२०८१ बैशाख १७ सोमबार

जहाँ समस्या, त्यहाँ प्रहरी !

एकाबिहानै पल्लो घरका हजुरबुवाले शंख फुकेको आवाजले झसंग भएर ब्युँझिएँ । साढे ५ भइसकेको रहेछ । हतार-हतार स्कुटरको चाबी खोज्दै स्कुटर निकालेर कलेज दौडिएँ ।

बानेश्वर पुगेपछि जब म विपरीत दिशाबाट आइरहेको बाइकमा ड्याङ्ग ठोक्किएँ— ओहो, म त एक्सिडेन्टमा परें । यसो हेरें स्कुटरको अघिल्लो भाग फुटेछ । घुँडा र हातमा सामान्य चोट लागेछ ।

वरिपरी मान्छेहरू जम्मा भएका थिए । तर, बाइकवाला कतिबेला भाग्यो थाहै भएन । तुरुन्त कसैले प्रहरीलाई फोन गरिदियो, बाइकवालाको नम्बरसहित समात्न । म त्यहाँबाट निस्किएँ ।

कलेज छुटेपछि म सीधै अफिस पुगें । साढे ९ बज्दै रहेछ । बिहान केही खाएको होइन, बेस्सरी भोक लागेको थियो । यताउति नहेरी क्यान्टिनतिर दौडिएँ । खाना मगाएर खान लाग्दैथिएँ, क्यान्टिनकी दिदी बाहिर निस्किने हतारोमा हुनुहुन्थ्यो ।

मलाई छिटो खानु भन्ने भावमा बेलाबेला हेर्दै हुनुहुन्थ्यो, मैले बुझिहालें । म खुरुखुरु खाएर उठें र पैसा तिर्न काउन्टरकी दिदीतर्फ लागें। अन्य बेला कहिल्यै नहतारिने दिदीलाई आज के भयो भनेर जान्न मन लाग्यो र सोधें ।

‘किन दिदी के भयो’ भन्न नपाउँदै तुरुन्तै जवाफ आइहाल्यो, ‘हेर्नु न बहिनी एउटा फटाहाले पैसा दिनुपर्ने थियो । दिन त दियो चेक तर, खातामा पैसै रहेनछ । फोन गरेको उठाउँदैन, प्रहरीलाई भन्न दौडिन लागेकी । के गर्नु, अब प्रहरीलाई खबर गरेपछि कसो नआउला त्यो सम्पर्कमा।’

मानवी बानियाँ

यति सुनेपछि मलाई केही भन्न मन लागेन । दिदी समस्यामा हुनुहुन्छ भन्ने बुझें ।  पत्रकारिताको क्रममा म जुनसुकै समाचारको रिपोर्टिङमा खटिनुपर्ने हुन्छ । त्यस दिन सरकारविरुद्ध भएको आन्दोलनको रिपोर्टिङका लागि माइतीघर पुगें ।

आन्दोलनकारी भन्दा सुरक्षाकर्मीहरू बढी देखिन्थे त्यहाँ । उनीहरूकै सुरक्षामा वरिपरि हिंड्दै थिएँ । सुरुमा शान्त थिए आन्दोलनकारी, पछि कुन्नि के कुरामा के मिलेन उनीहरू त जंगिन पो थाले ।

एकैछिनमा आन्दोलनले ठूलै रुप लियो । हामी त्यहाँबाट निस्कनुको विकल्प थिएन । अलि टाढा पुग्यौं, त्यस ठाउँबाट फर्केर हेर्दा, आन्दोलनकारीको सुरक्षामा प्रहरी खट्दै थिए ।

म त्यहाँबाट अफिस फर्किएँ, अफिस आउँदा आन्दोलनकारीको बहस सेलाउन नपाउँदै उता पोखरामा जहाज दुर्घटना भएछ । साह्रै दुःख लाग्यो, यसो टेलिभिजन हेरें, जहाज दुर्घटनामा परेका मानव शरीर धुजाधुजा भएको रहेछ । हेर्नै सकिएन । तर, प्रहरी भने त्यही शवलाई हातले टप्प टिपेर झोलामा हाल्दैथिए ।

सोही दिन म अर्को समाचारको रिपोर्टिङमा पनि खटिएँ । निर्वाचन कार्यालय जानुथियो, ठ्याक्कै भद्रकालीको जाममा परियो । वरिपरि प्रहरीको बाक्लो उपस्थिति थियो । जाममा निकैबेर परिएला जस्तो भएपछि एक प्रहरीलाई सोधें– ‘सर किन हो यतिको जाम, के छ र ?’

आफ्ना हजारौ रहर, इच्छा अनि घरपरिवारको अप्ठेरो समयमा समेत उपस्थित हुन नसक्ने ती प्रहरी तपाईंको जस्तोसुकै परिस्थितिमा उपस्थित भइदिने रहेछन् । हो, यो हो नि जिम्मेवारी !

