गुरुराज घिमिरेको हारबाट सुरु भएको देउवाको सहज यात्रा

 

शेरबहादुर देउवालाई कांग्रेस संस्थापनबाट लतार्ने कोइराला समूहको चाहनामा ब्रेक लाग्ने देखिएको छ । प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको दुई भोटको हार अन्तर त्यो समूहभित्रको उतारचढाव बुझ्ने सजिलो दृश्यांश बन्न गएको हो ।

काेइराला–पाैडेल समूहभित्रकाे कचिङ्गलमा खेलेर आफूलाई पुनःस्थापित गराउने देउवा चाहनामा आजकाे याे घटना सहायक बन्न गएकाे छ ।

गगन थापा नेविसंघ महामन्त्री छँदा उनका सभापति रहेका गुरुराज घिमिरेले पार्टी राजनीतिमा आएपछि कार्यकारी जिम्मेवारी पाएका थिएनन् । प्रदेशमा बलियो बनेर केन्द्रमा छाउने उनको चाहनामा शेखर कोइरालाको शुभेच्छा थियो ।

त्यसो त राजीव कोइरालाका लागि प्रदेश अध्यक्षको कुर्सी साँचिराखेको कोइराला परिवारका लागि गुरुराज घिमिरेजस्तो बलियो प्रोफाइल भएका युवाको दाबेदारी पन्छाउन सकिने खालको थिएन । अनि प्रदेश अध्यक्ष जितेका कृष्ण सिटौला पक्षका उद्धव थापाको उम्मेदवारीमा देउवा पक्षको साथ हुनेबित्तिकै परिस्थिति फेरिन थालेकै थियो ।

तर, गुरुराज घिमिरेले विगतमा सघाएका, अनि केही वर्षदेखि निरन्तर तिक्त सम्बन्धमा रहेका महेश आचार्यको ‘असहयोग’ यसमा मुख्य कारक बनिदियो । गुरुराजलाई असहयोग गर्न नचाहे पनि शेखर कोइरालाको आत्मकेन्द्रित राजनीति उनको पराजयका लागि निर्णायक फ्याक्टर बन्न गएको छ ।

यससँगै देउवाविरोधी क्याम्पमध्ये बढ्ता बलिया मानिएका शेखर कोइरालामाथि गम्भीर नैतिक प्रश्न उठेको छ । भर्खरै ट्वीटमार्फत प्रस्टीकरण दिँदै उनले केन्द्रका नेताहरूले प्रदेशमा भोट हाल्ने/नहाल्नेबारे उत्पन्न अलमलका कारण गुरु घिमिरेले हार्न गएको सकारेका छन् । अनि यसमा आफ्नो गल्ती हुन गएको भए माफी दिन सर्तात्मक भाषा प्रयोग गरेका छन् ।

दुई मतले हारेका घिमिरेलाई भाेट नहालेकाे स्वीकार्दै शेखरले मागे माफी

प्रदेश १ मा देउवाइतर पक्षले यस्तो बेलामा २ भोटको पराजय बेहोर्न गएको छ, जुन बेला बागमती, कर्णाली, सुदूरपश्चिममा देउवा पहिल्यै बलियो हुन गएका छन् । प्रदेश २ मा अधिवेशन नभएको भए तापनि विगतमा देउवालाई साथ दिँदै आएका विमलेन्द्र निधि यसपल्ट आफूलाई अलग्गै सभापति उम्मेदवारका रूपमा प्रचार गरिरहेका छन् । तर, यस प्रदेशमा समेत देउवाको अनपेक्षित वर्चस्व बन्न गएको छ । निधिले हत्याउन सक्ने ठानिएका बारा, पर्सा, रौतहटमा समेत देउवा पक्ष अग्रतामा आउनुले उनका लागि पार्टीभित्रकाे शक्तिसन्तुलन झन् अनुकूल बन्न सक्ने देखिन्छ ।

सभापतिका अर्का प्रत्यासी ठानिएका प्रकाशमान सिंहले बागमतीलाई आफ्नो गढ मान्ने गरेका छन् । तर, काठमाडौं उपत्यकादेखि प्रदेशको समग्र समीकरणमा प्रकाशमान माथि आउन सकेका छैनन् । गण्डकी र लुम्बिनीमा रामचन्द्र पौडेल पक्ष माथि देखिएको छ । अनि जिल्ला सभापतिहरूको समग्र संख्यामा पनि याे समूहको अग्रता छ । तर, यसले देउवाको सभापतिमा दोहोरिने चाहनालाई रोक लगाउन सक्ने देखिँदैन । अघिल्लाे महाधिवेशनमा ४० जिल्ला सभापति पाैडेल पक्षमा हुँदाहुँदै देउवाले सभापति हत्याएकाे उदाहरण यहाँ स्मरणीय छ ।

यी सबै परिप्रेक्ष्यमा कोइरालाहरूको वंशविरासत गाडिएको प्रदेश १ मै उनीहरूको पक्षको उम्मेदवार हार्नु, अझ त्यसमा कोइराला परिवारकै लापर्वाही र उपेक्षाभाव देखिनुले शेखरका लागि आगामी यात्रा सहज नहुन सक्ने संकेत गरेको छ ।

शेखरले परिवारभित्रै आफूलाई स्वीकार्य उम्मेदवार बनाउन सकिरहेका छैनन् । जिल्ला दौडाहामा अब्बल निक्लिए पनि काेइराला परिवार, अनि आफ्नो समूहभित्र साझा उम्मेदवार बन्ने उनको चाहनामा आजकाे गुरुराज घिमिरेको पराजयले निर्णायक क्षति देखिन गएको छ ।