२०८१ बैशाख १६ आईतवार

‘सैनिकले मोबाइल चलाएकाले अभूतपूर्व क्षति’

मस्को/किभ — रुसले आफ्ना सैनिकले मोबाइल फोन चलाएका कारण नयाँ वर्षका दिन ८९ जना सैनिकले ज्यान गुमाएका जनाएको छ । मोबाइल प्रयोग गरिएका कारण युक्रेनले सैनिकको अवस्थितिबारे थाहा पाएको र क्षेप्यास्त्र आक्रमण गरेको रुसको भनाइ छ ।

अतिक्रमित क्षेत्र दोनेत्स्कको मकिभ्का सहरमा आफ्नो फौजले गरेको क्षेप्यास्त्र आक्रमणमा ४ सय रुसी सैनिकहरू मारिएका र तीन सय सर्वसाधारण घाइते भएका युक्रेनले दाबी गरेको थियो ।

रुसले उक्त घटनामा ८९ सैनिकले ज्यान गुमाएका स्वीकार गरेको थियो । गत फेब्रुअरीमा दुई देशबीच युद्ध सुरु भएयता एउटै घटनामा हालसम्मकै सबैभन्दा बढी रुसी सैनिकले ज्यान गुमाएका हुन् । रुसी सेनाले यसअघि एकै घटनामा ६३ जनाको मृत्यु भएको जनाएको थियो ।

रुसी अधिकारीहरूले ‘सैनिकले प्रतिबन्ध लगाइएको मोबाइल फोनको प्रयोग गरेका कारण शत्रुलाई उनीहरूको अवस्थिति पत्ता लगाउन मौका दिएको’ बताएका छन् । नयाँ वर्ष सन् २०२३ सुरु भएको दुई मिनेटमा अमेरिकामा निर्मित ‘एमएलआरएस हाइमार्स’ रकेट प्रणालीबाट ६ वटा क्षेप्यास्त्र प्रहार भएका थिए । तीमध्ये दुई क्षेप्यास्त्र खसालेको रुसको दाबी छ ।

घटनाको केही क्षणअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको शुभकामना दिएका थिए । रुसी रक्षा मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मकिभ्कास्थित रेजिमेन्टका सहायक कमान्डरसमेत मारिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न एक समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । ‘युक्रेनी अस्त्रहरूको दायराभित्र मोबाइल फोनहरू रहेका र त्यसको व्यापक प्रयोग भएकाले’ अप्रत्याशित घटना भएको मन्त्रालयको भनाइ छ । ‘जिम्मेवार अधिकारीहरूलाई कानुनी दायरामा ल्याइने र आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक कदम चालिने’ रुसको भनाइ छ ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठनको सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ देखि आक्रमण सुरु गरेको हो । त्यसयता रुसी आक्रमणका कारण हजारौं युक्रेनी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अर्बौं डलर बराबरको भौतिक संरचना ध्वस्त भएको जनाइएको छ ।

आक्रमण सुरु गरेयता रुसले युक्रेनका विभिन्न क्षेत्रहरूमाथि नियन्त्रण कायम गरेको थियो । तर पछिल्लो समय कतिपय क्षेत्रहरू युक्रेनले फिर्ता लिएको छ । जसका कारण रुसी फौजले ऊर्जालगायत पूर्वाधारलाई केन्द्रित गरी आक्रमण गरेको युक्रेनी अधिकारीहरूको दाबी छ ।

पछिल्लो समय रुसले युक्रेनका प्रमुख सहरका विभिन्न संरचनालाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण तीव्र पारेको छ । रुसी फौजले ऊर्जा केन्द्रलगायतका सार्वजनिक संरचनालाई लक्षित गर्दै आक्रमण बढाएको युक्रेनी अधिकारीहरूको भनाइ छ । जसका कारण लाखौं मानिसहरू चिसोमा कठ्यांग्रिन बाध्य भएका छन् । रुसी फौजका नियोजित आक्रमणलाई पश्चिमा देशले युद्ध अपराधको संज्ञा दिएका छन् । तर रुसले भने ती आरोप अस्वीकार गर्दै आएको छ ।

पछिल्लो समय रुसलाई क्राइमियासँग जोड्ने पुलमा विस्फोट गराइएपछि आक्रामक बनेको रुसले युक्रेनका ऊर्जालगायतका पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको हो । युक्रेन आक्रमणका लागि आवश्यक सैन्य हतियार ओसारपसारका लागि रुसले बाटो प्रयोग गर्दै आएका कारण उक्त पुललाई युक्रेनी फौजले निसानामा परेको हो ।

सन् २०१८ मा केर्च पुल मार्गको उद्घाटन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शताब्दीकै उत्कृष्ट संरचना’ भएको दाबी गरेका थिए । जसका कारण क्रुद्ध बनेका राष्ट्रपति पुटिनले युक्रेनमा देशव्यापी आक्रमणका लागि निर्देशन दिएको जनाइएको छ ।

आक्रमण सुरु गरेयता रुसले चारवटा क्षेत्रलाई भने आफूमा गाभेको छ । पाँच दिन लगाएर जनमतसंग्रह गरी रुसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई आफूमा गाभेको हो ।

रुसी अधिकारीहरूका अनुसार जनमतसंग्रहमार्फत ती क्षेत्रका अधिकांश युक्रेनीले रुसमा गाभिने पक्षमा मत दिएका थिए । उक्त कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने रुसी कदमको झल्को दिएको थियो । अमेरिका, युरोपेली संघलगायत पश्चिमा शक्तिले भने रुसले गरेको जनमतसंग्रह अवैधानिक घोषित गरेका थिए ।

रुसले सुरक्षाकर्मी र कर्मचारीमार्फत सर्वसाधारणलाई प्रभावित पारेको भन्दै जनमतसंग्रह औपचारिकता मात्रै भएको पश्चिमा देशहरूको दाबी छ । जसका कारण अमेरिका तथा युरोपेली संघले रुसविरुद्ध थप प्रतिबन्धहरू जारी गर्ने घोषणासमेत गरिसकेका छन् ।

नियन्त्रणमा लिएकामध्येको ठूलो सहर खेर्सनबाट भने रुसले दुई साताअघि सेना फिर्ता गरिसकेको छ । रुसी फौज बाहिरिएसँगै खेर्सनमा युक्रेनी सेना पुगेपछि युक्रेनी झन्डा बोकेका सर्वसाधारणहरूले सडकमा खुसीयाली मनाएका थिए । इकान्तिपुरबाट

 

२०७९ पुष २१, बिहीबार प्रकाशित 1 Minute 140 Views

ताजा समाचार