२०८१ बैशाख ८ शनिबार

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

२४ पुस, विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ ।

पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

यो बिचमा सत्तारुढ गठबन्धन दलहरुले आन्तरिक छलफल गरेपनि केन्द्रमा भागबण्डा नटुङ्गिएका कारण दाबी पेश गर्न सकेनन् । आज साँझसम्म दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ ।

‘आज शीर्ष नेताबीच छलफल हुँदैछ, त्यसपछि प्रदेशमा दाबी पेश गर्छाैं,’ माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने ।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन् । यद्यपि सबैभन्दा ठूलो दल नेकपा एमाले रहेकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना छ । यस्तो अवस्थामा एमालेका हिक्मत बहादुर कार्की मुख्यमन्त्री हुनेछन् । सभामुख नेकपा माओवादी केन्द्रले पाउने छ ।

प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाइ बहुमत नजिक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेका ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत छ ।

प्रदेशसभामा २९ सांसद भएको कांग्रेस र ४ सांसद भएको नेकपा एकीकृत समाजवादी पार्टी प्रतिपक्षमा छन् । अनलाइनखबरबाट

२०७९ पुष २४, आईतवार प्रकाशित 0 Minutes 345 Views

ताजा समाचार