२०८२ जेष्ठ ११ शनिबार

तीनकुने घटना-एक सय आठ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

फाइल तस्बिर

काठमाडौँ, जेठ १० गते । राजावादी समूहले गत चैत १५ गते काठमाडौँको तीनकुने घटनामा गरेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका आरोपितमाथिको अनुसन्धान पूरा गरी प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

शान्तिपूर्ण भनिएको प्रदर्शन आगजनी, तोडफोड र लुटपाटमा परिणत भई हिंसात्मक बनेपछि प्रदर्शनकारीले लगाएको आगोमा परी टेलिभिजन पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो ।

उक्त घटनामा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी ठुलो भौतिक क्षति गराइएको थियो । जिल्ला प्रहरीपरिसर काठमाडौँले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदनमा पक्राउ गरेका ९० जना र फरार १८ जना गरी १०८ जनाविरुद्ध राज्यद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान र ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ । प्रतिवेदनले उक्त घटनाका मुख्य आरोपित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह र आपराधिक उपद्रव कसुर गरी पाँच वटा अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री तथा प्रतिनिधि सभा सदस्य धवलशमशेर राणालगायतमाथि राज्यद्रोह तथा आपराधिक उपद्रवको कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ । परिसरका प्रहरी प्रमुख अपिलराज बोहोराले हिंसात्मक प्रदर्शनमा संलग्न आरोपितमाथि विभिन्न चार वटा कुसुरमा मुद्दा चलाउन सिफारिस गरिएको जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता गोकुलबहादुर निरौलाले प्रहरीले बुझाएको अनुसन्धान अध्ययन गरी जिल्ला अदालत काठमाडौँमा अभियोजन दर्ता गरिने जानकारी दिनुभयो ।गोरखापत्र अनलाइन

 

२०८२ जेष्ठ ११, शनिबार प्रकाशित 1 Minute 9 Views

ताजा समाचार