ती प्रहरी अधिकृतले जवाफ दिए, ‘भीभीआईपीको सवारी छ । एकछिन समय लाग्छ ।’ जवाफ दिंदै गर्दा उनलाई कतैबाट आदेश आयो— ‘ड्युटी अलि कडा बनाउनू, कहींकतै कुनै सवारी लगायत मानिसलाई हिंड्न रोक लगाउनू, यहाँबाट भीभीआईपी प्रस्थान गरिसक्नुभएको छ । तपाईंको रुटमा आइपुग्नै लाग्नुभयो ।’

ती प्रहरी अधिकृतले ‘रोजर सर’ भन्दै आफ्नो सेटमा हाकिमले दिएको ड्युटीको आदेशपालना गर्दै आफ्नो काममा निरन्तर लागे । सबै सुनें म चुपचाप बसें । उनीसँग बहस गर्नुको कुनै अर्थ थिएन । म जसरी ड्युटीमा आदेशपालना गरेर हिंडेकी छु, उनी पनि त त्यही गर्दैछन् भन्ने लाग्यो ।

यता, अन्य सवारीचालक त्यसको विरोधमा हर्न बजाउँदै थिए । उता, सर्वसाधारण प्रहरीलाई गाली गर्दै जुधौंला झैं अटेसमटेस गर्दै ठेलमठेल गर्दैथिए ।

मैले बुझें कि ती प्रहरी ड्युटी गर्दैछन् । मैले सुनें र त बुझें । तर, भीडले त प्रहरीलाई नै त दोषी देखे, प्रहरीले नै त रोकेको देखे । यो क्रियाकलाप करिब एक घण्टा चल्यो, त्यसपछि जाम हट्यो र म आफ्नो गन्तव्यतिर लागें ।

बेलुका मलाई चिनजानका साथीको बिहेभोजमा जानुथियो । काम सकेर अफिसबाट सीधै सुकेधाराको एक पार्टी प्यालेसमा गएँ । सबै आ-आफ्नै तालमा मस्त थिए । साथीको जोडीलाई बधाई दिएँ, अनि भोज लिनेतर्फ लागें । भीडमा थिएँ तर चिनेको बेहुली बाहेक कोही थिएनन् । म स्न्याक्स लिन जाँदै गर्दा दुई साथीबीच कुरा हुँदैथियो’

‘आज अलिअलि पिउन मन छ तर, प्रहरीकै डर छ । गाडी लिएर आइहालें, पिउँदिनँ ।’

उनीहरूको कुरा नसुने जसरी म स्न्याक्स लिएर त्यहाँबाट हिंडें ।

अलि राति भइसकेको थियो । घर फर्किंदै थिएँ । घर पुग्ने बाटोमा एउटा चोक र सानो गल्ली छ । अलि सचेत भएर हिंड्नुपर्ने । त्यसदिन म गल्लीको साँघुरो बाटो हिंड्दै गर्दा ८-१० जनाको जमघट देखें । त्यो देख्नेबित्तिकै डरले मुटु काँप्न थाल्यो । रातिको समय केटी मान्छे, एक्लै । नभन्दै उनीहरूले ‘कता मैयाँ’ भन्दै जिस्क्याउन पो थाले ।

यसो हेरें, अलिअघि लट्ठी समाएर उभिइरहेका एक्ला प्रहरीको छायाँ देखें, अनि बल्ल मन शान्त भयो । उनीहरूको कुरालाई कुनै प्रतिवाद नगरी त्यहाँबाट गुज्रिएँ । बाटोमा आउँदै गर्दा सोचें कि सायद त्यो एक्लो प्रहरीका अघि ती १० जना केही कामका रहेनछन् ।

घर आइपुग्दा राति करिब ११ बजिसकेको थियो । घरको गेट खोल्नै लाग्दा कानमा कसैको नमिठो कर्कस स्वर ठोक्किन पुग्यो । त्यहीं टक्क रोकिएर सुनें । छिमेकमा अंकल-आन्टीको झगडा रहेछ । त्यसलाई बेवास्ता गर्दै भित्र छिरें, सायद बुढाबुढीको झगडा परालको आगो भन्ने भनाइलाई अँगाल्दै फ्रेस भएँ । तर, अझै उनीहरूको झगडा शान्त भएको रहेनछ, झन् चुलिंदै गएछ ।

यसो हेरें, बाहिर अन्य छिमेकी जम्मा भइसकेछन् । झगडा परेको घर नियालें । हुँदाहुँदा साना नानीबाबुहरू पो झगडाको शिकार बन्दै गरेको मेरो आँखाले ठम्यायो । अनि मनले मानेन, दिमागले प्रहरीको १०० नम्बर मोबाइलतर्फ डायल गर्न लगाइहाल्यो । एकछिनपछि प्रहरी आएर सम्झाई-बुझाई गरेछन् क्यारे; अनि बल्ल शान्त भयो ।

सुत्ने बेला दिनभरका घटना नै मनमा खेलिरह्यो । मलाई लाग्यो हाम्रो दैनिक जीवनमा प्रहरीले दिने सुरक्षा कति महत्वपूर्ण हुनेरहेछ । कसैले ठगी गर्दा, हिंसात्मक व्यवहार गर्दा, कसको दिमागमा न आउला र प्रहरी ? भूकम्प आए प्रहरी, बाढीपहिरो आए प्रहरी, आन्दोलन भए प्रहरी, हिंसा भए प्रहरी, घरमा बुढाबुढीको झगडा परे प्रहरी !

आफ्ना हजारौं रहर, इच्छा अनि घरपरिवारको अप्ठेरो समयमा समेत उपस्थित हुन नसक्ने ती प्रहरी तपाईंको जस्तोसुकै परिस्थितिमा उपस्थित भइदिने रहेछन् । हो, यो हो नि जिम्मेवारी ! अनलाइन खबरबाट

लेखिका सञ्चारकर्मी हुन् । 

२०७९ चैत्र २२, बुधबार प्रकाशित 1 Minute 288 Views

ताजा समाचार