२०८१ मंसिर २५ मंगलवार

प्रचण्डले राम कार्कीलाई अराजकतावादी किन भने ?

ध्रुवसत्य परियार

‘यो पुस्तकमा उहाँले एन्टिनियो ग्राम्स्कीको भनाइ कोट गर्नुभाछ, जो समग्र किताबकै जिस्ट जस्तो पनि लाग्यो — पुरानो मर्दै जानु तर नयाँ जन्मन नसक्नु संकटको कारण हो,’ राम कार्कीको पुस्तक ‘विकल्प’को विमोचन समारोहमा वक्ता रहेका राजनीतिक विश्लेषक झलक सुवेदीले भने, ‘हामी संकटग्रस्त छौँ । त्यसको पछाडि नयाँ मूल्य सिर्जना गर्नुपर्ने जिम्मेवारी बोकेको कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टीको नेतृत्व बिस्तारै बिस्तारै वर्गीय राजनीतिबाट अथवा जुन वर्गको प्रतिनिधि गर्छु भनी दाबी गरेर अगाडि आएको हो, त्यो वर्गका स्वार्थहरूलाई छाडेर दलाल पुँजीवादको सेवामा गइसकेपछि जे नयाँ जन्मनुपर्ने हो, त्यो जन्मेन, जे नयाँ बनाइनुपर्ने हो त्यो बनेन ।’

शनिबार भएको विमोचन कार्यक्रममा उनीपछिका वक्ता थिए, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । उनले सुरुमै भने, ‘विषय अलि ठूलो पर्यो । टिप्पणी, चर्चा, बहस गर्न सजिलो छैन । झलकजीले टिप्पणी गर्दै गर्दा पनि मलाई कतिपय सन्दर्भमा उहाँले बडो गम्भीर कुरा भन्न बल गरेको जस्तो पनि, कतिपय बेला आफ्नै कुण्ठा व्यक्त गरेको हो कि भन्या जस्तो पनि महसुस भयो ।’

उनले अगाडि भने, ‘झलक सुवेदीले भनेजस्तो सबै वर्ग छाडेर पूरा दक्षिणपन्थी दलाल पुँजीपतिको सेवा गरेका हुनाले प्रधानमन्त्री ! यसको व्याख्या तपाईंहरूले सोच्नुभएको छ ? के हो यसको विश्लेषण, के कारणले यस्तो भइराख्या छ नेपालमा ? संकट अहिले भर्खरै जन्म्या हो कि यो संकटको जरा अलि परैसम्म छ ? यसको बारेमा पनि गम्भीर चिन्तन जरुरी छ, यसको बारेमा एउटा नयाँ संश्लेषण जरुरी छ । माक्र्सवादले हामीलाई केही आधारभूत, वैज्ञानिक मान्यताहरू दिएको छ, तर माक्र्सवादले हामीलाई सबै सूत्रहरू दिएको छैन, जसलाई रटेपछि दायाँ नभईकन क्रान्ति फटाफट अगाडि बढ्छ ।’

सुवेदीको चिन्ता वा संकेत माओवादीले वर्ग छाड्यो भन्नेतिर बुझिन्थ्यो । विश्लेषकहरूको सोलोडोलो बुझाइ छ, अहिले विद्यमान तीन ठूला दलले तीन वर्गको प्रतिनिधित्व गर्दै राजनीतिमा उदाएका हुन् — कांग्रेसले उच्च वर्गको, एमालेले मध्यम वर्गको र माओवादीले निम्न वर्गको ।

यतिखेर खासगरी भोटका लागि माओवादीको चरित्र वा व्यवहार यस्तो देखिन्छ — ऊ मध्यम वर्गलाई अँगालो हाल्छ, उच्च वर्गसँग दायाँ हात मिलाउँछ र परै छाडेको निम्न वर्गलाई बायाँ मुठी हल्लाउँछ । यो द्वैध र विचलित प्रवृत्तिले माओवादी यतिखेर घरको न घाटको भएको छ — घर (निम्न वा उत्पीडित वर्ग) र घाट (पलायन वा अन्त्य)बीचको अवस्थाको संकेत हो, ३२ सिट । घरले माओवादी फर्कन्छ कि भन्ने झिनो आशा अझै पालेकाले माओवादी यतिखेर राष्ट्रिय राजनीतिमा छ । अन्यथा घाटैतिर जाने हो । घाटैतिर जाँदा पनि संघीयता, समावेशी, समानुपातिक निर्वाचन प्रणाली र लोकतान्त्रिक गणतन्त्रलाई आफूहरूको संघर्षको उपलब्धिका रूपमा छाडेर जान पाइयोस् भन्ने प्रचण्डको चिन्ता सदा देखिन्छ ।

बुद्धिजीवीका उपदेश सुन्दा वाक्कै लाग्छ मलाई कहिले कहिले । यी उपदेश पनि धेरै भयो । गर्नु जान्नु केही छैन, जहिले उपदेश दिया छ, आन्दोलनको नेतृत्वको गर्ने, त्याग–बलिदान गर्नेहरूलाई सरापेको छ, हिँडेको छ । त्यसले हुनेवाला केही छैन । – प्रचण्ड

‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ । जनयुद्ध गर्नु गल्ती थियो, हिंसा थियो भन्ने एउटा एङ्गल तपाईंहरूले सुनिराख्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गल्ती थियो, त्यसलाई उल्टाउनुपर्छ भन्ने अर्को कोण तपाईं–हामीले देखिराखेका छौँ, सुनिराखेका छौँ,’ प्रचण्डले भने, ‘यो परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिराख्नुपर्छ भन्ने अर्को पक्ष पनि छ ।’ यो परिवर्तनका वाहकहरूलाई विद्रूपीकरण र बदनाम गर्न, तिनका ऐतिहासिक एजेन्डालाई कमजोर पार्न एकथरी मान्छेबाट कसरत भइरहेको उनको चिन्ता थियो । क्रान्तिकारी र चिन्तकहरू परिवर्तनको रक्षा गर्नेहरूको पक्षमा हुनुपर्ने तर उपदेश मात्रै दिएर हिँडेकाले आफू हैरान भएको आशय उनले व्यक्त गरे ।

‘बुद्धिजीवीका उपदेश सुन्दा वाक्कै लाग्छ मलाई कहिले कहिले । यी उपदेश पनि धेरै भयो । गर्नु जान्नु केही छैन, जहिले उपदेश दिया छ, आन्दोलनको नेतृत्वको गर्ने, त्याग–बलिदान गर्नेहरूलाई सरापेको छ, हिँडेको छ । त्यसले हुनेवाला केही छैन,’ उनले भने, ‘प्रत्येक क्रान्तिले शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै अगाडि बढ्छ भन्ने कुरा नबिर्सौं । म बुद्धिजीवी साथीहरूलाई विशेष रूपले भन्न चाहन्छु, क्रान्तिको त्यो नियम नै हो, अहिले यहाँ कोही नेता बिग्रनु र सप्रनुसँग यो सम्बन्धित मात्रै होइन । माक्र्सकै शब्दमा क्रान्तिको नियम भनेकै शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै र त्यसका विरुद्ध संघर्षको क्रममा विकसित हुने कुरा हो । क्रान्ति एकचोटि भएपछि प्रतिक्रान्ति हुँदैन, प्रतिगमन आउँदैन, प्रतिगमन र प्रतिक्रान्तिसँग लड्नुपर्दैन भनेर सोचियो भने त्यो माक्र्सवाद होइन । त्यो विज्ञान होइन ।’

विज्ञानसम्मत किसिमले अहिलेको संकटग्रस्त परिस्थितिलाई केलाउनुपर्ने उनको आग्रह बुझिन्थ्यो । अहिलेको संकट दक्षिणपन्थीहरूले पैदा गरेको संकट हो कि वामपन्थी विचलनबाट पैदा भएको हो भन्ने गम्भीर विषय रहेको उनको भनाइ थियो । यो गम्भीरतातर्फ बुद्धिजीवीहरूले ध्यान नदिएको आशयसहित उनले प्रश्न गरे, ‘अहिले हामीले क्रान्तिको नेतृत्व गर्ने, परिवर्तनका वाहकहरू वा परिवर्तनको पक्षमा लड्नेहरूलाई धिक्कारेर हिँड्नु क्रान्तिकारीपना हो कि यो परिवर्तनको रक्षामा आउनु क्रान्तिकारिता हो ? यो सबैले विचार गर्नुपर्ने विषय देख्छु म ।’

शनिबारको कार्यक्रममा प्रचण्ड निकै रक्षात्मक देखिए । एकातिर आफ्नै नेताले ‘विकल्प’ पुस्तक लेख्नु, अर्कोतिर एमाले नेता तथा विश्लेषक सुवेदीले माओवादी नेतृत्व ‘दलाल पुँजीवादको सेवामा गइसकेको’ बताउनु प्रचण्डका लागि अदृश्य कोर्रा नै भएको बुझिन्थ्यो । हुन पनि माओवादी नेतृत्वलाई गाली गर्ने नेता, राजनीतिक विश्लेषकदेखि फेसबुके, ट्विटे, टिकटके, युटुबे विश्लेषकको कमी छैन ।

