२०८२ बैशाख २७ शनिबार

आफ्नै बोलीको गलपासोमा प्रधानमन्त्री प्रचण्ड

पछिल्ला केही दिनयता सामान्य रूपमा चलिरहेको नेपाली राजनीति बुधबार अचानक तरंगित भयो। संसदका दुबै सदनमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग्यो। बैठक चल्न नसक्दा राष्ट्रिय सभा बिहीबारसम्मका लागि स्थगित भएको छ भने आधा घन्टाका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पनि फेरि सुरू हुन सकेको छैन।

राजनीतिको यो पछिल्लो तरंगको कारण कुनै एजेन्डा नभई प्रधानमन्त्री प्रचण्डको एउटा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हो। राष्ट्रका संवेदनशील विषयमा पदीय गरिमाविपरीत अभिव्यक्ति दिएर प्रधानमन्त्री प्रचण्ड विवादमा पर्ने सिलसिला नै बनेको छ।

यसपालिको उनको अभिव्यक्ति छिमेकी भारतसँग जोडिएको छ।

प्रधानमन्त्री प्रचण्डसँग निकै राम्रो सम्बन्ध भएका भनिएका व्यवसायी प्रितम सिंहले आफ्नो पुस्तक विमोचनको निम्तोपत्रमा उनै प्रचण्डको नाम गलत छापेका थिए।

एउटा तप्काका लागि सिंहको नाम खास नौलो नभए पनि प्रधानमन्त्रीलाई नै पुस्तक विमोचनमा बोलाउन सक्ने हैसियत भएका तर खास नाम के हो भनेर सचेत नभएका सिंह को हुन भन्ने खुब चासो थियो।

चासै-चासोकै बीचमा गत सोमबार काठमाडौंमा किरणदिप सन्धुले सिंहबारे लेखेको किताब ‘रोड्स टु द भ्याली’ विमोचन भयो। पुस्तक विमोचनपछि सिंहको चर्चा चुलियो, खोजीनिति हुन थाल्यो।

त्यही पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति उनी स्वयंका लागि गलपासो बनेको छ।

बुधबारको संसदमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डलाई लेन्डुप दोर्जेको नेपाली संकरणको उपाधि दिएका छन्।

‘आज बादल लागेको छ। तर अहिले मौसममात्रै उदास छैन, नेपालीहरूको मनमा पनि बादल लागेको छ,’ पन्तले भने, ‘सम्माननीय प्रधानमन्त्री पनि नभनुँ किजस्तो लाग्छ। नेपालको प्रधानमन्त्री बनाउन नेपालतिर जाने कि दिल्लीतिर जाने?’

गत सोमबार प्रधानमन्त्री प्रचण्डले सिंहले एक पटक आफूलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गरेको बताएका थिए।

‘उहाँले ए कपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो, धेरै पटक दिल्ली पनि जानुभयो,’ प्रचण्डले भनेका थिए।

तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले उनलाई प्रधानमन्त्री बनाउन कुन बेला सिंहले मेहनत गरेका हुन् भन्नेचाहिँ खुलाएनन।

२०६४ को संविधान सभाको चुनावपछि पहिलो पटक प्रधानमन्त्री बनेका प्रचण्डको सरकार ९ महिनामै ढलेको थियो। सरकार ढलेलगत्तै माओवादीले सडक आन्दोलन नै गरेको थियो। त्यतिखेर प्रधानमन्त्री प्रचण्डले भारतको इशारामा आफ्नो सरकार ढालिएको भन्दै सिधै मालिकसँग संवाद गर्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि पनि माओवादीको छवि भारतविरोधी नै भनेर स्थापित थियो।

यसपटक भने प्रचण्ड सरकार बनेयता नै दिल्लीप्रति झुकाव देखाएको भन्दै बारम्बार आलोचना हुँदै आएको थियो।

यसअघि पनि उनका कतिपय अभिव्यक्ति विवादित बन्दै आएका थिए।

गत चैतमा चीनमा भएको बोआओ फोरममा प्रधानमन्त्री प्रचण्ड जाने तयारी थियो। तर अन्तिममा उनी नजाने भए। राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू  बोआओ फोरममा नजाने निर्णय नेपालले नगरेको बताए।

चिनियाँ राजदूतले नै मर्का बुझेर अहिले भ्रमण नगरौं भनेकोजस्तै कूटनीति मान्यताविपरीतको  कुरा उनले संसदमा सुनाए।

