२०८२ असार ९ सोमबार

इरान–इजरायल युद्धमा अमेरिकी हस्तक्षेपले तेस्रो विश्वयुद्धको जोखिम

दीपक रिजाल

काठमाडौं।

इरान र इजरायलबीच चर्किएको युद्धमा अमेरिकाको प्रत्यक्ष सैन्य हस्तक्षेपपछि विश्व राजनीति दुई ध्रुवमा विभाजित भएको छ । अमेरिकी वायुसेनाले इरानका अत्यन्तै संवेदनशील तीनवटा आणविक केन्द्रहरूमा आक्रमण गरेपछि कूटनीतिक समाधानको सम्भावना झनै क्षीण बन्दै गएको छ भने तेस्रो विश्वयुद्धको जोखिमसमेत निम्तिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी वायुसेनाले शनिवार राति इरानका फार्दो, नतांज र इस्फहानमा रहेका आणविक बंकरहरूमा हमला गरेको थियो । अमेरिकी सेनाले बंकर–बस्टर बम र टाँमहक मिसाइल प्रयोग गरी ती संरचनाहरू ध्वस्त बनाएको दाबी गरेको छ । तर, इरानले फोर्दो केन्द्रमा आंशिकमात्र क्षति भएको बताएको छ ।

यस हमलासँगै इरानका विदेशमन्त्री अब्बास अराक्चीले भन्नुभयो– ‘उनीहरूले आणविक भट्टीहरूमा आक्रमण गरेर अत्यन्तै संवेदनशील सीमा पार गरेका छन् । अब हामी आत्मरक्षाको वैध अधिकार प्रयोग गर्न बाध्य हुने छौं ।’ उहाँले कूटनीतिक समाधानका लागि अब कति ठाउँ बाँकी छ भन्ने आफूलाई थाहा नभएको बताएका बताउनुभएको छ ।

ठूलो हताहती र मानवीय संकट

इरान–इजरायल द्वन्द्व शुरू भएदेखि हालसम्म दुई देशमा ठूलो हताहती भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानमा ४ सय ८ जनाको मृत्यु भएको छ भने इजरायलमा अहिले सम्म २५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । इजरायली आक्रमणमा परी एक हजार पाँच सयभन्दा बढी घाइते भएका छन् । इजरायलतर्फ भने ३ सय ५० भन्दा बढी घाइते भएका छन् ।

युद्धका कारण इरानबाट १ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । यता, इजरायलमा भने युद्ध प्रभावित क्षेत्रबाट २ लाख बढी मानिस अन्यत्र सरेका छन् । इरानको राजधानी तेहरानबाट मात्र ३० हजार मानिस युद्ध र हवाई आक्रमणको त्रासका कारण सुरक्षित क्षेत्रमा सरेका छन्।

नेपाली नागरिकको अवस्था

इजरायल र इरानमा रहेका नेपालीहरूमध्ये धेरैजसो सुरक्षा संकटको बीचमा परेका छन् । इजरायलमा रहेका करिब ८ हजार नेपाली नागरिक युद्धको चपेटमा फस्दै गएका छन् । अहिले ४ सय ५० भन्दा बढी नेपाली नागरिकले स्वदेश फर्कन तेलअभिभस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।
इरानमा रहेका ५ सय नेपालीमध्ये धेरै फर्कने तयारीमा छन् । ७५ जनाले इरानस्थित भारतीय दूतावाससँग उद्धार अनुरोध गरेका छन् । १० जनालाई भारतीय दूतावासले समन्वय गरेर उनीहरूलाई इरानबाट उद्धार गरेर भारततर्फ ल्याउने काम गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार, उडान र युद्ध परिस्थिति हेरेर नेपाल सरकार उद्धारको वैकल्पिक उपायको खोजी गरिरहेको छ । भारतमार्फत वा तेस्रो मुलुकको सहयोगमा सुरक्षित मार्ग तय गर्न पहल भइरहेको बताइएको छ ।

