बर्माको ‘रूबील्यान्ड’ अर्थात् ‘सानो नेपाल’

म्यान्मार । झट्ट हेर्दा ‘काठमाडौँ’ जस्तै देखिने, डुल्दै जाँदा जताततै नेपाली भेटिने ‘मोगोक’- म्यान्मारको पहाडी उपत्यका हो । यो ठाउँलाई ‘बर्माको सानो नेपाल’ भनेर चिनिन्छ ।

मोगोक’ मा

नेपालीको बाक्लो उपस्थिति छ । यहाँ नेपाली बसोबास गर्न थालेको, सन् १८८५ देखि हो । माण्डले शहरबाट ११ गोर्खा सैनिक सबैभन्दा पहिले मोगोक पुगेका थिए । त्यही समयदेखि नेपालीको उपस्थिति यहाँ रहन थालेको हो ।

सन् १९४२ को दोस्रो विश्वयुद्धताका जापानविरूद्ध लड्न धेरै गोर्खा सैनिक म्यान्मार पुगे । भारतको कोलकताबाट हवाइमार्ग हुँदै म्यान्मारको पुरानो राजधानी रंगुन आउन सकिन्छ । स्थलमार्गको प्रयोग गर्दा भारतको सिलिगुडी, मणिपुर, इम्फाल हुँदै म्यान्मार प्रवेश गर्न सकिन्छ ।

म्यान्मारमा सैनिकसँग जोडिएको नेपालको गर्विलो इतिहास छ । म्यान्माली सरकारले नेपालीभाषीलाई जनजाति जतिकै अधिकार दिएको छ । राष्ट्रपिता जनरल आङ सान र गोर्खालीबीच फरक सम्बन्ध छ । आङ सानले नै सन्धी गरेर गोर्खालीलाई म्यान्मारमा बसाएका हुन् ।

एक लाख ६६ हजार जनसंख्या रहेको मोगोकमा ३५ हजार घरधुरी छन् । यहाँ नेपालीभाषी चानचुन २० हजार बसोबास गर्छन् । मोगोकमा करिब ४ हजार घरधुरी नेपालीको छ । जसमा २८ वटा नेपाली गाउँ मोगोकमै रहेको छ ।

यहाँ बस्ने नेपालीभाषीले आफ्नो परम्परा र संस्कृतिलाई बिर्सिएका छैनन् । मोगोकका अधिकांश नेपाली खेती-किसान र रुबीको व्यापार गर्छन् । नेपालीभाषीका घर-घरमा तुलसीका बोट, मठ-मन्दिर र गाउँ-गाउँमा नेपाली परम्परा देख्न पाइन्छ ।