होल्डिङ सेन्टर अझै सञ्चालनमा आएन

मेचीनगर । कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले गर्ने काम कति सुस्त हुन्छन् भन्ने दृष्टान्त बनेका छन्, पूर्वका दुई नाकामा निर्माण भइरहेका होल्डिङ सेन्टर ।

कोरोनाको तेस्रो लहरले छोपिसकेको छ । तर, भारत सीमावर्ती काँकरभिट्टा र जोगबनी नाका नजिकै निर्माण भइरहेका होल्डिङ सेन्टर सञ्चालन हुने कुनै टुंगो छैन । ५० करोड रुपैयाँ लागतमा नेपाली सेनाको रेखदेखमा ती सेन्टर निर्माण भइरहेका छन् ।

कोरोना संक्रमणको तेस्रो लहर सुरु भइसकेको चिकित्सकले चेतावनी दिइसकेका छन् । यो अवधिमा नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमण विगतभन्दा उच्च हुने उनीहरुको आँकलन छ । तर, नेपाल-भारतको खुला सीमा नाकाको आउजाउबाट हुने जोखिम नियन्त्रण गर्नकै लागि बनाउन सुरु गरिएका होल्डिङ सेन्टर समयमै पूरा हुन सकेनन् ।

पूर्वी नाका काँकरभिट्टा नजिकै होल्डिङ सेन्टर निर्माण भइरहेको छ । तर, काम पूरा नभएकाले यो पटक भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने संक्रमितलाई राख्न सम्भव होला वा नहोला भन्ने ठेगान नभएकोे मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती बताउँछिन् ।

उप्रेतीले भनिन्, ‘तेस्रो लहरको जोखिम बढेको छ । संरचना निर्माण हुनु राम्रो कुरा हो । तर, केही ढिलाइ हुँदा समस्या हुने देखिएको छ ।’ संघीय सरकारको २२ करोड लाग्ने अनुमान गरिएको सेन्टर हनुमान कन्ट्रक्सन्सले मेचीनगर नगरपालिका वडा नम्बर १४ को दुवागढीमा हडिया खोलाको उकास जमिनमा निर्माण गरिरहेको छ ।

उपमेयर उप्रेतीका अनुसार सरकारले भारतबाट नेपाल प्रवेश गर्ने आफ्ना नागरिकमा सम्भावित संक्रमण परीक्षण गर्ने, परिणाम आउनुअघि सेन्टरमै होल्ड गर्ने र पुष्टि भए अस्पताल वा सम्बन्धित पालिकामा पठाउने व्यवस्था मिलाउन होल्डिङ सेन्टरको अवधारणा अघि सारेको हो ।

दुवागढीमा २२ वटा ब्लकमध्ये २० क्वारेन्टाइन, दुई प्रशासन, १२ डायनिङ हल, दुई प्रशासनिक किचन र एक सेन्ट्रल किचन छन् । २२ ब्लकलाई ट्वाइलेटसमेत निर्माण भएका छन् ।

हनुमान कन्सट्रक्सन ललितपुरका प्रतिनिधि सविन भट्टराईले भने, ‘पुस मसान्तभरिमा पूरा गर्ने गरी निर्माण थालिएको थियो । प्यानल लगाउने, १२ वटा ब्लकमा झ्यालढोका जडान गर्ने, फल्स सिलिङ र १५ वटा किचन निर्माण गर्ने कार्य पूरा भइसकेको छ ।’

होल्डिङ सेन्टरमा चिकित्सकसमेतको टोली राख्ने प्रदेश सरकारको तयारी रहेको बताउँदै आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले भने, ‘फेरि नयाँ भेरियन्टको जोखिम बढ्दैछ । त्यही भएर पनि होल्डिङ सेन्टर सञ्चालनमा अब ढिलाइ गर्नु हुँदैन ।’ हडिया खोलामा १२ बिघा उकास जमिन मध्ये ४ बिघा क्षेत्र होल्डिङ सेन्टरलाई दिइएको हो ।

दुवागढीका स्थानीय अनिल ढुंगानाले अहिले भारतबाट नेपाल आउने मानिसमा कोरोना पुष्टि हुँदासमेत सोझै घर पठाउनु पर्ने बाध्यताले संक्रमण समुदायस्तरमा फेरि फैलन जोखिम अझ बढेको बताए । उनले भने, ‘तेस्रो लहरकै अवधिमा सञ्चालनमा आउने हो कि होइन भन्ने आशंका बढेको छ ।’

भारतको जोगबनी नाका नजिकै विराटनगरको रानीमा निर्माण भइरहेको होल्डिङ सेन्टरको काम करिब आधा सकिएको छ । सेन्टरको विषयमा जानकारी लिन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहितको टोलीले अनुगमन गरेको छ । यो नाका भएर दैनिक ठूलो संख्यामा नेपाली भारतबाट आउने गरेपनि होल्डिङ सेन्टर सञ्चालनमा नआएकाले सोझै घर पठाउनु पर्ने बाध्यता छ ।

अघिल्लो लहरमा विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । २८ करोड ९१ लाख बजेटमा विराटनगर-१६ को विराटनगर जुटमिल्स परिसरमा होल्डिङ सेन्टर निर्माणाधीन छ ।

ठेक्का सम्झौता अनुसार गत भदौ महिनामै निर्माण पूरा भइसक्नु पर्ने थियो । तर, यो निर्माण हुन अझै दुई महिना लाग्ने निर्माण पक्षको दाबी छ । विराटनगरमा पनि हनुमान कन्ट्रक्सन्स प्रालिले नै निर्माण गरिरहेको छ ।

मोरङका प्रजिअ दाहाल भन्छन्, ‘निर्माण कार्यलाई गति दिन र तत्काल सञ्चालन गर्ने अवस्थामा ल्याउन निर्देशन दिएका छौँ ।’ अहिले जोगबनी हुँदै नेपाल प्रवेश गर्ने मानिसमा एन्टीजेन परीक्षण भई कोरोना पुष्टि भए पनि सोझै घर पठाउने गरिएको छ । भारतीय भए भारततिरै फर्काइन्छ ।