२०८० मंसिर १६ शनिबार

प्रदेश १ : मन्त्रालयको संख्या १३ बाट ९ मा घटाइयो

यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राईले ७ बाट बढाएर मन्त्रालयको संख्या १३ पुर्‍याएका थिए ।

बिराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को निणर्यले मन्त्रालयको संख्या घटाएर ९ वटा कायम गर्ने निणर्य गरेको छ । बिनाविभागीयमन्त्री भक्तिप्रसाद सिटौलाले जनइच्छा, मितव्ययिताको सिद्धान्तविपरीत अघिल्लो प्रदेश सरकारले बढाएको मन्त्रालयको संख्या घटाएर ९ वटा कायम गर्ने आवश्यक प्रक्रिया पूरा गरेर कार्यान्वयनमा लग्ने निणर्य भएको बताए ।

अघिल्लो मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको ५ दलीय गठबन्धनको सरकारले सत्तासमीकरण मिलाउन ७ वटाबाट बढाएर १३ वटा मन्त्रालयको संख्या पुर्‍याएको थियो । मन्त्रालयको संख्या बढाएको प्रति एमालेले विरोध गर्दै आएका थियो ।

मन्त्री सिटौलाले प्रदेशको सेवा प्रवाह व्यवस्था सुधारका साथै प्रदेश सरकारको कामकाजलाई सुव्यवस्थित गर्न एक प्रशासनिक सुधार कार्यदल गठन गर्ने निणर्य गरिएको बताए । उनले प्रमुख सचिवको नेतृत्वमा प्रदेश सचिवहरू रहने गरी सेवा प्रवाह र विकास व्यवस्था चुस्तदुरुस्त बनाउन अध्ययन गरेर २१ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिएको बताए ।

स्थानीय तहका कर्मचारीहरुको सेवा, सुविधा र सर्तहरू व्यवस्थित गर्न स्थानीय सेवा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निणर्य गरिएको सिटौलाले बताए ।

मन्त्रिपरिषद् बैठकले केही दिनदेखि सुरु भएको शीतलहरबाट प्रदेशमा कुनै किसिमको दुर्घटना वा क्षति हुन नदिनका लागि दाउरा बाँड्नेलगायतका व्यवस्था गर्ने निणर्य गरिएको बताए।

 

२०७९ पुष २५, सोमबार प्रकाशित 1 Minute 202 Views