भूराजनीतिक तनाब र सम्भावित युद्धको रूपान्तरण

अमेरिकी आक्रमणपछि इरानले ‘सबै विकल्प खुला’ रहेको घोषणा गरेको छ । विदेशमन्त्री अराक्चीले हर्मुज जलसन्धि बन्द गर्ने विचार भइरहेको संकेत गर्नुभएको छ । हर्मुज जलसन्धि बन्द गरिएमा विश्वको तेल र ग्यास आपूर्तिमा ठूलो प्रभाव पर्न सक्ने ऊर्जा विश्लेषकहरूले बताएका छन् ।

वर्तमानमा विश्वका दैनिक तेल आपूर्तिको ३० प्रतिशतभन्दा बढी यही जलसन्धिबाट पठाउने गरिएको छ । अहिले इजरायल, अमेरिका, बेलायत र केही युरोपेली राष्ट्र एक समूहमा छन् भने अर्कोतर्फ इरान, सिरिया, हिजबोल्लाह, यमनका हुथी विद्रोहीजस्ता समूहहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दोस्रो ध्रुवमा देखिएका छन् । चीन र रुसले समेत इरानप्रतिको सैन्य आक्रमणप्रति असन्तोष व्यक्त गरिसकेका छन् । चीनले ‘शान्तिपूर्ण समाधानमा जोड दिनु पर्ने’ भन्दै अमेरिकालाई संयम अपनाउन चेतावनी दिएको छ ।

इरानको आन्तरिक राजनीतिक स्थिति

अमेरिकी आक्रमणपछि इरानभित्र पनि राजनीतिक अवस्था तरंगित भएको छ । कट्टरपन्थी नेता अयातोल्लाह खोमेनीले ‘अब कुनै पनि राष्ट्रलाई क्षमा गरिने छैन’ भन्दै राष्ट्रव्यापी प्रतिकारको घोषणा गर्नुभएको छ । इरानी संसद्मा अमेरिका विरुद्ध युद्ध घोषणा गर्नुपर्ने प्रस्तावसमेत दर्ता भएको छ । सञ्चार माध्यममा प्रतिबन्ध, सामाजिक सञ्जालमा नियन्त्रण, र सर्वसाधारणमा विद्रोहको खतरा बढेको रिपोर्टहरू आएका छन् ।

अन्तर्राष्ट्रिय चासो र शान्तिको प्रयास

संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुटेर्रेसले युद्ध रोक्न तत्काल कूटनीतिक पहल आवश्यक भएको बताउनुभएको छ । उहाँले अमेरिकी आक्रमणबाट उत्पन्न परिस्थितिलाई ‘अराजकताको जालो’ भन्दै निन्दा गर्नुभएको छ । यद्यपि, ट्रम्प प्रशासनले आफ्नो कदमलाई ‘शान्तिको ढोका खोल्ने कदम’ भन्दै औचित्य ठहराएको छ । ट्रम्पले भन्नुभएको छ– ‘यो हमला एक पटकको हो, सफल छ, अब इरान वार्ताको टेबुलमा आउनेछ।’

इरान–इजरायल युद्धमा अमेरिकी हस्तक्षेपले परिस्थितिलाई अन्तर्राष्ट्रियकरण गर्दै लगेको छ । इरानको प्रतिघात, हर्मुज जलसन्धिको स्थिति, तथा अन्य देशहरूको संलग्नताले यो द्वन्द्व तेस्रो विश्वयुद्धमा फेर्दै जान सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

अहिले विश्वले फेरि एक पटक ‘कूटनीतिक बुद्धिमत्ता’ र संयमताको परीक्षा दिइरहेको छ । समयमै कूटनीतिक हल नभए, इतिहासले फेरि विनाशको चक्र दोहो¥याउन सक्छ ।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

२०८२ असार ९, सोमबार प्रकाशित 0 Minutes 13 Views

ताजा समाचार