२०८२ असार २ सोमबार

सन्चो हुँदै छ ‘सन्चो’

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा शुक्रबार सन्चो प्याकिङ गर्दै कर्मचारी । गत चैतमा राजावादी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमै क्षति पुगेको सो कम्पनीले सन्चोको उत्पादन पुनः सुरु गरेको छ । तस्बिर : सुजन गुरुङ

लक्ष्मी सापकोटा

काठमाडौँ, असार १ गते । राजावादीको आन्दोलनका नाममा खरानी बनेको ‘सन्चो’ उत्पादक जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अब भने बिस्तारै बौरिन थालेको छ ।

गत चैत १५ गते भएको आगजनी र तोडफोडका कारण क्षतिग्रस्त बनेको सरकारी स्वामित्वको सो कम्पनी आमरूपमा परिचित ब्रान्ड सन्चोको आंशिक उत्पादनमा जुटेको छ । जडीबुटीजन्य उत्पादन सन्चो रुघाखोकीका लागि बढी प्रचलित छ ।

कम्पनीका सूचना अधिकारी धर्मलाल नेपालले दैनिक ५० कार्टोनका दरले सन्चो र मसाज आयल उत्पादन भइरहेको जानकारी दिनुभयो । “मेसिन विग्रेका कारण बजार माग अनुसार पूर्ण क्षमतामा उत्पादन गर्न सकिएको छैन,” उहाँले भन्नुभयो, “हाल ५० देखि ६० प्रतिशतसम्म उत्पादन गर्न सकेका छौँ ।”

आपूर्ति व्यवस्था सहज पार्न केन्द्रीय कार्यालयसँगै जिल्ला शाखा कार्यालयबाट समेत सन्चोलगायतका अन्य तेल उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभयो । कम्पनीको बाराको तामागढमा पाँच सय बिघा, मोरङको बेलबारीमा ७० हेक्टर, सुनसरीको तरहरामा २५ हेक्टर र कैलालीको टीकापुरमा साढे चार बिघा जमिन छ । यो जमिनमा कम्पनीलाई आवश्यक कच्चा पदार्थ उत्पादन हुन्छ । कर्णालीको जाजरकोटमा कम्पनीको प्रशोधन केन्द्र छ । शाखा कार्यालयमा रहेको प्रशोधन केन्द्रबाट सन्चोलगायतका सुगन्धित तेल उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीले सन्चो, सन्चो बाम (भिक्स) सन्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सन्चो जटा केस तेल, सन्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको छ । तीमध्ये सन्चो भने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टिकाउने मुख्य उत्पादन हो । कम्पनीबाट उत्पादिन सामान आन्तरिक बजारसँगै बाहिरी देशमा समेत निर्यात हुने गरेका छ ।

जापान, फ्रान्स, जर्मनी, अमेरिका, क्यानडालगायतका देशमा सन्चो र सुगन्धित तेल निर्यात हुन्छ । कम्पनीले वार्षिक १५ देखि १६ करोड रुपियाँको कारोबार गर्छ । आन्दोलनका क्रममा कम्पनीमा रहेका कच्चा पदार्थ, प्रयोगशाला, १४ वटा सवारीसाधनसहित ११ करोड रुपियाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ ।

आन्दोलनका कारण झन्डै बन्दको अवस्थामा पुगिसकेको जडीबुटी कम्पनी व्यवस्थापनको सक्रियता र सरकारी पहलले उत्पादन पुनः सुरु गर्ने अवस्थासम्म कम्पनी आइपुगेको छ । २०३८ सालमा स्थापना भएको कम्पनी ऐन अनुसार सञ्चालनमा रहेको सरकारी कम्पनी आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाइरहेको थियो ।

सातै प्रदेशमा उद्योग खोल्ने योजना बनाइरहेको कम्पनीमा भएको क्षतिले कम्पनीमा काम गर्नेको रोजगारीसमेत गुमेको छ । आगलागीबाट करोडौँ रुपियाँ पर्ने मेसिनसमेत जलेर नष्ट हुँदा पूर्ण रूपमा उत्पादन हुन सकेको छैन । नयाँ मेसिन खरिदको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । जडीबुटी कम्पनीले स्थानीयस्तरसम्म पुगेर रोजगारी दिँदै आएको छ । सन्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ जडीबुटीको खेती कम्पनीको आफ्नै जग्गामा हुने गरेको छ ।

सन्चोको कच्चा पदार्थ उत्पादनका लागि बिउ कम्पनीले नै वितरण गर्ने गरेको छ । १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गर्ने गरेको सो कम्पनीको कच्चा पदार्थ उत्पादनमा नौ सयभन्दा बढी किसान जडीबुटी खेतीमा आबद्ध रहेको कम्पनीले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

२०८२ असार १, आईतवार प्रकाशित 1 Minute 13 Views

ताजा समाचार