२०८२ जेष्ठ ३ शुक्रबार

हिँउ नपरेपछि चिन्तामा मुस्ताङवासी

मित्र भण्डारी

कागबेनी (मुस्ताङ), जेठ २ गते । हिमालयमा बसोबास गर्ने मानिसको रहनसहन, सभ्यता र संस्कृतिसँगै जीविकोपार्जन नै हिमाल र हिउँसँग जोडिएको हुन्छ । अग्ला हिमालको काखमा हिउँसँगै खेली हुर्केका मुस्ताङवासीले केही वर्षदेखि हिउँ नै छुन पाएका छैनन् ।

कम तापमानका कारण पानी नपर्ने (हिउँ पर्ने) जिल्लाका रूपमा परिचित हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो समय हिउँको सट्टा मुसलधारे वर्षा हुन थालेपछि स्थानीयवासी चिन्तामा छन् ।

सदरमुकाम जोमसोमका स्थानीय वृद्ध कृष्ण गौचन तीन वर्षयता जोमसोम, कागबेनी, मार्फा, लेतेलगायतका क्षेत्रमा हिउँ नै नपरेको बताउनुहुन्छ । गौचन भन्नुहुन्छ, “हिउँ पर्न छाडेपछि पानीका मुहान सुक्दै जाँदा कतिपय बस्ती खाली हुन थालेका छन् । पहिला खासै पानी पर्दैनथ्यो, अहिले भने ठुलो वर्षासँगै आउने बढीले कालीगण्डकी नदीको तटीय क्षेत्र बस्ती र खेतीतर्फ फैलिँदै गएको छ ।’’

उहाँले जलवायु परिवर्तनका कारण हिमालमा पनि हिउँ कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै भौतिक संरचना निर्माण तथा पूर्वाधार विकासमा पनि पर्यावरणीय सन्तुलनमा ध्यान दिन नसके मुस्ताङको मौलिकता नै खतरामा पर्ने बताउनुभयो । पूर्वशिक्षक शेरबहादुर गुरुङ हिउँ नपर्दाको असर स्याउ बगानलगायतका खेतीपातीमै प्रत्यक्ष देखिएको बताउनुहुन्छ । गुरुङ भन्नुहुन्छ, “कुनैबेला मुस्ताङ दुर्लभ जडीबुटीका रूपमा पनि परिचित थियो । यी बिस्तारै कम हुँदै गइरहेका छन् । स्याउ खेतीमा पनि रोगको प्रकोप बढ्दो छ ।”

उहाँले सडक विस्तारसँगै मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री र पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भई आयआर्जन उल्लेख्य भए पनि जलवायु परिवर्तनले पारेको प्रभाव जीविकोपार्जनका लागि चिन्ताजनक रहेको बताउनुभयो । मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने र बर्सातसँगै कालीगण्डकी क्षेत्रमा आउने गेग्य्र्रानसहितको बाढीका कारण बस्ती र खेतीयोग्य जमिनको कटान बढेको बताउनुहुन्छ ।

लालचन भन्नुहुन्छ, “जलवायु परिवर्तनका कारण हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौँ, हिमाल काला पत्थर र परम्परागत बस्ती र खेतीयोग्य जमिन उजाड बन्दै गइरहेकाले यसको संरक्षण चुनौतीपूर्ण बन्दै गइरहेको छ ।” उहाँले जलवायु परिवर्तनको सबैभन्दा बढी असर हिमाली क्षेत्रमा मात्र नभई समुद्री सतहसम्मै पर्ने भएकाले यसलाई कम गर्न विश्व समुदायकै ध्यान जानुपर्ने बताउनुभयो । हिउँ पर्न छाडेपछि मुस्ताङको ल्होमन्थाङ–१ को साम्जोङ, लोघेकर–दामोदरकुण्ड–५ का करिब ४० घरपरिवार विस्थापित भएका छन् । त्यसै गरी बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने तेताङमा पनि पानीको मुहान सुक्न थालेपछि विस्थापित हुने व्रmम सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार सन् २००९ सम्म उपल्लो मुस्ताङमा एक वर्षमा अधिकतम वर्षा दुई सय मिलिमिटर पानी पर्ने गरेकामा सन् २०२३ मा आइपुग्दा वर्षमा ६६५ मिलिमिटरसम्म रेकर्ड गरिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

२०८२ जेष्ठ ३, शुक्रबार प्रकाशित 1 Minute 7 Views

ताजा समाचार