२०८१ बैशाख १७ सोमबार

चैत १८ बाट रसुवागढी–केरुङ नाका पूर्ण सञ्चालनमा

झापा, १६ चैत । रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र मानिसको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बुधवारको पहिलो बैठकमा सो सहमति भएको हो ।

सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) देखि खुला हुनेछ ।

संयन्त्रको बैठक बुधवार बिहान जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको हो । बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सञ्चालन गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ बाटो खोज्नेलगायत विषयमा छलफल भएको थियो ।

नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्न सहमत भएको छ । नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ । चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासनसमेत दिएको महावाणिज्य दूतावासले जनाएको छ ।

दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै दुवै प्रतिनिधिमण्डलले चीनमा अमिला फलफूल, ड्राइ मिट र औषधीय जडीबुटीजस्ता कृषि तथा पशुजन्य उत्पादनको निर्यातलगायत क्षेत्रमा सम्भावित सहयोगबारे विचार आदानप्रदान गरेका थिए । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

२०७९ चैत्र १६, बिहीबार प्रकाशित 0 Minutes 272 Views

ताजा समाचार