झापा । कच्चा पदार्थ अभावमा नेपालको सबैभन्दा ठूलो पान मसला उद्योगको उत्पादन दुई हप्तादेखि ठप्प भएको छ । मुख्य कच्चा पदार्थ सुपारी नहुँदा रुपन्देहीको बुटवलस्थित श्रीराम टोबाको बन्द भएको हो ।
श्रीराम टोबाकोले ‘करेन्ट’ र ‘भोला’ ब्रान्डमा जर्दासहितको पान मसलाको उत्पादन गरिरहेको छ । उद्योगका सञ्चालक चुन्नुप्रसाद पौडेलले कच्चा पदार्थ नहुँदा विगत १५ दिनदेखि उत्पादन अवरुद्ध भएको जानकारी दिए । सञ्चालक पौडेलका अनुसार उद्योगका लागि मुख्य कच्चा पदार्थ सुपारी हो । उद्योगलाई दैनिक १५ देखि २० टन सुपारी चाहिने उनको भनाइ छ ।
तर, कच्चा पदार्थको गोदाममा एक दाना पनि सुपारी नभएपछि उद्योग बन्द गर्न बाध्य हुनुपरेको हो । पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि उद्योगलाई सुपारीको कोटा दिन ढिला गरेको आरोप लगाए । ‘हामीले साउन महिनाभित्रै कोटा पाइसक्नुपर्ने थियो,’ पौडेलले भने, ‘तर वाणिज्य विभागबाट कात्तिकको मध्यमा मात्र कोटा प्राप्त भयो । यसका कारण सुपारीको प्रतीतपत्र खोलेर आयात गर्न समय लाग्यो ।’
उनले इन्डोनेसियाबाट सुपारीको सिपमेन्ट भइसकेको र उद्योग परिसरमा आइपुग्न अझै कम्तीमा २ हप्ता लाग्ने जानकारी दिए । उनको भनाइ छ, ‘तर अझै २ हप्ता उद्योग बन्द गर्नुपर्दा ठूलो घाटा बेहोर्नुपर्ने भएको छ । हामीले साउनको पहिलो हप्तामै सुपारीको आयातका लागि अनुमति पाएको भए यो अवस्था उत्पन्न हुँदैनथ्यो ।’
नेपाल सरकारले लामो समयदेखि सुपारीको आयातमा परिमाणात्मक बन्देज लगाउँदै आएको छ । अर्थमन्त्रीमा डा. युवराज खतिवडा हुँदा यस्तो निणर्य गरिएको थियो । सरकारले गत आर्थिक वर्षदेखि पान मसालाका उद्योगलाई खपतका आधारमा सुपारीको आयातका लागि अनुमति दिन थालेको हो । सुपारीको आयातमा भन्सार विन्दुमा प्रतिकिलो भन्सार महसुल १ सय, अन्तःशुल्क १ सय र भ्याट तिर्नुपर्छ ।
अर्कातिर झापाका सुपारी किसानका अगुवा भने सुपारीको निर्यात खोल्न सरकार र संघीय संसदमा कसिलो लबिइङ गरिरहेका छन् । तर, झापाका किसानले नेपालका पान मसालाका उद्योगलाई सुपारीको विक्री गरिरहेका छैनन् । उद्योगी पौडेलले भने, ‘हामीले झापामा सुपारीको खरिद गर्न धेरै प्रयास गर्यौँ तर सकेनौँ । बाध्य भएर आयात नै गर्नुपरेको छ । झापाका किसानले हामीलाई विक्री गर्नुभएमा हामी खरिद गर्ने थियौँ ।’
पान मसालाका उद्योगले सरकारलाई राजस्व पनि ठुलो मात्रामा बुझाउने गरेका छन् । उद्योग बन्द हुँदा लगानीकर्ता, बजार, श्रमिक, राजस्व लगायतका धेरै पक्षमा असर परेको पौडेलको भनाइ छ । गजनी ब्रान्डमा पान मसलाको उत्पादन गरिरहेको विराटनगरको गणपति प्रोडक्ट्सले पनि कच्चा पदार्थका अभावमा उद्योग बन्द भएको जनाएको छ ।
‘वाणिज्य विभागले गत आर्थिक वर्षमा हामीलाई आर्थिक वर्ष सकिने बेलामा मात्र सुपारीको आयातका लागि अनुमतिपत्र दियो’, उद्योगका सञ्चालक महानन्द सापकोटाले भने, ‘त्यो अनुमतिपत्र बोकेर हामी भन्सार कार्यालय गयौँ । कार्यालयका प्रमुखले अनुमतिपत्रको सुपारी असार मसान्तभित्र भन्सार परिसरमा आइसक्नुपर्ने अन्यथा जाँचपास नहुने बताउनुभयो । जेठको २० मा हामीले अनुमतिपत्र पाएका थियौँ । असार मसान्तभित्र भन्सार परिसरमा सुपारी ल्याइसक्ने अवस्था देखेनौँ । त्यसैले सुपारीको आयात नै गरेनौँ र स्थानीय बजारको महँगो सुपारी खरिद गरेर उद्योग चलायौँ ।’
सञ्चालक सापकोटाले थपे, ‘चालु आर्थिक वर्षमा सुपारीको आयातको अनुमतिपत्र माग्न हामी वाणिज्य विभाग गयौँ । तर, गत आर्थिक वर्षमा आयात नभएको भन्दै अहिलेसम्म विभागले अनुमतिपत्र दिएको छैन । अहिले स्थानीय बजारमा पनि सुपारी छैन । यसका कारण उद्योग नै बन्द गरेर राख्नुपरेको छ । यस्तो छ हालत, नेपालमा उद्योग गर्ने अवस्था कहाँ छ ?’