बिल्वाओलाई हराउँदै रियल म्याड्रिड सुपर कप च्याम्पियन

एजेन्सी । साविक विजेता एथलेटिको बिल्वाओलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ ।

१० खेलाडीमा समेटिएको रियलले गए राती भएको फाइनलमा साविक विजेता एथलेटिको बिल्वाओलाई २–० ले हराउँदै उपाधि रक्षा गरेको हो ।

साउदी अरबको रियादस्थित किङफाद इन्टरनेसनल स्टेडियममा रियललाई जिताउन लागि लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले एक-एक गोल गरे ।

खेलको ३८औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० ले अघि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

उसका लागि बेन्जेमाले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियलको जित पक्का गरे ।

बेन्जेमाकै कडा प्रहारलाई पेनाल्टी बक्समा बिल्बाओका यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायतामा रियललाई पेनाल्टी प्रदान गरेका थिए ।

खेलको ८७ औं मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो ।

राहुल गार्सियाको प्रहार क्रसबारमा लाग्दै गोललाईन पार गर्न लाग्दा इडर मिलिसाओ ह्यान्ड गर्न पुगेपछि रेफ्रीले उनलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएका थिए । तर त्यसको प्रत्यक्ष फाइदा डिफेन्डिङ च्याम्पियनले उठाउन सकेन ।

प्राप्त पेनाल्टीमा राहुल गार्सियाको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले डाइभ दिँदै बचाएपछि बिल्बाओले गोल अन्तर घटाउने मौका गुमायो ।

सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औं पटक सुपर कप च्याम्पियन बनेको हो । क्याटलान क्लब बार्सिलोनाले सर्वाधिक १३ पटक उपाधि जितेको छ । रियल बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश गरेको थियो। यस्तै एथलेटिको मड्रिडलाई हराउँदै बिल्वाओले फाइनलमा पुगेको हो ।