सुरेश जोशी
ढुंगो त्यसै देउता बन्दैन
ऊ देउता बन्न
हजारौँ मनुष्यका शिरले माथा टेक्नुपर्छ
हजारौँ आत्माको श्रद्धाले अभिषिक्त हुनुपर्छ
अनि ऊ
कहलाइन्छ देउता
अर्थात्, हजारौँ श्रद्धाबिना
देउता बन्न पनि कठिन नै छ ।
त्यही ढुंगो देउता बन्न लाग्दा
अनेकन् छिनाका चोटहरू सहँदै,
बुट्टा भरिँदाका पीडा खप्दै
आकार धारण गर्दाका दुष्कर क्षणबाट गुज्रिनुले मात्र नपुग्ने रहेछ
अनेकौँ शक्तिका बखानहरू सुनाउने सहृदयी पनि पाउनुपर्ने रहेछ
गंगा तटदेखि मन्दिरको गर्भसम्म ल्याउँदाका
अनेकौँ औपचारिकता,
पौराणिक कथावस्तुसँग जोडिएका लेप,
मन्दिरको रूप धारण गर्दाका शृंगारिक वस्तु
यी सबैको जोहोले मात्रै
बन्दो रहेछ
ढुंगो देउता ।
समय पनि कति बलवान्–
मन्त्रकालमा
मन्त्रमा विश्वास गरियो
मानवकालमा
मान्छेको पूजा,
राम भगवान् बने
कृष्णको अग्रपूजा गरियो
भ्रमकाल नआइदिएर
यदि भ्रममा नै विश्वास नहुँदो हो त,
भ्रम छर्नु नै शक्तिको स्रोत नहुँदो हो त
कसरी बन्थ्यो
गंगाको तटको त्यो ढुंगो
देउता !
(सैँबु, ललितपुर)
बाह्रखरीबाट