२०८१ बैशाख २१ शुक्रबार

भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान

१८ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् ।

चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि बनाए ।

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौलसमूहमा समग्रमा ३ सय केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले जनाएका छन् ।

विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।

यसअघि स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो ।

उनले उक्त कीर्तिमान केहि साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए ।

स्न्याचमा भने विशालले दोश्रो लिफ्टमा नै १२७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए । पहिलो लिफ्टमा विशालले १२१ केजी तौल उचालेका थिए ।

त्यस्तै क्लिन एन्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ केजी वजन उठाएका थिए । दोश्रो लिफ्टमा विशालले १६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेश्रो लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १७५ केजी तौल लोड गर्न लगाएका थिए । त्यसमा उनी सफल भएनन् ।

नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन् ।

२०८० आश्विन १८, बिहीबार प्रकाशित 0 Minutes 91 Views

ताजा समाचार