प्रधानमन्त्री प्रचण्डकै शब्दमा चिनियाँ राजदूतकै आग्रहमा चीन भ्रमण रोकिएपछि उनी गत जेठमा भारत भ्रमणमा गए।

भारत भ्रमणबाट फर्किने बेला त्रिभुवन विमानस्थलमा दिएको अभिव्यक्तिले उनी फेरि विवादमा परे। विमानस्थलमा उनले भने- लिपुलेक, लिम्पियाधुराको सीमा विवाद मिलाउन भारतसँग बंगलादेशको मोडलमा जमिन सट्टापट्टा गर्न सकिने विकल्पमा चर्चा भयो।

उनको त्यो अभिव्यक्ति विवादमा पर्‍यो। संविधानमै नभएको उक्त विकल्पबारे प्रधानमन्त्रीले के कुरा गरेका हुन् भनेर प्रमुख प्रतिपक्षी एमालेले संसदमा जवाफ माग्यो।

प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिए।

उक्त प्रकरण सकिएको एक महिनामै उनी फेरि आफ्नो बोलीको फन्दामा परेका छन्।

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीबाटै यस्तो अभिव्यक्ति आउनुलाई देशको दुर्भाग्यका रूपमा चित्रण गरे।

‘नेताहरू अलिकति चेतना नै नभएर बोलिदिन्छन्। भित्रै मनैदेखि बोल्छु भन्छन्, भित्री मनैदेखि बोल्दा बाहिर बिर्गाछन्। यो देशको लागि एकदमै घातक कुरा हो,’ उपाध्यायले भने, ‘नेताहरूले बोल्दा कूटनीतिक मर्यादा र परिपक्वता हुनुपर्छ, यो सिक्नुपर्ने कुरा हो, तर उनीहरूले कहिले बुझ्ने हुन्?  बुझेर जन्मेको त कोही हुँदैन तर बुझ्ने सिक्ने प्रयास हुनुपर्ने त्यो पनि हुँदैन, यो पटक्कै राम्रो भएन।’

प्रधानमन्त्री बनेलगत्तै सुरूमा चीन भ्रमणको निम्तो पाएका प्रचण्डले लामो समयसम्म भारत भ्रमणको निम्तो पर्खेर बसे। गत जेठमा तीन दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डको त्यही भ्रमण पनि विवादरहित भने हुन सकेन।

यसपालि फेरि प्रधानमन्त्री बन्न भारतकै साथ चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएका प्रचण्ड आफ्नै अभिव्यक्ति सच्याउँदै हिँड्नुपर्ने परिस्थितिमा छन्।

बुधबार माओवादी भ्रातृ संगठन अनेरास्ववियुको कार्यक्रममा उनले आफूले त्यस किसिमको अभिव्यक्ति नै नदिएको दाबी गरेका छन्।

उनले प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भएता पनि त्यही अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको बताए।

प्रधानमन्त्री प्रचण्डले विपक्षीको विक्षिप्तता यही घटनाले पुष्टि गर्छ भनेका छन् तर आफूले बोलेको कुरा गलत हो भनेर स्वीकार गरेका छैनन्।

माओवादीका अरू नेताहरू पनि प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको बचाउमा उत्रिएका छन्।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार संवाददाताहरूसँग कुरा गर्दै प्रधानमन्त्री हुन भारत जानुपर्छ भनेर प्रधानमन्त्री प्रचण्डले भन्नुभएको नदेखिएको बताए।

‘कुनै व्यक्तिले आफ्नो सोचअनुसार भारतलाई पनि मिलाइदिनु पर्छ कि क्या हो भनेर दौडनु भयो भने त्यो उहाँहरूको कुरा हो,’ श्रेष्ठले भने,‘प्रधानमन्त्रीले मलाई प्रधानमन्त्री बनाउन भारत पठाएँ र भारतको सहयोग भएर म प्रधानमन्त्री भएँ भन्नुभएको छैन।  हाम्रो प्रधानमन्त्री नेपालको संसदले निर्वाचित गरेको प्रधानमन्त्री हो।’

उनले यसबारे प्रधानमन्त्रीले प्रष्ट पार्ने बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने यसपालि प्रधानमन्त्री प्रचण्डले यसबारे जवाफ दिएर मात्र नपुग्ने बताएका छन्।

बुधबार संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय रहेको बताए।

‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो,’ उनले भने, ‘हामीलाई जवाफ होइन, राजीनामा चाहियो। उहाँबाट साह्रै भएन।’ सेतोपाटी

२०८० असार २०, बुधबार प्रकाशित 1 Minute 213 Views

ताजा समाचार