२०८१ जेष्ठ ३ बिहीबार

इन्डियन आइडलमा धुम मच्चाइरहेकी मेनुका पौडेल यसकारण मिडियादेखि डराउँछिन्

इन्डियन आइडलमा यतिबेला धुम मच्चाइरहेकी नेपाली चेली मेनुका पौडेलको घरको रिपोर्टिङ गर्न केही दिनअघि झापाका पत्रकारहरुको एक टोली हल्दिवारी पुग्यो । हल्दिवारी वडा नं ४ बडावारीमा वडा कार्यालयकै पछाडिपट्टि रहेको मेनुकाको घरमा पत्रकारहरु पुग्दा उनीहरुलाई घरको तस्वीर खिच्न दिइएन । त्योसंगै पत्रकारहरुसंग कोही पनि बोल्नसमेत मानेनन् । परिवारका सदस्य तथा छरछिमेकहरु बोल्न नमिल्ने भन्दै पछि हटे ।

यसरी स्थानीय क्षेत्रकै कलाकार मेनुकाको बारेमा स्थलगत रिपोर्टिङ गर्न जाँदा खाली हात फर्केका पत्रकारहरुलाई नमज्जा त लाग्यो होला तर, रिपोर्टिङ गर्न नदिनुको कारण अर्कै छ । चर्चित इन्डियन शोमा नेपालकी मेनुकाले प्रतिष्पर्धा गरेको यो दोस्रो पटक हो । यसअघि उनले सारेगमपमा भाग लिएकी थिइन् । तर, उनी नेपाल आइडलजस्तै सारेगमपमा पनि टप ११ भन्दा अगाडि बढ्न सकिनन् । अहिलेको इन्डियन आइडलको जस्तै दमदार प्रस्तुती दिएपनि सारेगमपमा उनको सांगीतिक यात्रा टप ११ मै ब्रेक लाग्यो ।

एउटा कारण थियो –मिडियाको गलत प्रचारवाजी । भारतको त्यो चर्चित रियालिटी शो सारेगमपमा मेनुका सन् २०१८ मा सहभागी भएकी थिइन् । उनको गायन क्षमता उत्कृष्ट भएकै कारण उनले त्यस प्रतियोगितामा आफ्नो क्षमताले नै नेपाली गुडिया उपनाम पाइन् । तर, उनी क्षमताअनुसार अगाडि बढ्न सकिनन् । त्यस प्रतियोगितामा नेपालीहरुले अनावश्यक राष्ट्रवाद जोडेका कारण उनलाई अगाडि बढ्न समस्या भयो ।

‘भारतविरोधी नेपाली राष्ट्रवाद भएका नकारात्मक भिडियो प्रसारण हुँदा मेनुकाको चरित्रमा प्रश्न उठ्यो । निर्माण पक्षले यस्ता कुरालाई ध्यानमा राखेर अगाडि बढाउने कि नबढाउने निर्णय गर्दोरहेछ । यसले गर्दा क्षमता अनुसार अगाडि बढ्न नपाउने नेपालीकै लागि दुःखको कुरा भयो ’मेनुकालाई अध्यापन गराउने दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक खिलप्रसाद शिवाकोटी त्यसबेलाको घटना संझे । त्यसबेला केही संचारमाध्यमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग बदला लिन मेनुकाले सारेगमप प्रतियोगितामा भाग लिएको भनेर गलत प्रचारसमेत गरेका थिए ।

त्यही भएर आफू र आफ्नो परिवारले मिडियासंग बोल्न सजगता अपनाएको मेनुकाले बताइन् । ‘राम्रा कुरासंगै नराम्रो कुराहरु मिडियाले भनिदिँदा फेरि अप्ठ्यारो पर्न सक्छ ’ टेलिफोन सम्पर्कमा उनले भनिन् ,‘ भारतमा त मिडियाले नराम्रो भिडियो हाले सिधै ब्लक गराइन्छ ।’ उनले इन्डियन आइडलमा कडा प्रतिष्पर्धा चलिरहेकाले सकारात्मक भएर सहयोग गर्न सबैलाई आव्हान गरेकी छन् । भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । १ अर्ब ४२ करोड ८६ लाख जनसंख्या भएको भारतमा प्रतिभासंगै भोटिङको आधारमा प्रतियोगिताको शिखरमा पुग्नु जोसुकै नेपाली कलाकारका लागि चुनौतीको विषय हो । त्यसो त, अर्की लता मंगेश्कर भनेर प्रशंसा पाइरहेकी विलक्षण प्रतिभाकी धनी मेनुकालाई भारतीय नागरिकहरुले अगाध माया दिइरहेका छन् । त्यही माया पाएर उनी उपाधि नजिक पुग्न लागेकी छन् ।

‘कलामा कुनै सीमा, देश, धर्म, जात, लिङ्ग हुँदैन’ भन्ने भनाइ मेनुकाले आत्मसात् गरेको उनलाई सानैदेखि चिनेका र बुझेका कृष्णसागर अंग्रेजी विद्यालय जलथलका संस्थापक योगेश कार्कीले बताए । कार्कीका अनुसार भारतको प्रतिष्ठित गायन रियालिटी शो इन्डियन आइडलमा मेनुकाले आफ्नो कलाले भारतीय दर्शक र कलाकारको मन जितेकी छन् । ‘नेपाली चेलीका लागि आफ्नो कला विश्वव्यापीकरण गर्ने मौका हो, यसलाई गुमाउन दिनु हुँदैन ’उनले भने ।

२०८० पुष ३, मंगलवार प्रकाशित 0 Minutes 179 Views

ताजा समाचार