हिजो जनयुद्धका आफ्ना सारथीहरूले छाड्दै जान थालेदेखि प्रचण्डको अभिव्यक्ति रक्षात्मक देखिँदै आएको छ । उनले आफ्नो रक्षा गर्नका लागि भन्ने पुरानै वाक्य हो — जनयुद्ध र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा । हिजोको कार्यक्रममा उनले भने, ‘मैले हेर्दा के देख्छु भने हिजो जनयुद्धको नेतृत्व गर्दै गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा जे–जस्ता परिवर्तन देखाप¥यो, स्वयं आन्दोलनभित्र जे–जस्ता चुनौती देखापरे, त्यो परिस्थितिमा हामीले बुर्जुवाहरूसँग सम्झौता गरेर भए पनि त्यसलाई गणतन्त्रको युगसम्म लैजानु, संघीयताको युगसम्म लैजानु, समावेशिताको युगसम्म लैजानु क्रान्तिकारी नै काम हो । त्यसो गरिएन भने विश्वमा थुप्रै क्रान्तिहरू जसरी क्रान्तिकारिताको प्रदर्शन गर्दागर्दै खतम भए, अवसान नै भए, विध्वंश भए, हाम्रो पनि बाटो त्यही हुने खतरा छ भन्नु क्रान्तिकारिता हो कि होइन ! क्रान्तिकारीले बुर्जुवासँग कुनै सम्झौता गर्दैन भन्नु क्रान्तिकारिता हो ? यो प्रश्नमा यति बेला सबै माक्र्सवादीहरूले गहिरो गरी विचार गर्न जरुरी छ ।’

कार्कीले पुस्तकमा ‘प्रगतिशील विकल्प सम्भव छ ?’ शीर्षकमा लेखेका छन्, ‘हाम्रो पार्टी माओवादीको संस्थागत जीवनलाई अन्ततः समाप्त पारिएको छ । त्यसको सट्टा नाम कहलिएका नेताहरूको निजी नामका पछाडि कार्यकर्तालाई लामबद्ध हुने फरमान जारी गरिएको छ ।’

पुस्तकमा लेखिएका यस्तै विचारको जवाफमा र प्रचण्ड सधैँ नेतृत्वमा बसे, छाड्न मानेनन् भन्नेहरूलाई पनि जवाफ दिन प्रचण्डले प्रश्न गरे, ‘म त झन्डै ३५ वर्ष हुन लागिसक्यो, छाड्छुभन्दा पनि सुख छैन । तपाईंहरू भन्न सक्नुहुन्छ – प्रचण्डले अब छाडिदिनुपर्छ, फलानो आउनुपर्छ ! तपाईंहरूले भनिदिनुभयो भने म खुसी हुन्छु, तर परिस्थिति त्यस्तो हुँदैन ।’

आफ्नो पार्टीबाट विद्रोह गरेर जानेहरूले विद्रोहको औचित्य साबित नगरेको प्रचण्डको भनाइ थियो । ‘विद्रोहको अधिकार केही साथीहरूले प्रयोग गर्नु त भयो, यो अधिकार प्रयोग गरेर अर्को क्रान्तिकारी विचार, क्रान्तिकारी आन्दोलन, क्रान्तिकारी पार्टी बन्यो या बनेन ? किन बनेन त ? विद्रोहको अधिकार प्रयोग गर्ने साथीहरूले यसो गर्न किन सक्नुभएन ?’

राम कार्कीले पुस्तकमा माक्र्सवादका बारेमा दार्शनिक र सैद्धान्तिक रूपले जे भन्न खोजेका छन्, त्यसको प्रयोग आफूले गरिरहेको प्रचण्डको दाबी थियो । ‘मलाई गलत साबित गर्नुप¥यो । एकछिन गाली गरेर त हुँदैन, समाजलाई पनि डोर्याउन सक्नुपर्यो नि !’ उनले भने, ‘मैले त्यही गरेँ, शान्ति सम्झौता गरेको, संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने ठाउँमा देशलाई पु¥याएको पनि माक्र्सवादकै प्रयोग गरेको हो ।’

कार्कीले पुस्तकमा महाधिवेशनबारे लेखेका छन्, ‘आफ्नो निजी शान, प्रतिष्ठा र तागतको मादक कुइरीमण्डलमा रमिरहेका नेताहरूले महाधिवेशनलाई सत्यनारायणको पूजा वा ककटेल पार्टी जस्तो गरे पनि हुने र नगर्दा पनि केही नबिग्रने आयोजना ठानेर पन्छाउँदै आउन सफल भएका छन् ।’

कार्कीका यस्तै विचारको जवाफमा हुन सक्छ, प्रचण्डले कार्कीलाई स्वच्छन्दवादी र अराजकतावादीको संज्ञा दिए । ‘सबै सकारात्मक आलोचनात्मक चेतना र स्वतन्त्रताका पक्षमा उहाँ (कार्की)ले उठाइराखेको आवाजको बीचमा उहाँभित्र फेरि अलिअलि स्वच्छन्दतावाद, अलिअलि अराजकतावाद छ,’ प्रचण्डले भने, ‘उहाँको जीवनशैलीमा, उहाँको सोच्ने शैलीमा केही न केही स्वच्छन्दतावाद र अराजकतावादको अवशेष उहाँभित्र छ । यो पुस्तकमा त्यो पनि व्यक्त भइराख्या छ ।’ रातोपाटीबाट

२०८० आश्विन २१, आईतवार प्रकाशित 1 Minute 250 Views

ताजा समाचार