२०८१ बैशाख १७ सोमबार

महाकाली-मेची साइकल यात्राले जातीय विभेदविरुद्ध प्रभावकारी सन्देश प्रवाह भयो: अध्यक्ष विश्वकर्मा

काँकरभिट्टा । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाली समाजमा जातीय विभेदको अवस्था अझै कहालीलाग्दो रहेको बताएका छन् । केहि सुगम ठाउँलाई मात्रै हेरेर जातपातमा विभेद छैन भन्नु बेठिक हुने अध्यक्ष विश्वकर्माको भनाई छ ।

तीन दलित महिला पत्रकारको महाकाली–मेची साइकल यात्रा समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै आयोगका अध्यक्ष विश्वकर्माले नेपाली समाजमा जातीय विभेदको प्रकृति बदलिएको बताए । उनले कर्णाली प्रदेश र मधेश प्रदेशमा जातीय विभेदको अवस्था डरलाग्दो रहेको सुनाए । देशको हरेक कुनाकाप्चाबाट जातीय विभेदको अन्त्य हुनुपर्छ, उनले भने – विगतको व्यवहार बदलेरै दलितहरुमाथि अझै भेदभाव गर्ने काम भइरहेको छ ।

काँकरभिट्टामा आयोजित समापन कार्यक्रममा आयोगका अध्यक्ष विश्वकर्माले विभेद अन्त्यका लागि शिक्षामा जोड दिनुपर्ने बताएका छन् । उनले अझै पनि दलित समुदायका थोरै मात्र बालबालिकाहरु शिक्षाको पहुँचमा पुगेको बताए ।

उनले भने, शिक्षामा अझै आकर्षण हुन सकिरहेको छैन । आकर्षण बढाउन जरुरी छ । त्यसका लागि राज्य पक्ष नै लाग्नुपर्नेमा उनको जोड थियो । विभेदको राष्ट्रिय समस्यालाई नजिकबाट नियालेको बताउँदै उनले विभिन्न जिल्लामा भइरहेका विभेदका घटनाले मुटु काप्ने अवस्था सिर्जना गरेको सुनाए । ‘हाम्रो पुर्खाले पढ्न पाएन, राम्रो खान पाएन, राम्रोसँग बस्न पाएन । तरपनि हामीलाई यहाँसम्म ल्याउनुभयो । त्यसैले पलपलमा विभेदविरुद्ध प्रतिवाद गर्न आवश्यक रहेको छ ।’

साइकलयात्रा बारे बोल्दै उनले विभेदविरुद्ध प्रभावकारी सन्देश प्रवाह भएको बताए । साइकल यात्रा एउटा यात्रामा मात्रै सिमित छैन, यसले समाजमा विभेदविरुद्ध सिर्जनात्मक सन्देश दिएको उनको भनाई थियो ।

राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष एवम् संविधानसभाका सदस्य बिनोद पहाडीले महाकाली–मेची साइकल यात्रा दलित मुक्ति आन्दोलनका लागि कोशेढुङ्गा भएको बताए । उनले मुक्ति आन्दोलनमा यो इतिहास गौरव गर्न लायक भएको बताएका छन् । जातीय विभेद विरुद्ध आवाज उठाउदै पश्चिम नेपालबाट पूर्वको सीमासम्म आइपुग्नेहरुलाई सम्मान व्यक्त गर्दै उनले भने – यो यात्रालाई दस्तावेज निर्माण गर्ने र राष्ट्रिय बहस गरेर विभेद विरुद्ध सबैलाई एक हुन आव्हान गरिनेछ ।

संघका अध्यक्ष पहाडीले विगतमाभन्दा अहिले विभेदको प्रकृतिमा धेरै फरकपन पाइने बताए । पहिले सिधैं धारा कुवा, विद्यालय, सार्वजनिकस्थलमा विभेद हुन्थ्यो, अहिले घुमाउरो पारामा विभेद भइरहेको छ । फेरिएको विभेदको रुपलाई चिर्न रचनात्मक आन्दोलनको जरुरी रहेको पहाडीको धारणा थियो ।

गत बैशाख ६ गते पश्चिम नेपाल कञ्चनपुरको गड्डाचौकीदेखि सुरु भएको साइकल यात्रा २६ गते मेचीनदी किसानरमा समापन गरिएको थियो । यात्रामा तीन दलित महिला पत्रकार सहभागी थिए ।

सञ्चारकर्मीसमेत रहेका रीता बुढाथोकी, संगीता नेपाली र इन्दिरा विश्वकर्माले नेपालको राष्ट्रिय झन्डासहित साइकल यात्रा सुरु गरेका थिए । ‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्मसम्मानका लागि’ भन्ने मूल नारासहित साइकल यात्रा पुरा गरेका छन् ।

कार्यक्रममा तीनै जनाले साइकल यात्राको औचित्य र अनुभवका बारेमा धारणा राखेका थिए । उनीहरुले अहिले पनि जातका आधारमा हुने विभेद कायमै रहेको भन्दै त्यसका विरुद्ध सन्देश प्रवाह गर्न साइकल यात्रा गरेको सुनाए । यात्रा प्रारम्भबाटै विभिन्न कठिनाई भोग्नु परेपनि जातीय मुक्तिका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको उनको धारणा थियो । जातीय विभेद अन्त्यका लागि सबैले साझा अभियान सञ्चालन गर्नुपर्ने बताए । सोही अवसरमा साइकल यात्रीहरुलाई दलित पत्रकार संघ कोशी प्रदेश र झापा जिल्ला कार्यसमितिले सम्मान गरेको छ ।

दलित उत्थान समन्वय समिति मेचीनगरका अध्यक्ष टोल बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा समता मिडिया केन्द्रका अध्यक्ष मिलन परियार, प्रथम साइकल यात्री पत्रकार मुक्ति पौडेल, प्रेस युनियन कोशीका उपाध्यक्ष ज्ञानेन्द्र निरौला, मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाई, नारी सञ्चार गृह झापाकी सचिव मायामितु न्यौपाने, सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामदाम लगायतले साहसिक कामप्रति सम्मान व्यक्त गर्दै शुभकामना व्यक्त गरेका छन् । अधिकांशले जातीय विभेद अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताए ।

२०८० बैशाख २८, बिहीबार प्रकाशित 0 Minutes 231 Views

ताजा समाचार