झापा, ५ पुस । नेपाल-भारतको पूर्वी सीमा मेची नदीको दशगजा क्षेत्रबाट भारतीय पक्षले खुलेआम रुपमा निर्माण सामग्रीको दोहान गरिरहेको छ । दशगजा क्षेत्रमा कुनै पनि देशले कुनै पनि संरचना निर्माण तथा अन्य गतिविधि गर्न नपाईने प्रावधान मिचेर भारतीय पक्षले मनपरी गरिरहँदा नेपाली पक्ष भने मौन देखिन्छ ।
दशगजा क्षेत्रको नेपाली भूभागबाट भारतीय निर्माण व्यवसायीहरुले दिनहुँजसो ढुंगा, गिटी , बालुवा निकालेर खोला दोहन गर्दा पनि नेपाली पक्ष बेखवर रहेको स्थानीयबासीको आरोप छ । मेची पुलको आसपासको क्षेत्रबाट दैनिक सयौं ट्रक बालुवा, गिटी निकाल्दा पुल पनि खतरामा परेको छ ।
अन्तर्राष्ट्रिय कानुनले समेत प्रतिवन्धित गरेको भूभागबाट भारतले सीमा सुरक्षा बल एसएसपीको क्याम्प खडा गरेर दैनिक हजारौँ ट्रक निर्माण सामग्री पश्चिम बंगालको विभिन्न निर्माणस्थलहरुमा लगिरहेको छ । नेपाली भूभागमा पसेर भारतीय पक्षले प्राकृतिक स्रोत दोहन गर्दा पनि नेपाली प्रशासन तथा राजनीतिक दलहरुले देखाएको मौनता आपत्तिजनक रहेको सर्वसाधारण बताउँछन् । ‘खोला खोतलेर दैनिक मनपरी चलिरहेको छ’, स्थानीयबासी राम मण्डलले भने ‘तर, नेपाली पक्ष भने चुप लागेर बसेको छ ।’ अरु त अरु सीमाको रक्षाको जिम्मेवारी पाएको प्रहरी प्रशासन पनि बेखबर झैँ छ । भारतीय पक्षले ढुंगा बालुवा, गिटी उत्खनन् गर्ने क्रममा दर्जनौँ सीमा स्तम्भहरु हराएका छन्, पुरिएका छन् । सीमा क्षेत्रका भूभागका नेपाली किसानले मेची नदीको पानी समेत सिञ्चाई गर्न पाएका छैनन् । आफ्नै भूभागबाट बग्ने मेची नदीको पानी ल्याउन समेत भारतीय पक्षले पटक-पटक अवरोध गर्दा किसान पीडामा छन् ।
भारतीय पक्षले खुलेआम नेपाली भूभागमा आएर डोजर प्रयोग गरेर उत्खनन् गर्दा खोलाको भूभाग १५ देखि २० फिट गहिरिए पछि खेती योग्य जमिन खण्डर बन्दै गएको छ । यसरी उत्खनन्कै क्रममा गहिरिएपछि केही वर्ष अघि मेची नदीको किनारमा खेल्न गएका बालकहरुमध्ये मेचीनगरकी एक बालिकाको डुबेर मृत्यु भयो । पीडित पक्षले स्थानीय प्रशासनलाई भारतले गरेको गलत कार्यले आफ्नी छोरी गुमाएको पीडा पोख्यो । प्रशासनले सुनेको नसुन्यै गरेको उनीहरुको भनाई छ ।
पूर्वी सीमा झापासँग ११८ किलोमिटर सीमा जोडिएको छ । यस क्षेत्रमा भारतीय पक्षले दर्जनौ सीमा सुरक्षा बलको क्याम्प खडा गरेको छ । भारतीय निर्माण व्यवसायीहरुले तिनै सुरक्षाकर्मीको आडमा नेपाली भूभागबाट मनपरी निर्माण सामग्री निकालिरहेका छन् ।
यसबारे जिल्ला प्रशासन कार्यालय समेत बेखबर रहेको छ । ‘यसबारे हामीलाई जानकारी छैन’, ‘यदि त्यसो भइरहेको छ भने अनुगमन गरेर भारतीय समकक्षीहरुसँग छलफल गरि समाधान खोजिने जिल्ला प्रशासन कार्यालय झापाको भनाई छ ।’ भारतीय पक्षले बाह्रै महिना सिमावर्ती मेची नदिबाट निमाणर् सामाग्री लगिरहेको छ तर नेपाल पक्ष भने कानुनी प्रकृया देखाएर निमाणर् सामाग्री बन्द गराएको छ । जसका कारण ठूलो मात्रामा राज्यको अर्थतन्त्रमा धक्का पुगेको छ भने सेवाग्राही मारमा छन् ।