटकीय हिसाबले महत्वपूणर् बनेको छ । लुम्बिनीको पर्यटनमा साँस्कृतिक कार्यक्रमले एउटा इँटा थप पनि गरेको छ । जसरी रामको मात्रै कुरा गर्दा भारत अपुरो हुन्छ, सीताको मात्रै कुरा गर्दा नेपाल अपुरो हुन्छ । बुद्ध जन्मस्थल लुम्बिनीको मात्रै कुरा गर्दा नेपाल अपुरो हुन्छ, महापरिनिर्वाणा र ज्ञान प्राप्तिको मात्रै कुरा गर्दा भारत अपुरो हुन्छ । भारतको काशी नपुग्दा नेपालीहरुको तीर्थयात्रा अधुरो र भारतीयहरु पशुपतिनाथ र मुक्तिनाथ नआउँदा अधुरो हुने गरेको छ ।

दुई देशका जनतामा साझा सम्पदा र विरासतको स्वामित्व र स्वामित्वको ठूलो भावना रहिआएको छ । समान व्यवहारको एक चिन्हको रूपमा, नेपाली सैनिक र अधिकारीहरूले उनीहरूका भारतीय समकक्षहरूले जस्तै पेन्सन प्राप्त गर्छन् । नेपालले प्रत्येक वर्ष भारतबाट ठूलो मात्रामा रेमिट्यान्स र पेन्सन प्राप्त गर्छ ।
खासगरी नेपालको समग्र विकासमा यी दुई देशबीच सहकार्यको अनन्त गाथा छ । अहिलेको भारत २० औं शताब्दीको भारतभन्दा धेरै सक्षम भएकाले सहयोग बढ्ने सम्भावना अझ छ । नेपालले छोटो अवधिमा मध्यम आय भएको र दीर्घकालमा उच्च आय भएको मुलुकको रूपमा भविष्य हेर्दा दुई देशबीचको पूरकता र सहकार्य विगतको तुलनामा आज धेरै सान्दर्भिक छ ।

२०८० पुष ५, बिहीबार प्रकाशित 1 Minute 312 Views

ताजा समाचार