२०८१ बैशाख १५ शनिबार

पब्जी विश्वकपमा नेपालको डीआरएस दोस्रो, जित्यो ३ करोड ८६ लाख

झापा । नेपालको द रियल सोल्जर्स (डीआरएस) ले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा दोस्रो स्थान हासिल गरेको छ । पब्जीको विश्वकप मानिने प्रतियोगितामा उपविजेता बनेसँगै डीआरएसले पुरस्कारस्वरूप कुल २ लाख ९२ हजार अमेरिकी डलर (३ करोड ८६ लाख नेपाली रुपैयाँ) पुरस्कार जितेको छ ।

प्रतियोगिताको अन्तिम चरणको खेल बाँकी हुँदासम्म उपाधि होडमा रहेको डीआरएस एरांगलमा खेलिएको अन्तिम खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन । यसका बाबजुद प्रतिस्पर्धामा रहेका अन्य टोली पनि चुक्दा डीआरएसको दोस्रो स्थान पक्का रहेको थियो । डीआरएसले फाइनलको स्थान अनुसार २ लाख अमेरिकी डलर र त्यसअघि छनोट चरणको ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको हो ।

टर्कीको एसटुजी ई स्पोर्ट्सले १ सय ९० अंकका साथ पहिलो स्थान हासिल गर्यो । एसटुजीले कुल ५ लाख १० हजार अमेरिकी डलर जित्दा डीआरएस १ सय ५८ अंकसहित दोस्रो भएको हो । समान १ सय ५६ अंक जोडेका तेस्रो स्थानको अल्फा ७ ईस्पोर्ट्सले २ लाख १७ हजार तथा चौथो स्थानको गडलाइक स्टलवार्टले २ लाख अमेरिकी डलर जित्यो ।

नेपालकै अर्को टोली ट्रेन्ड टु किल (टि२के) १ सय १२ अंकसाथ १३ औं स्थानमा रहयो । टोलीले कुल १ लाख ३२ हजार ५ सय (१ करोड ७५ लाख) अमेरिकी डलर प्राप्त गर्यो । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको टि२के ले अन्तिम चरणमा भने कमजोर प्रदर्शन गर्यो । (हाम्रो खेलकुद)

२०७९ पुष २४, आईतवार प्रकाशित 0 Minutes 373 Views

ताजा समाचार