२०८१ बैशाख ८ शनिबार

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ? विश्वप्रकाशले मागे सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत ‘दिन हुने वा दिन नहुने’बारे सुझाव मागेका छन् । पार्टीका आन्तरिक मेसेज ग्रुपहरूमार्फत सांसदसमेत रहेका शर्माले सोमबार साँझ पार्टीका विभिन्न समितिमा आबद्ध नेताकार्यकर्ताहरूसँग सुझाव मागेका हुन् ।

“भोलि पुस २६ गते प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम छ l हाम्रो पार्टीको संसदीय दलको भोलि बिहान ९ बजे बस्ने बैठकबाट यसबारेमा निर्णय लिनुछ l त्यसअघि पार्टी पदाधिकारी बैठक बस्दै छ l ‘विश्वासको मत’बारे तपाईंको व्यक्तिगत राय/अथवा तपाईं आबद्ध समितिका साथीहरूको धारणा तत्कालै पठाउन यो म्यासेज गरेको छु,” उनले भनेका छन् ।

उनले ‘प्रचण्डलाई विश्वासको मत दिनु उचित हुन्छ या हुन्न ?’, ‘दिनुपर्छ तर्क के/दिनुहुन्न तर्क के ?,’ ‘दिँदा र नदिँदामध्ये देश, लोकतन्त्र र कांग्रेसका लागि के उचित ?’जस्ता प्रश्न गरेका छन् ।

साथै उनले धेरैको धारणा बुझेर निर्णयमा पुग्दा बढी लोकतान्त्रिक हुने भएकाले सुझाव मागिएको बताएका छन् ।

कांग्रेसले सरकालाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गरिसकेको छैन । सोमबार साँझ मात्र प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भोलिको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन् ।

२०७९ पुष २५, सोमबार प्रकाशित 1 Minute 243 Views

ताजा समाचार