२०८२ असार १३ शुक्रबार

डाइपर र प्याड आयातमा नेपाल गुणस्तर अनिवार्य गर्न माग

नवराज कट्टेल

विराटनगर, असार १३ गते । भारतले नेपालबाट निर्यात हुने सेनेटरी प्याड र डाइपरमा बिआइएस (ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड) अनिवार्य गरेको छ । त्यति मात्रै नभई अनिवार्य ट्रेडमार्क र बन्द प्याकेजिङ भएको मात्रै आयातका लागि अनुमति दिने गरेको छ ।

भारतबाट नेपालमा आयात हुने प्याड र डाइपरमा भने नेपालले अहिलेसम्म नेपाल गुणस्तर (एनएस) लगाएको छैन । नेपालका उद्योगीले भारतले लुज प्याकेजिङमा डाइपर र प्याड निर्यात गर्न पनि नदिने र बिआइस अनिवार्य गर्दासमेत नेपालले आयातमा कडाइका लागि नीति लिन नसकेको बताउँछन् ।

नेपालमा भने लुज प्याकेजिङमै डाइपर र प्याड आयात हुने गरेको गुनासो उद्योगीको छ । लुज प्याकेजिङमा आयात भएको सेनेटरी प्याड र डाइपर यहाँ आएपछि अनुकूल प्याकिङ भएर बजारमा पुग्ने गरेको हो ।

भारतले बिआइएस र प्याकेजिङ तथा ट्रेडमार्कको कुरा उठाएर २०८१ चैत २० देखि नेपालबाट निर्यात हुने सेनेटरी प्याड र डाइपरमा रोक लगाएको थियो । तीन महिनासम्म नेपालबाट निर्यात रोकिएपछि अहिले खुलेको छ । निर्यात खोल्नुअगाडि भारतका अधिकारीले नेपालका उद्योगको निरीक्षण गरेको उद्योगीले बताएका छन् । निर्यातका लागि पनि चार वटा उद्योगलाई मात्रै बिआइएस प्रदान गरिएको छ ।

नेपालका चार उद्योगमध्ये तीन वटा सुनसरी–मोरङ औद्योगिक कोरिडोरकै रहेका छन् । उद्योग परिसङ्घ कोशीका सदस्य तथा हेल्थ हाइजिनका सञ्चालक भावेश राठीका अनुसार जस्मिन हाइजिन, हेल्थ एन्ड हाइजिन र विराट हेल्थ इन्डस्ट्रिज र काठमाडौँको व्रजेश्वरी उद्योगले बिआइएस पाएका हुन् । जसमा जस्मिनले प्याड र डाइपर, व्रजेश्वरीले डाइपर, विराट हेल्थ र हेल्थ एन्ड हाइजिनले प्याड मात्रै निर्यात गर्न पाउने गरी बिआइस दिइएको राठीको भनाइ छ ।

निर्यातको बाटो खोलिएका वस्तु उत्पादन गरेर निकासी सुरु गरिसकेका उद्योगीले भारतबाट आयात हुने प्याड र डाइपरमा समेत उतिकै कसिलो नीति लिन आवश्यक रहेको सुझाव दिएका हुन् । जस्मिन हाइजिनका पुनित शारडाले नेपालमा उत्पादन हुने वस्तुको ट्रेडमार्क भारतबाट समेत लिनुपर्ने बाध्यतादेखि बिआइएस तथा प्याकेजिङका कुरा उठेको बताउनुभयो । त्यसरी नै नेपालले पनि भारतबाट आयात हुने प्याड र डाइपरका लागि कसिलो हुन जरुरी रहेको शारडाको भनाइ छ ।

नेपालका डाइपर र प्याड निर्यातमा बिआइएस अङ्कुश लगाएका कारण चालु आर्थिक वर्षमा निकासी घटेको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ । चालु आवमा १२ करोड ५० लाखको प्याड र २१ करोड रुपियाँको डाइपर निर्यात भएको छ ।

गत वर्ष ४० करोड रुपियाँ बराबरको प्याड र २८ करोड रुपियाँ बराबरको डाइपर निर्यात भएको थियो । चालु आवको ११ महिनामा ९० करोड ३४ लाख रुपियाँ बराबरको प्याड र एक अर्ब एक करोड ३४ लाख रुपियाँ बराबरको डाइपर आयात भएको छ । गत वर्ष ९० करोड रुपियाँ बराबरको प्याड र एक अर्ब ४६ करोड २६ लाख रुपियाँ बराबरको डाइपर आयात भएको थियो ।

उद्योगीले यसअगाडिसम्म लुज प्याकेजिङमै निर्यात गर्न पाइने व्यवस्था भारतले बिआइएसमार्फत रोक लगाएको बताएका छन् । त्यति मात्रै नभई ट्रेडमार्क र बन्द (सानो) प्याकेजिङको वस्तु मात्रै निर्यात अनुमति दिने जनाएका हुन् ।गोरखापत्र अनलाइन

 

२०८२ असार १३, शुक्रबार प्रकाशित 1 Minute 12 Views

ताजा समाचार